एक जना टेलिभिजन प्रस्तोतालाई पक्राउ गर्न जब भारतका दुई राज्यका प्रहरीबीच भयो तानातान
भारतीय टेलिभिजन च्यानल ‘जी टिभी न्यूज’का प्रस्तोता रोहित रञ्जनला पक्राउ गर्ने क्रममा भारतका दुई प्रदेशका प्रहरीबीच तनाव सिर्जना भयो । तनावपछि उत्तर प्रदेश प्रहरीले रञ्जनलाई हिरासतमा राख्यो । रञ्जनलाई कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको एक भिडियोलाई गलत सन्दर्भमा प्रस्तुत गरेको आरोप छ ।
मंगलबार छत्तीसगढ प्रहरी रञ्जनलाई पक्राउ गर्न आएको थियो । तर केही समयपछि नै उत्तर प्रदेश राज्य अन्तरगतको गाजियाबाद प्रहरी आएपछि दुई प्रहरीका जवानबीच तनातानको स्थिति सिर्जना भयो । छत्तिसगढ प्रहरी रञ्जनको बासस्थान पुगेर खोजिरहँदा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गाजियाबादकी एसपी र लखनऊ क्षेत्रका एडीजीलाई ट्याग गर्दै एक ट्वीट गरेका थिए ।
‘ छत्तीसगढ पुलिस म बसेको क्षेत्रको स्थानीय पुलिसलाई जानकारी नै नगरी मलाई पक्राउ गर्न मेरो घरबाहिर आएको । के यो कानुनी रूपमा सही हो ?’ रञ्जनले ट्वीटमा भनेका छन् । रोहित रञ्जनको ट्वीटको जवाफ दिँदै रायपुर प्रहरीले लेख्यो ,‘ सूचित गर्ने विषयमा कुनै नियम छैन । प्रहरीले अदालतको पक्राउ पुर्जी देखाएको छ । तपाईंले अनुसन्धानमा सहयोग गर्नुपर्छ र अदालतमा आफ्नो प्रतिरक्षा गर्नुपर्छ ।’
अर्कोतर्फ, गाजियाबाद पुलिसले पनि ट्वीट गर्दै भन्यो ,‘ यो मुद्दाबारे स्थानीय पुलिस जानकार छ । घटनास्थलमा प्रहरी तैनाथ गरिएका छन्, नियमानुसार कारबाही हुनेछ ।’
पछि गाजियाबाद पुलिसले रञ्जनलाई छत्तिसगढ प्रहरीबाट फुत्काएर आफैसँग लगेका थिए । मिडिया रिपोर्टका अनुसार रोहित रञ्जन हाल यूपी पुलिसको हिरासतमा छन् ।
के हो खास विवाद ?
राहुल गान्धी केरलाको वायनाड क्षेत्रका लोकसभा सांसद हुन् । वायनाडस्थित उनको कार्यालयमा वामपन्थी विद्यार्थी संगठन एसएफआईका कार्यकर्ताहरूले आक्रमण गरेपछि राहुलले ‘आक्रमणकारीहरु प्रति मेरो कुनै बैरभाव छैन र घटनामा संलग्नहरु बच्चै भएकाले तिनका गल्तीलाई क्षमा दिन्छु’ भनेका थिए ।
राहुल गान्धीको यो भनाइलाई रञ्जनले जी न्यूजमा प्रशारण हुने उनको कार्यक्रम डीएनए शोमा गलत सन्दर्भमा प्रस्तुत गरे । कार्यक्रममा गान्धीले उदयपुरमा दर्जी कन्हैयालालको हत्यामा संलग्न हत्याराहरुप्रति सहानुभूति व्यक्त गरेको भन्दै उक्त भनाई प्रस्तुत गरियो ।
राहुलको भनाइलाई उद्धृत गर्दै रञ्जन उनको शोमा भन्छन् ,‘ हामी राहुल गान्धीको बयान फेरि देखाउन चाहन्छौं, जसमा उनले उदयपुर हत्याकाण्डका आरोपीहरूलाई बच्चा बताएका छन् । हत्याराहरू बच्चा हुन् की आतंकवादी हुन् भन्ने निर्णय तपाईं गर्नुस् ।’
कांग्रेसले रञ्जनको भनाईप्रति कडा आपत्ति जनाउदै र उनीविरुद्ध एफआईआर दर्ता ग¥यो । पछि रञ्जनले माफी मागे र सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गरी यसलाई मानवीय त्रुटि भने ।
रोहित रञ्जनले जुलाई २ मा एक ट्वीटमा लेखेका छन् ,‘ हिजो हाम्रो कार्यक्रम डीएनएमा राहुल गान्धीको भनाइलाई उदयपुर घटनासँग जोडेर गलत सन्दर्भमा प्रस्तुत गरिएको थियो । यो मानवीय त्रुटि थियो जसका लागि हाम्रो टिम क्षमाप्रार्थी छ । ’
भाजपाका कार्यक्रर्ताले जी न्युजको भिडियो क्लिपलाई उदयपुर घटनाबारे राहुल गान्धीको आधिकारित भनाई भन्दै समाजिक संजालमा पोस्ट गरेका थिए । भिडियो शेयर गर्नेहरुमध्ये एक पूर्व केन्द्रीय मन्त्री र भाजपा प्रवक्ता राज्यवर्धन सिंह राठौर पनि छन् । कंग्रेसले राठौरविरुद्ध पनि एफआईआर दर्ता गरेको छ ।
बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु