बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एउटा मात्र अन्तर्राष्ट्रिय विमान सेवाले धानेको गौतम बुद्ध विमानस्थल

बुधबार, २२ असार २०७९, १५ : ५५
बुधबार, २२ असार २०७९

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको डेढ महिना बितिसक्दा पनि जम्मा एउटा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्दै आएको छ । पूर्व तयारी र योजनाविहीन ढंगले अघि बढ्दा यो विमानस्थलमा जजिरा एयरलाइन्सबाहेक अरु कुनै पनि विमान सेवाले अहिलेसम्म व्यावसायिक उडान सुरु गर्न सकेका छैनन् ।

२०७९ जेठ २ गते (बुद्ध पूर्णिमा) देखि यो विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो । तर, अहिलेसम्म एउटा एयरलाइन्सले मात्र सेवा सुरु गरेका कारण विमानस्थलको व्यवस्थापन खर्चसमेत धान्न नसकिने अवस्था छ ।

विमानस्थलका निर्देशक गोविन्द दाहालका अनुसार विमानस्थलको खर्च धान्नका लागि कम्तीमा ५ वटा एयरलाइन्सले सेवा सञ्चालन गर्नुपर्छ । तर विमानस्थल नयाँ रहेको र भर्खरै सञ्चालनमा आएका कारण अन्य विमान सेवा कम्पनीले पनि यहाँबाट उडान सुरु गर्नेमा आफू आशावादी रहेको उनले बताए ।

उनले अब चाँडै नै बिज एयरले यहाँबाट पनि सेवा सुरु गर्ने जानकारी दिए । अन्य केही वायुसेवा कम्पनीले पनि चासो देखाएको उनको भनाइ छ । वायुसेवा कम्पनीलाई आकर्षित गर्नका लागि अहिले आफूहरुले विभिन्न चार्जमा एक लाख रुपैयाँ जति छुट दिएको उनले बताए ।

केही विमान कम्पनीले ग्राउन्ड चार्जमा छुट मागेको पनि उनले सुनाए । ग्राउन्ड चार्जबापत झन्डै ३ लाख रुपैयाँ लाग्छ । त्यसमा कम्पनीहरूले कम्तीमा ५० प्रतिशत छुट माग गरेको उनको भनाइ छ । उनका अनुसार निकट भविष्यमा बीज एयरका साथै साउदी अरबको एयर अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारी भइरहेको छ ।

उनले दशैँसम्ममा काठमाडौंकै हाराहारीमा यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा गरे । हाल जजिरा एयरलाइन्सले हप्तामा ३ दिन सोमबार, बुधबार र शनिबार उडान भर्दै आएको छ । सो कम्पनीले दैनिक रूपमा उडान भर्न सबै प्रक्रिया पूरा गरेर ग्राउन्ड चार्ज शुल्क निःशुल्क गर्न माग गरेको उनको भनाइ छ ।

अहिले काठमाडौँको तुलनामा भैरहवाबाट भाडा दर सस्तो भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाले पनि यही विमानस्थल रोज्ने गरेका छन् । काठमाडौँ–कुवेतको तुलनामा भैरहवा–कुवेत हवाई भाडा प्रतियात्रु ८ हजार रुपैयाँ सस्तो रहेको जनाइएको छ ।

गौतम बुद्ध विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहका अनुसार विभिन्न विमानसेवा कम्पनीले उडानका लागि चासो देखाउँदै विमानस्थलले लिने विभिन्न शुल्कमा छुटको माग गरिरहेका छन् । यथास्थितिमै निकट भविष्यमा केही विमानसेवा कम्पनीले उडान सुरु गर्ने तयारी पनि भइरहेको उनले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप