बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

चन्द्रमा कब्जा गर्न खोजेको भनेर अमेरिकाले आफ्नो बदनाम गरेको भन्दै चीनको आपत्ति

बुधबार, २२ असार २०७९, १५ : १६
बुधबार, २२ असार २०७९

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाका प्रमुखले ‘बेइजिङले चन्द्रमा कब्जा गर्ने प्रयासमा गरिरहेको’ भन्ने चेतावनीको चीनले खण्डन गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले सोमबार ‘नासा प्रमुख बिल नेल्सनको ‘गैर जिम्मेवार भनाइ’को कडा शब्दमा विरोध गर्ने’ बताए । 

नासाका प्रमुख नेल्सनले गत शनिबार जर्मन पत्रिका बिल्डमा छापिएको अन्तरवार्तामा ‘आफूहरु चीनको अन्तरिक्ष महत्वकांक्षाप्रति चिन्तित रहेको’ बताएका थिए । ‘हामीहरू चीनको चन्द्र अवतरणलाई लिएर एकदम सचेत रहनुपर्छ । चीनले ‘अब यो हाम्रो भयो, अरु यहाँ नआऊ’ भन्ने हिसाबमा चन्द्र अन्वेषण गरिरहेको छ,’ नेल्सनले भने । पछिल्लो दशक चीनले उसको अन्तरिक्ष कार्यक्रमलाई तीव्रता दिएको छ । उसको अन्तरिक्ष कार्यक्रमको केन्द्रमा चन्द्र अन्वेषण रहेको छ । 

चीनले सन् २०१३ मा पहिलो पटक मानवरहित अन्तरिक्ष यान चन्द्र धरातलमा अवतरण गरेको थियो । अहिले ऊ यही दशकको मध्यसम्म चन्द्रमाको दक्षिण ध्रुवमा मानवरहित अभियान सञ्चालन गर्ने योजनामा काम गरिरहेको छ । यी अभियानहरूबाट पाठ सिकेर चीनले यो दशकको अन्तिमसम्म मानवलाई चन्द्रमामा ओराल्ने लक्ष्य लिएको छ । चीनले तियागोङ नामक आफ्नै अन्तरिक्ष केन्द्र पनि बनाइरहेको छ । विश्वका विभिन्न मुलुकको सहकार्यमा बनेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस)मा अमेरिकाले चीनलाई प्रवेश नदिएपछि उसले आफ्नो अलग बाटो रोजेको हो । 

नेल्सनले चीनको सम्पूर्ण अन्तरिक्ष कार्यक्रम सैन्य चरित्रको भएको आरोप लगाएका थिए । पत्रकारले उनलाई चीनले अन्तरिक्षमा कस्तो सैन्य उद्देश्य हासिल गर्न खोजिरहेको भन्ने प्रश्न गर्दा नेल्सनले भने, ‘तपाईंलाई चीनको अन्तरिक्ष केन्द्रमा के भइरहेको जस्तो लाग्छ ? उनीहरू अरूको भूउपग्रहलाई कसरी ध्वस्त पार्ने सिकिरहेका छन् ।’ ‘नयाँ अन्तरिक्ष दौड सुरु भइसक्यो र यस पटकको दौडमा चीन छ,’ उनले भने । चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओले नेल्सनको पछिल्लो टिप्पणी चीनबारे उनले व्यक्त गरेको पहिलो गैर जिम्मेवार भनाई नभएको बताए । ‘अमेरिकाले चीनको स्वाभाविक अन्तरिक्ष अभियानविरुद्ध निरन्तर बदनाम अभियान चलाउँदै आएको छ । चीन यस्तो गैर जिम्मेवार टिप्पणीलाई स्पष्ट शब्दमा विरोध जनाउँछ ,’ झाओले भने । 

चीनले बाह्य अन्तरिक्षमा सबै मानव जातिको साझा भविष्य निर्माणलाई प्रवर्द्धन गरेको बताउँदै अन्तरिक्षको सशस्त्रीकरण तथा अन्तरिक्षमा हुने सैन्य होडबाजीको विरोध गर्ने बताए । चीनसँगै अमेरिकाले पनि चन्द्र अभियान सुरु गरेपछि दुई देशबीच घोचपेच भएको केही विज्ञले औँल्याएका छन् । सन् १९६९ मा पहिलो पटक चन्द्रमामा मानव उतारेको अमेरिकाले बीचमा लामो समयको अन्तरालपछि पुन चन्द्र अभियान सुरु गरेको छ । उसले सन् २०२५ सम्म दक्षिण ध्रुवमा मानव सहितको यान अवतरण गर्ने लक्षका साथ काम गरिरहेको छ । ​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप