शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार भएन’

बुधबार, २२ असार २०७९, १५ : ०६
बुधबार, २२ असार २०७९

संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयता सम्बन्धि आफैँले तय गरेको रोडम्याप अनुसार समेत नहिँडेको भन्दै असन्तुष्टि समेत जनाएको हो । 

२०७५ साल मङ्सिर २४ गते आफैँले बनाएको संघीयता सम्बन्धी २९ बुँदे रोडम्याप समेत कार्यान्वयनमा सरकार र सरकारका मन्त्रीहरू जिम्मेवार नभएको पाइएको समितिका संयोजक खिमलाल देवकोटाले बताए । उनले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको अन्तरप्रदेश परिषद् बैठकले निर्णय गरेको सो संघीयता सम्बन्धी रोडम्याप समितिले पटकपटक निर्देशन दिँदा पनि किन कार्यान्वयनमा नल्याएको भन्दै सरकारलाई प्रश्न गरे । समितिले सरकारका मन्त्रीहरु नै संघीयताको कार्यान्वयन गर्न जिम्मेवार नभएको उल्लेख गर्दै संविधान र कानुनले किटान गरेको व्यवस्थाप्रति जिम्मेवार हुन पनि सचेत गराएको छ । 

संयोजक देवकोटाले भने, ‘राष्ट्रिय समन्वय परिषद्को बैठक राख्नुपर्छ भनेर त्यो कानुनले लेखेको छ । तर सरकार बैठक नै राख्दैन । अनि, अन्तर सरकारी वित्त परिषद् भन्ने त्यहाँ वित्त सम्बन्धी संघ, प्रदेश र स्थानीय तहमा देखिएको समस्या समाधान गर्ने व्यवस्था गरिएको छ । त्यसको बैठक बस्ने कुरा पनि हामीले भनिदिनु पर्ने हो ? संविधानमा लेखिएको छ, कानुनमा लेखिएको छ । यस बाटोमा अलिकति हिँड्न, कुद्न भनेको मात्रै हो । मन्त्रीहरू यस सम्बन्धमा जवाफदेही हुनुपर्ने हो । सचिवहरूले पनि यसमा बेवास्ता गरेको देखियो । नेपाल सरकार कार्यविभाजन नियमावली छ । सो अनुसार काम भएको छ कि छैन ?

हामीले राजनीतिक संघीयता, प्रशासनिक संघीयता र वित्तीय संघीयता हाम्रो कार्य क्षेत्र हो । यसमा काम भए÷नभएको सरकारलाई प्रश्न गरेका छौँ ।’ समितिले अन्तर सरकारी वित्त परिषद्को बैठक समेत नबसेर सरकारले संघ, प्रदेश र स्थानीय तहको वित्तीय व्यवस्थापनका विषयमा आवश्यक व्यवस्था गर्न नसकेको, स्थानीय तहमा निजामती कर्मचारीको सेवा व्यवस्थापनको कामलाई अघि बढाउन नचाहेको, संघ, प्रदेश र स्थानीय तहमा संविधान र कानुन विपरित जथाभावी बजेट विनियोजन गरेको भन्दै तत्काल त्यसलाई सच्याउन पनि सरकारलाई भनेको छ । 

समितिका संयोजक देवकोटाले संविधान र कानुन अनुसार २०७५ साल फागुन मसान्त भित्र निजामती कर्मचारी सम्बन्धी ऐन फाइनल गर्ने निर्णय कार्यान्वयनका लागि दिएको निर्देशन पनि सरकारले हालसम्म कार्यान्वयन नगरेकोमा आपत्ति जनाए । उनले भने, ‘जथाभावी बजेटिङ गर्ने, जथाभावी कर्मचारी परिचालन गर्ने, सिंगो गाविसलाई वडा बनाउने तर त्यहाँ सचिवको व्यवस्था नगर्ने । हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई त्यसबारे तत्काल व्यवस्था गर्न निर्देशन दियौँ तर आजसम्म पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।’ देवकोटाले स्थानीय तहको वडाहरूमा सचिवको व्यवस्था अझै गर्न नसकेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयप्रति आक्रोश समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप