आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रसँग हातेमालो गर्न सिविफिनको आग्रह

बुधबार, २२ असार २०७९, ११ : ३९
बुधबार, २२ असार २०७९

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले वर्तमान आर्थिक समस्यासँग जुध्न निजी क्षेत्रसँग हातेमालो गर्न सरकारलाई सुझाव दिएको छ । हालै मात्र राजधानीमा सम्पन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत विभिन्न मन्त्रालय, मुख्य सचिव तथा सचिवहरूसँग छलफल गरेको सिबिफिनले सरकारसँग यस्तो आग्रह गरेको हो ।

सरकारी–निजी दुबै क्षेत्र मिले मात्र अहिलेको कठिन परिस्थितिको सामना गर्न र सोबाट पार पाउन सकिने भन्दै सिबिफिनले यस्तो बताएको हो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका तर्फबाट बोल्दै राज्यमन्त्री उमेश श्रेष्ठले मुलुकको अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थामा रहेकोले हामी सबैले हातेमालो गरी वर्तमान चुनौतीको समाधानको बाटो खोज्नुपर्ने बताए ।

राज्यमन्त्री श्रेष्ठले पेट्रोलियम पदार्थको आयात र उपभोगको दर बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको तथा स्वदेशी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने क्षेत्रमा लगानी बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे । ‘हामीले वित्तीय क्षेत्रलाई बलियो र दिगो बनाउन जलविद्युत, कृषि, घरेलु, साना तथा मझौला उद्योग जस्ता एसएमईज्, स्वास्थ्य तथा शिक्षा जस्ता सम्भावित क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न आवश्यक छ, त्यसका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्दछ’ उनले भने ।

वर्तमान चुनौतीलाई सम्बोधन गर्नका लागि विभिन्न मन्त्रालयबाट ल्याइएका वातावरणीय सुधारका नीतिहरू अहिलेको आवश्यकता भएको बताउँदै अर्थतन्त्रलाई चलायमान र दिगो बनाउन उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने समेत उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले अर्थतन्त्रमा देखिएको असहजताप्रति चिन्ता प्रकट गर्दै, कृषि तथा वनमा आधारित उत्पादनको गुणस्तरमा सुधार गर्ने, उत्पादनको लागत घटाउने र निर्यात बढाउनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए । 

‘हामीले एकद्वार प्रणाली लागू गरेको भएतापनि लगानीकर्ताहरूले अपेक्षा गरेअनुरुप सहज सुविधा पाउन सकिरहेका छैनौं’ मन्त्री बडुले भने, ‘यसका लागि सरोकारवालाहरूसँगको परामर्श र सुझावबाट समाधान खोजिनुपर्छ ।’
त्यस्तै मुख्यसचिव शंकर बैरागीले क्षेत्रगत सुधारका लागि विभिन्न मन्त्रालयले मिलेर काम गर्नुपर्नेमा सुझाव दिए । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलले व्यापार र लगानीको लागि भन्सार प्रशासनमा सुधार गर्नुपर्ने बताउँदै हाम्रो अर्थतन्त्रको सुधार तथा सबलीकरणका लागि स्थानीय ज्ञान, सीप र उत्पादनको उपयोगमा सधै ध्यान केन्द्रित गर्नुपर्ने सुझावहरु दिए ।

सिविफिन अध्यक्ष पवनकुमार गोल्यानले अहिले गम्भीर आर्थिक संकटको अवस्थामा रहेकाले अहिलेको संकट समाधानका लागि नेपाल सरकार, मातहतका निकायहरु, विभिन्न व्यवसायिक क्षेत्रका संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरुले मिलेर काम गर्नुपर्ने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप