प्रेरक व्यक्तित्व

बालगुरु षडानन्द : व्यक्तित्व र कृतित्व

person explore access_timeअसार २२, २०७९ chat_bubble_outline0

बालगुरु षडानन्द अधिकारीको नाम भाइभहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी खडानन्द, खडु, षडानन्द, षडानन, आबाल ब्रह्मचारी षडानन्द, बालागुरु, गुरुमहाराज जस्ता नामले चिनिन्छन् । १८९२ साल मङ्सिर ११ गते भोजपुर जिल्लाको दिङ्ला ‘गढी’ गाउँमा जन्मेका षडानन्द पिता लक्ष्मीनारायण र माता रुक्मिणीका कान्छा छोरा हुन् । उनीभन्दा माथि चार दाजु र तीन दिदी थिए । गर्भमा छँदै बाबु लक्ष्मीनारायणको मृत्यु भएकाले उनको रेखदेख माता रुक्मिणीका साथै दाजु र दिदीहरूबाट भएको थियो । १९७३ सालको जेठ महिनामा धराधाम त्यागेका षडानन्दले शिक्षा तथा समाज सुधारका क्षेत्रमा थुप्रै काम गरेर गएका छन् । यहाँ उनकै व्यक्तित्व र कृतित्वबारे केही चर्चा गर्ने प्रयास गरिएको छ । 


शिक्षादीक्षा – आठ वर्षको उमेरमा ब्रतबन्ध संस्कार हुनासाथ तीर्थयात्रीहरूको साथमा लागेर जनकपुर आएका षडानन्दको शिक्षाको सुरुवात त्यहीँबाट भएको थियो । उनले त्यहीँबाट प्राथमिक शिक्षा पूरा गरी थप अध्ययनका लागि काशी रोजेका थिए, जहाँ लामो समयसम्म अध्ययन अनुसन्धानका साथै योग, ध्यान, साधना र गायत्री पुरश्चरणको दीक्षा लिने काम भएको थियो । नेपाल फर्केपछि १२ वर्षसम्म गोकर्ण, श्लेषमान्तक वन, पचली भैरव आदि बागमती किनाका विभिन्न स्थानमा बसी तपस्या गरेर सिद्धि प्राप्त गरेका थिए । भनिन्छ २४ पटक त गायत्री पुरश्चरण नै गरेका थिए । त्यसपछि दुई वर्षसम्म भारतको विभिन्न स्थानमा रहेका तीर्थहरू भ्रमण गरी १९३१ सालमा दिङ्ला फर्केका थिए तर कतिपयको मतमा उनी १९२८ सालमै दिङ्ला फर्किसकेका थिए । 
शैक्षिक जागरण – षडानन्दले १९३२ सालमा भोजपुरको दिङ्लामा गुरुकुल पाठशाला सञ्चालन गरी मुलुकको शैक्षिक जागरणमा विशेष योगदान दिने काम गरे । उनले सञ्चालन गरेका गुरुकुल पाठाशाले दिङ्लामा मात्र नभई सिङ्गो मुलुक र भारतीय भूभागको समेत शैक्षिक विकासमा विशिष्टतम भूमिका निर्वाह गरेको थियो । यद्यपि नेपालमा संस्कृत शिक्षाको सुरुवात त्यस अघि नै नभएको होइन । विभिन्न स्थानमा विभिन्न व्यक्ति वा संस्थाले विभिन्न तरिकाले संस्कृत पढाउने व्यवस्था मिलाएका थिए । तिनमा दिङ्लाको गुरुकुल पाठशालाको छुट्टै स्थान देखिन्छ । १९५५ सालमा आएर सरकारी मान्यता पाएको सो पाठशाला त्यस अघिका २० वर्षभन्दा बढी समय उनकै रेखदेख र जोडबलमा सञ्चालित हुँदै आएको थियो । उनका गुरुकुलमा ब्रह्मण क्षेत्री, राई, मगर, श्रेष्ठ सबै थरका विद्यार्थी पढ्ने गर्थे, जहाँ व्याकरण, काव्य, कोष, वेद, साहित्य तथा कर्मकाण्डादि सबै विषय पढाइ हुने गथ्र्यो । खाने, बस्ने सहितको शिक्षाको व्यवस्था भएकाले यहाँ दार्जलिङ, कालिम्पोङ, भुटान आदि स्थानबाट समेत विद्यार्थीहरू आउने गर्थे । 



समाजिक जागरण – षडानन्द जात, भात, छुवाछुत जस्ता कुप्रथाको कट्टर विरोधी थिए । सर्वप्रथम संस्कृत भाषा ब्राह्मणले मात्र पढ्ने भाषा हो भन्ने तत्कालीन मान्यता तोडेर आफ्ना पाठशालामा सबै थरका विद्यार्थीले पढ्न पाउने व्यवस्था मिलाए । त्यतिबेला समाजमा कथित उपल्लो जातकाले कथित तल्लो जातसित विवाह गरे जात जान्छ भन्ने मान्यता थियो । उनले त्यसलाई समेत तोडेर समानताको शिक्षा दिए । यस बाहेक थुप्रै पुराना चलन तोडी नयाँ चलन चलाउने काम गरेका थिए । त्यतिबेलासम्म श्राद्धमा बिरालो बाँध्नुपर्छ भन्ने मान्यता थियो । घरमा बिरालो नभए खोजेर भने पनि ल्याएर बाँधिन्थ्यो । सर्वप्रथम यसलाई तोड्ने कामसमेत उनैले गरेका हुन् । सतीप्रथा उन्मूलनमा समेत उनको ठूलो योगदान छ । सरकारी तवरमा १९७७ सालमा चन्द्रशम्शेरले सती प्रथा उन्मूलन गरेका हुन् तर उनलाई सुझाव दिने काम भने षडानन्दले नै गरेका हुन्, जसले १९४० तिरै सती गएर अकालमा ज्यान गुमाउन लागेका दुईवटी नारीलाई बचाइसकेका थिए ।  
धार्मिक जागरण – षडानन्दले १९३२ सालको रामनवमीका दिन गुरुकुल पाठशाला परिसरमा सीताराम तथा नर्मदेश्वर शिवलिङ्ग सहितको मन्दिर निर्माण गरी नियमित पूजा आरतीको व्यवस्था गरेका थिए । पाठशाला परिसरमा जलाशय, धारा, कुवा र विभिन्न देवीदेवताको मूर्ति स्थापना भएकाले त्यतिबेला दिङ्ला छुट्टै किसिमको धार्मिक तथा आध्यात्मिक जागरणको केन्द्र बन्न पुगेको  थियो । यहाँ गायत्री पुरश्चरण, अतिरुद्री, महारुद्री, लगायतका विभिन्न धार्मिक कार्य हुने गर्थे भने पुराणशालामा हुने नियमित प्रवचनबाट शान्ति, सदाचार, सहिष्णुता र सामाजिक सद्भाव वृद्धिमा सघाएको थियो । 



साङ्गठनिक सुधार– षडानन्दले साङ्गठनिक विकार र बिस्तारमा पनि उत्तिकै ध्यान दिएका छन् । उनी कसलाई कस्तो शिक्षा दिने र कुन व्यक्तिलाई कुन कामको जिम्मा दिने भन्नेमा यति कुशल थिए कि त्यहाँबाट उत्पादित जनशक्ति जहाँ पुगे पनि अब्बल ठहरिने गर्थे । उनको गुरुकुलको अनुशरण पछि गएर अन्य स्थानमा खुलेका विद्यालयहरूले पनि गरेका थिए । षडानन्दको कुशल व्यवस्थापनमा दीक्षित भएका कर्मचारीको व्यवहारबाट सङ्गठनमा आबद्ध भएका वा हुन चाहनेले अलिकति मात्र भए पनि पाठ सिक्ने हो भने धेरै हुन सक्ने देखिन्छ । 

आर्थिक इमानदारी – आर्थिक क्षेत्रको इमानदारी र पारदर्शिता षडानन्दको अर्को विशेषता हो । उनी पौराणिक ग्रन्थहरूको प्रवचनबाट दान लिन्थे । दानमा कति आर्थिक हुन्थ्यो कतिमा जग्गा जमिन पर्थे तर जति लिए त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये भन्दै जुन उद्देश्यले लिइएको हो त्यसैमा पूरापूर सदुपयोग गर्थे । उनले जति दान लिए आफ्ना लागि लिएनन् । सबै संस्थाकै लागि लिएर संस्थामै लगानी गरे । आयव्ययको हिसाव कितावमा सदैव सजग हुन्थे र अरूलाई पनि सजग गराइरहन्थे । यसबाट बेरुजु र सरकारी रकमा हिनामिनामा होडबाजी गर्ने आजका राष्ट्रसेवकहरूले अलिकति मात्र पाठ सिक्ने हो भने पनि समाजलदे पक्कै आजको जस्तो बेथिति झेल्नुपर्ने थिएन ।  

आज हामी माझ बालागुरु षडानन्दको भौतिक शरीर त छैन तर उनले गरेका काम र मुलुकी हितमा दिएका योगदान भने स्वर्णाक्षरले लेखिएको छ । षडानन्दले शिक्षा र सामाजिक जागरण जति गरे आजको समाज त्यसैको व्याज उपभोग गरिरहेको छ भन्दा फरक पर्दैन तर उनकै सम्मानमा राज्यसत्ता बेखबर जस्तै देखिनु भने राम्रो होइन । हो, केही निजी क्षेत्रका सङ्घसंस्था यसमा नलागेको होइन तर यतिले मात्र पुग्दैन । सरकार तथा सरकारी निकायबाट पनि होस्टेहैँसे गर्नैपर्ने हुन्छ । राज्यले चाहने हो भने उनको नामबाट राजमार्गहरू निर्माण गर्ने, शालिक राख्ने, हुलाक टिकट निकाल्ने र राष्ट्रिय विभूति घोषित गर्ने जस्ता धेरै काम गर्न सक्छ । आशा गरौँ सम्बन्धित निकायको ध्यान यसतर्फ यथाशघ्रि जानेछ ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।