शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चुरोटबाट बानी, साथीको लहलहैमा दुर्व्यसनी

आसरा सुधार केन्द्रमा मदिरा छुटाउन जानेको चाप
बुधबार, २२ असार २०७९, १० : ३१
बुधबार, २२ असार २०७९

रानीबारीस्थित आसरा सुधार केन्द्रमा अहिले १ सय १९ जना सेवनकर्ता ड्रग्स छाड्ने अभ्यास गरिरहेका छन् । आसरामा सबैभन्दा धेरै मानिस मदिराको लत सुधार्न धाउने गरेका छन् । 

सबैभन्दा धेरै ‘मदिरा सेवनकर्ता’हरू उपचार गराउन आउने गरेको सुधार केन्द्रका क्याम्प कमाण्डेन्ट इन्स्पेक्टर मदन केसीले रातोपाटीलाई बताए । मदिरापछि ब्राउन सुगर, गाँजा, इन्जेक्सन र ट्याब्लेट प्रयोगकर्ताहरूलाई परिवारले सुधार केन्द्रमा राख्ने गरेका छन् । आइस ड्रग्स र खोकीको औषधी सेवनकर्ताहरू थोरै सङ्ख्यामा सुधार केन्द्रमा जान्छन् । लागू औषध प्रयोगकर्ताहरूले चिकित्सकको सल्लाह बिना खोकीको औषधी एकैपटक धेरै खाने गर्छन् ।  

‘आफूलाई सकारात्मक राखौँ’ भन्ने नारासहित नेपाल प्रहरी श्रीमती संघको संरक्षणमा सो सुधार केन्द्र २५ वर्षदेखि सञ्चालित छ । प्रहरीको सुरक्षा घेराभित्र सञ्चालित सुधार केन्द्रको आफ्नै कथा छ । २०५४ सालमा उपत्यकामा धेरै अपराधका घटना भएपछि प्रहरीले सर्च अपरेसन चलायो । अपरेसनमा २७२ जना समातिए । तीमध्ये १११ जना लागु औषध प्रयोगकर्ता थिए । त्यसपछि, प्रहरी प्रधान कार्यालयले सुधार केन्द्र सञ्चालन गर्ने निर्णय गरेको थियो । २०५४ असार १ मा ‘लागू औषध दुर्व्यसनी सुधार शिविर’को नामबाट सो सुधार केन्द्रको जग राखिएको थियो । 

३ महिना सञ्चालन गरेर प्रधान कार्यालयले २०५४ असोज १ मा तत्कालीन केन्द्रीय प्रहरी परिवार महिला संघलाई सो सुधार केन्द्र हस्तान्तरण गरेको थियो । महिला संघले नाम परिवर्तन गरेर आसरा सुधार केन्द्र नामकरण गर्ने निर्णय लियो । 

२०५५ माघ १९ मा संस्था दर्ता ऐन २०३४ अनुसार सिडीओ कार्यालयमा दर्ता भएको आसराले समाज कल्याण परिषद् र गृह मन्त्रालयबाट  आबद्धताको प्रमाणपत्र लिएको छ । स्थापना भएदेखि अहिलेसम्म आसरामा ५ हजार १८० जनाले उपचार गराएका छन् । २०७८ साउनपछि अहिलेसम्म ३ सय ४८ जनालाई उपचार गरिएको इन्स्पेक्टर केसीले जानकारी दिएका छन् ।

साथीको लहलहैमा दुर्व्यसनी 

आसराले २५ वर्षसम्म गरेको अध्ययनबाट लागू औषध दुर्व्यसनी सुरुमा चुरोट खाएर बानी लाग्ने गरेको देखिएको छ । 

आसरामा उपचार गर्न आउनेमा २१ देखि ३० वर्ष उमेरका बढी छन् । २० वर्ष मुनिका सेवनकर्ताहरू पनि छन् । २० वर्ष मुनिका सेवनकर्ता अधिकांश विद्यार्थी रहेका छन् । ९ देखी १२ कक्षासम्म अध्ययन गर्ने तिनले चुरोटबाट लागू औषध सेवन गर्ने बानी लागेको बताउने गरेका छन्  । इन्स्पेक्टर केसी भन्छन्, ‘साथीको लहलहैमा लागेर सेवन गर्ने लत बसेको देखिन्छ ।’ 

पेसा, व्यवसाय नभएकाहरू धेरै दुर्व्यसनीमा फस्ने गरेको देखिन्छ । त्यसो त व्यापारी र कृषि पेसामा लागेकाहरू पनि दुर्व्यसनीको शिकार भएका छन् । साधारण लेखपढ भएका देखि चिकित्सकसम्म पनि लत सुधार्न आसरामा जाने गरेका छन् । ‘लत सुधार्न’ आउनेहरूको गोपनीयता कायम राख्ने गरिएको बताउँछन् कमाण्डेन्ट इन्स्पेक्टर केसी ।

मदिराको लत सुधार्न सरकारी कर्मचारीहरू पनि आसरामा जाने गरेका छन् । आसराको रेकर्डअनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै लागू औषध दुर्व्यसनीका बिरामीहरू भेटिएका छन् । बागमतीपछि मधेस, गण्डकी र लुम्बिनी प्रदेश लागू औषधबाट प्रभावित छन् । 

७८ हजारको प्याकेज

आसरामा लागु औषध उपचारका लागि १० जना परामर्शदाता कार्यरत छन् । त्यहाँ भर्ना भएपछि कम्तीमा ४ महिना उपचार गर्नुपर्छ ।  सो अवधिमा ७८ हजार लिने गरी आसराले उपचार प्याकेज बनाएको छ । आवास, खाना र कपडासहित सो प्याकेज तयार गरिएको इन्स्पेक्टर केसीले बताए । ४ महिनापछि थप राख्नु परेमा १७ हजार ५ सय प्रति महिना तिर्नुपर्छ । यहाँ दैनिक सवा १ सय जना लागू औषध प्रयोगकर्तालाई उपचार गर्ने क्षमता छ ।

आसराको उपचार शैली फौजी तरिकाको हुन्छ । बिहान ६ बजेबाट बेलुका ९ बजेसम्म दुर्व्यसनीमा फसेकाहरूलाई पिटी परेड खेलाउनेदेखि काउन्सेलिङसम्म गरिन्छ । मदिरा तथा अन्य लागू औषध खानुपर्ने कारण पत्ता लगाएर उपचार गर्ने गरिएको छ । 

आसरा सुधार केन्द्रकी अध्यक्ष हुन्, आईजीपी धीरजप्रताप सिंहकी पत्नी कुसुमलता सिंह । प्रहरी प्रधान कार्यालयले सुधार केन्द्रको व्यवस्थापन र रेखदेखका लागि इन्स्पेक्टरको कमाण्डमा ३९ जना प्रहरी खटाएको छ । यसको शाखा कार्यालय धरानको पानबारीमा पनि छ । सो शाखा प्रदेश–१ प्रहरी कार्यालय मातहतमा पर्छ । यो शाखा २०७५ चैत १ मा सुरु गरिएको थियो । 

त्यस्तै, नेपाल प्रहरी श्रीमती संघले काठमाडौँको तिलगंगामा महिला आसरा केन्द्र चलाएको थियो । तर, बिरामी नभएपछि २०७८ चैतबाट सो केन्द्र बन्द गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप