इतिहास बोकेको तत्कालीन जनमुक्ति सेनाको ब्यारेक बन्यो खण्डहर
मुल प्रवेशद्वारमा काठको कलात्मक तर जीर्ण गेट छ । प्रवेशद्वारभित्र कतै टिन, कतै ढुंगामाटोको घरहरु देखिन्छन्, जसको अवस्थामा नाजुक छ । केही घर त भत्किसकेका छन् । केही भत्किने अवस्थामा छन । कुनै घरको छानो छ, भित्ता छैन भने कुनैको भित्ता छ, छानो छैन ।
कोही नयाँ मान्छे त्यहाँ पुगेर पहिलो पटक ती घरको अवस्था हेर्दा उसको मनमा भट्ट आउँछ– द्वन्द्वका क्रममा बम र बारुदले भत्किएका घर रहेछन् ।
तर वास्तविकता त्यो होइन । यी जीर्ण घर शान्ति स्थापना पछि बनेका तत्कालीन माओवादी लडाकु जनमुक्ति सेनाले प्रयोग गरेको ब्यारेक हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा बनाइएको यो ब्यारेकमा कुनै बेला करिब तीन हजार जनमुक्ति सेना परेड खेल्थे । महिला सामुदायिक वनको करिव १६ हेक्टर क्षेत्रफलमा फैलिएको ब्यारेक निर्माण भएको करिव ६ वर्षमै रित्तो भयो । यहाँ रहेका तत्कालीन जनमुक्ति सेनामध्ये केही सेना समायोजन अन्तर्गत नेपाली सेनामा गए, केही अयोग्य ठहरिए भने अधिकांशले स्वेच्छिक अवकाश लिइ घर फर्किए ।
०७० पछि रित्तिएको ब्यारेक संरक्षणको जिम्मा अर्जुन खोला सशस्त्र प्रहरी बेस क्याम्पले लियो । ०७५ फागुनदेखि सशस्त्र प्रहरीले पनि संरक्षण गर्न छाडिदिएपछि तत्कालीन जनमुक्ति सेनाको ब्यारेक संरक्षण विहीन बनेको छ ।
स्थानीय विभीषण रोका भन्छन्, ‘तत्कालीन माओवादी लडाकुको ब्यारेक अहिले बेहाल अवस्थामा छ । यसको संरक्षणमा न सरकारलाई चासो छ, न माओवादीलाई ।’
तत्कालीन जनयुद्धको एक सम्पत्तिका रुपमा ब्यारेक रहे पनि संरक्षण अभावमा बेहाल बनिरहेको उनको भनाइ छ ।
गाउँले नै रखवाला बन्दै
‘गाउँमा ब्यारेक बस्यो । ब्यारेक आएपछि विकास पनि आयो । अहिले ब्यारेकमा न सेना बस्छन् । न संरचना सुरक्षित छ । ब्यारेकका संरचना चोरी हुन्छ कि भन्ने डरले गाउँलेले नै सुरक्षा दिइरहेका छौं,’ स्थानीयवासी कमली वली भन्छिन् ।
गाउँमा यो ब्यारेक स्थापना भएसँगै विकास पनि भएको उनको भनाइ छ । ‘ब्यारेक आएपछि बाटो आयो, पानी आयो, बिजुली आयो, गाउँमा ब्यारेकसँगै विकास आयो,’ उनले भनिन्, ‘ब्यारेकबाट तत्कालीन जनमुक्ति सेना गएपछि विकास पनि हरायो हाम्रा लागि ।’
राज्यले ब्यारेक संरक्षणमा बेवास्ता गरेपछि गाउँलेहरु मिलेर पालैपालो यसको पहरेदार गर्न थालिएको उनले बताइन् ।
बिर्सिए नेताले
तत्कालीन जनमुक्ति सेनाका बिग्रेड सह–कमाण्डर मोहन नेपाली (उज्ज्वल) माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीदेखि राज्यको विभिन्न पद र जिम्मेवारीमा पुग्नुमा यो ब्यारेकको पनि योगदान रहेको बताउँछन् ।
उनले भने, ‘अझै हाम्रो प्रदेशमा मुख्यमन्त्री पनि माओवादीकै छन् । उनीहरुलाई प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री बनाएको ब्यारेकको अवस्था अहिले यस्तो छ ।’
जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि आफूहरुको पहिलो घर नै यही ब्यारेक रहेको उनको भनाइ छ । ‘योसँग हाम्रो भावनात्मक सम्बन्ध जोडिएको छ, ब्यारेकको यो अवस्था देख्दा निकै मन पोल्छ,’ उनले भने, ‘जनयुद्धले जन्माएका थुप्रै नेताहरु देशको उच्च ओहोदामा पुगेको अवस्थामा जनयुद्ध जन्माएको ब्यारेक खण्डहर बन्दा उनीहरुको पनि मन पोल्नुपर्ने हो ।’
माओवादी कार्यकर्ता पूर्णबहादुर डाँगीका अनुसार यो ब्यारेकका तत्कालीन कमाण्डर अहिले पार्टीका नेता छन् । यहाँ जनमुक्ति सेनाका रुपमा रहेकाहरु मध्ये अधिकांश अहिले पनि माओवादी केन्द्रकै कार्यकर्ता रहेको र केही स्वतन्त्र भएको, केहीले अन्य पार्टी रोजेको हुन सक्ने उनले बताए । तर जो जहाँ भए पनि यो ब्यारेकको माया उनीहरुलाई लाग्नुपर्ने डाँगी बताउँछन् ।
‘तर कसैले यो ब्यारेकलाई सम्झिएको जस्तो लाग्दैन,’ उनले भने, ‘न त्यो बेलाका कमाण्डर फर्किएका छन्, न सेना, न कोही नेता यहाँ फर्किएका छन्, न कार्यकर्ता ।’
व्यारेक संरक्षणमा स्थानीय तहले पनि बेवास्ता गरेको स्थानीयवासी बताउँछन् । राज्यकाे इतिहाससँग जोडिएको सम्पदा रहे पनि स्थानीय सरकारले ब्यारेकलाई माओवादीको सम्पत्तिका रुपमा लिने गरेको विभीषण रोकाको भनाइ छ ।
पाँचौ डिभिजन जनमुक्ति सेना ब्यारेक रोल्पा दहवन र त्यस अन्तर्गत चार ब्यारेक दीर्घ स्मृति बिग्रेड दाङ, ज्वारस्मृति बिग्रेड रोल्पा तिला, मंगलसेन स्मृति बिग्रेड उंघा, सुनिल स्मृति बिग्रेड खर्से रोल्पा गरी पाँच ओटा ब्यारेक थिए । अहिले यी सबै ब्यारेकको अवस्था उस्तै छ । यी ब्यारेकले देशमा परिवर्तन ल्याउन भूमिका निर्वाह गरे तर परिवर्तनपछि आफू रहेनन् ।