आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

​बहुपहिचानको पक्षमा लाग्दा कारबाही भए भोग्न तयार छु  ः मुख्यमन्त्री राई

बुधबार, २२ असार २०७९, ०८ : १५
बुधबार, २२ असार २०७९

अन्य ६ वटा प्रदेशले आफ्नो नामकरण गरिसक्दा प्रदेश १ ले नामकरणको विषय अझै टुङ्ग्याउन सकेको छैन । प्रदेशसभा स्थापना भएको ५ साढे चार वर्ष पूरा हुन लाग्दासमेत प्रदेशको नाम जुराउन सकस भइरहेको छ ।

प्रदेश १ का प्रमुख राजनीतिक दलहरु भने नामको विषय टुङ्गो लगाउन छलफललाई तीव्रता दिइरहेका छन् । नामकरण टुङ्गो लगाउन भन्दै प्रदेश सरकारले असार २४ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्री राजेन्द्र राई साउनको पहिलो हप्तासम्ममा नामकरणको विषय टुङ्गो लाग्ने बताउँछन् ।

के अब नामको विषय टुङ्गो लाग्छ ? कस्तो नाममा होला सहमति ? पहिचानको आधारमा कि भूगोलको आधारमा ? यिनै विषयमा मुख्यमन्त्री राईसँग रातोपाटी संवाददाता अर्जुन आचार्यले संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, मुख्यमन्त्री राईसँग गरेको कुराकानीको सम्पादित अंश–​

प्रदेश १ को नामकरणको विषयमा छलफल कसरी अगाडि बढेको छ ?

पक्ष, प्रतिपक्षको एउटा साझा सहमति भनेको यही अधिवेशनबाट नामको विषय टुङ्ग्याउने भन्ने हो । विगतमा पक्ष र प्रतिपक्षी टाढाटाढा भएर राम्रोसँग छलफल हुन सकेको थिएन । अब भने छलफल हुने वातावरण बनेको छ । एउटा सकारात्मक विषय यो हो । दोस्रो, नाम कसरी टुङ्ग्याउने भन्ने सन्दर्भमा आफ्नाआफ्ना पार्टीका धारणा छँदैछन् । त्यसैमा अडान राख्दा अहिले नै निर्णय हुनसक्ने अवस्था छैन । लचकता पनि अपनाएर मध्यमार्गी बाटो, बीचको नाम, वैकल्पिक नाममा जानुपर्छ भन्ने पनि सहमति भएकाले हामी २४ गते सरकारको तर्फबाट दल नेताहरुसँग बैठक आयोजना गर्दैछौं । त्यसमा धेरै कुरा अगाडि बढ्छ ।

एकातिर जातीय सभ्यता र पहिचानसँग जोडिएको नाम हुनुपर्छ भन्ने एउटा धारणा छ भने दोस्रो, भूगोल, नदी–नाला, हिमाल पहाडको नाममा राख्नुपर्छ भन्ने धारणा छ । यसलाई हामीले दुई कित्तामा राख्ने हो भने बीचबाट वैकल्पिक नाममा जानुपर्छ भन्ने विषयमा कुरा भइरहेको छ । हामी त्यही अनुसार निष्कर्षमा पुग्छौं होला ।​

काँग्रेस र एमालेले जातीय पहिचानलाई नजोड्ने सहमति गरेको कुरा आएको छ । तपाईले अर्को विकल्पको कुरा पनि गर्नुभयो । त्यस्तो विकल्पचाहिँ के हुन्छ ?

यो अनौपचारिक सन्दर्भको कुरा मैले गरेको हो । तपाईले भन्नुभएको पनि अनौपचारिक कुरा नै हुन् । हामीसँग काँग्रेस र एमालेले त्यस्तो सहमति भएको छैन भन्नुभएको छ । कोशीको पनि विकल्प, किराँतको पनि विकल्पमा जाने ढंगले छलफल अगाडि बढ्न खोजिरहेको छ ।

त्यस्तो सहमति भएन भने फेरि पनि कुनै पनि नाममा बहुमत नपुग्ने अवस्था भएको हुनाले सबैले लचकता अपनाउनै पर्नेछ । जसरी भए पनि यो अधिवेशनबाट नाम टुङ्ग्याउनु पर्नेछ । त्यसकारण सबै दलबाट लचकता अपनाइन्छ भन्ने मेरो विश्वास छ ।​

तपाईको दलमा पनि नामको विषयमा एकमत भएन भन्ने कुरा छ । खास के हो ?

दलमा यो छलफल हुने विषय नै होइन । खासगरी पार्टीको एउटा आधिकारिक निर्णय अनुसार दलका सदस्यहरु निर्देशित हुने विषय हो । त्यसो हुँदा पार्टीमाचाहिँ संविधानमा लेख्नुभन्दा अगाडिदेखिका महाधिवेशन र केन्द्रीय समितिको निर्णयबाट पनि प्रदेशको नाम के राख्ने भन्ने विषय टुङ्गिएको छ ।

ती आधिकारिक दस्ताबेज हुन् । महाधिवेशनको प्रतिवेदन, केन्द्रीय समितिको निर्णयको माइन्युटमा नाम के रहने भन्ने विषय टुङ्गो लागिसकेको हुनाले आजभोलि दलको बैठकमा नामको विषयमा छलफल हुँदैन । त्यसो हुँदा दलको सदस्यले के भन्छ, कसो भन्छ भन्ने कुराको कुनै अर्थ छैन । पार्टीको आधिकारिक पहिलाको निर्णय के छ, त्यसले अर्थ राख्ने भएको हुनाले यो कुराको हल्लाले केही अर्थ राख्दैन ।​

तपाईले यसअघि पहिचानको आधारमा किराँत प्रदेश भएन भने पदबाटै राजीनामा दिन्छु भन्नुभएको थियो । त्यस्तो अवस्था नै हो कि तपाईको धारणा परिवर्तन भयो ?

पहिलो कुरा सुन्नमै गल्ती भयो कि ! सुनेर बुझ्नमा गल्ती भयो कि ! अथवा बुझीबुझी लेख्नमा गल्ती भयो कि ! मैले त्यस्तो कहिल्यै पनि भनेको छैन । मैले पार्टीको आधिकारिक निर्णय बहुपहिचानको पक्षमा छ । बहुपहिचानको पक्षमा मैले मतदान गर्छु । बहुपहिचानको पक्षमा म प्रस्ताव लान्छु ।

त्यसो गर्दा पार्टीले मलाई कारबाही गर्छ भने त्यो भोग्न तयार छु । मुख्यमन्त्रीबाट बाहिर निकाल्ने, पार्टीबाट निकाल्ने कारबाही गर्छ भने पनि म त्यो भोग्न तयार छु भनेको मात्रै हो । तर, मैले बहुपहिचानको प्रस्ताव लैजाँदा पनि त्यसमा मतदान गर्दागर्दै अर्को नाम पास भयो भने मलाई त्यो स्वीकार्य छ । त्यो संविधानको व्यवस्था अनुसार, लोकतान्त्रिक मान्यता अनुसार भोटिङ भइसकेपछि त्यसलाई म मान्न तयार छु ।​

अहिले त्यो विकल्पबाट तपाई लचकतातिर जानु भयो कि पुरानै अडान कायमै छ ?

मेरो आफ्नो मान्यता छँदैछ । अब छलफलमा जाँदा मैले प्रस्ताव गरेकै नाममा पनि अरु दलका नेताहरु सहमत हुन सक्नुहुन्छ । तर करिबकरिब अब कुनैमा सहमति पुग्न आँट्यो भने एकैठाउँमा अड्काउने दिशामा चाहिँ म जान्न ।​

प्रदेशको नामको विषयमा तपाईंकै पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको चाहना विपरीत तपाईको कुरा आइरहेको छ भन्ने कुरा सत्य हो ?

हाम्रो कम्युनिस्ट पार्टीको संगठन चलाउने सिद्धान्त, मान्यता कस्तो हुन्छ भने विधानको अधिनस्थ, निर्णयको अधिनस्थ, कमिटीको अधिनस्थ हुन्छ । त्यसो हुँदा अध्यक्षले पनि सदस्यले पनि पहिलाको निर्णय के थियो ? विधानले के भन्छ ? त्यो कुरा मान्नुपर्ने हुन्छ ।

त्यसकारण मैले पनि पार्टीको निर्णय मान्नुपर्छ । केन्द्रीय अध्यक्षले पनि निर्णय मान्नुपर्छ । कतै, काहीँ मैले पूर्व निर्णयभन्दा बाहिर बोलेँ भने त्यो पनि गलत, केन्द्रीय अध्यक्षले बोले पनि गलत नै हुन्छ । म यसअघिका निर्णयलाई समातेर उभिन्छु ।​

कहिलेसम्ममा नामको टुङ्गो लाग्ला ?

अहिले संसद स्थगित छ । लामो समयसम्म हामीले सांसदहरुलाई बैठकमा इन्गेज गरायौं । सांसदहरुको पनि जिल्ला भ्रमणमा जानुपर्ने, जनतासँग भेट्न जानुपर्ने भएको हुनाले केही समय हामीले छुट्टी गरेका छौं । यो बिदाकै समयमा हामी करिबकरिब सहमतिमा पुग्छौं भन्ने विश्वास छ । सम्भवतः अब हामीले साउनको पहिलो हप्तासम्ममा नाम टुङ्गो लगाउँछौं भन्ने व्यक्तिगत विश्वास छ ।​

सरकारले यसको गृहकार्य कसरी गरिरहेको छ ?

सरकार भनेको नियमित भेटघाटमा छौं । गठबन्धनको दलहरु बीचमा चाहिँ एउटै नाममा सहमतिका साथ अगाडि बढ्ने भन्ने नीतिगत सहमति छ । त्यसो हुँदा गठबन्धन दलभित्र त्यत्रो ठूलो असहमति छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप