बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिमा कडाइ गर्ने गभर्नरको संकेत, भने-महामारीमा दिएको सहुलियत घट्न सक्छन्

मङ्गलबार, २१ असार २०७९, २१ : ५२
मङ्गलबार, २१ असार २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित हुने बताएका छन् ।

आज नेपाल व्यवस्थापन संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले भने, ‘आगामी वर्षको मौद्रिक नीति आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित हुनेछ ।’ यस्तै, विगतका वर्षमा कोभिड महामारीको समयमा दिइएका सहुलियतहरू दीर्घकालीन नहुने र त्यसलाई घटाउने समय आएको उनको भनाइ छ । यसले केन्द्रीय बैंक आगामी वर्षको मौद्रिक नीति कसिलो बनाउनतर्फ केन्द्रित हुने संकेत दिन्छ ।

राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रलाई सुधार गर्ने लक्ष्यसहित निजी क्षेत्रलाई सहुलियत उपलब्ध गराउँदै आएको थियो । जुन, आगामी वर्षदेखि हटाउने रणनीति बनिरहेको गभर्नर अधिकारीको भनाइबाट प्रस्ट हुन्छ । खास गरी कोरोना महामारीको समयमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण र ब्याज पूँजीकरण लगायतका सहुलियत दिएको थियो ।

यस्तै, कोरोना महामारीको समयमा बैंक तथा वित्तीय संस्थालाई पनि सहुलियत दिएको गभर्नर अधिकारीले स्मरण गरे । तर, समस्या र महामारीको समयमा दिएको सहुलियत दीर्घकालीन नहुने जिकिर गभर्नर अधिकारीको भनाइ छ । महामारीकै समयमा जस्तो सहुलियत सधैँ दिँदा उत्पादकत्व घट्ने र अर्थतन्त्रमा समस्या पर्ने उनको भनाइ छ । यसबाट आगामी आर्थिक वर्षको मौद्रिक नीति कसिलो नीतिसहित आउने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप