शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश  : गर्भवती महिलाको उपचारमा लापरबाही गर्नेलाई कारबाही गर्न माग

मङ्गलबार, २१ असार २०७९, १८ : ४८
मङ्गलबार, २१ असार २०७९

जनकपुरधामस्थित प्रादेशिक अस्पतालले जाँचै नगरी शल्यक्रिया गर्दा बिरामीको ज्यान खतरामा परेको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न मधेस प्रदेशका प्रदेशसभा सदस्यले माग गरेका छन् ।प्रदेशसभाको आजको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्यले कुनै जाँचै नगरी पित्तथैली शल्यक्रिया गर्दा गर्भवती महिला बिभा चौधरीको स्वास्थ्य अवस्था जटिल भएकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

प्रदेशसभा सदस्य परमेश्वर साहले पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गराउन प्रादेशिक अस्पतालमा भर्ना भएकी महोत्तरीकी बिभाको स्वास्थ्य जाँच नगरी चिकित्सकले शल्यक्रिया गर्दा उनको जीवन खतरामा पुगेको बताए ।  शल्यक्रिया अघि भिडियो एक्सरे, एक्सरे गर्ने गरिन्छ, तर बिभाको शल्यक्रिया अघि अस्पतालले कुनै किसिमको जाँच गरिएको छैन”, प्रदेशसभा सदस्य साहले भने, “यो घटनामा चिकित्सकको चरम लापर्बाही देखिन्छ, चिकित्सकले संवेदनशीलता नदेखाएकाले गर्भवती महिलाको ज्यान खतरामा पुगेको छ । त्यसैले घटनाको सत्यतथ्य छानबिन गरेर चिकित्सकमाथि कारबाही गर्नुपर्छ ।” 

बिभाको घटनाले मधेस प्रदेशको स्वास्थ्य अवस्थालाई उजागर गरेको भन्दै प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले लापरबाही गर्ने प्रादेशिक अस्पतालका चिकित्सवलाई तत्काल कारबाही गर्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य मनिषकुमार सुमनले बिभाको जीवनसँग चिकित्सकले खेलवाड गरेको आरोप लगाउँदै शल्यक्रियामा संलग्न चिकित्सक मुख्य दोषी रहेकाले तत्काल छानबिन गरेर दोषी चिकित्सकको लाइसेन्स खारेज गर्नुपर्ने माग गरे ।
 
घटनामा चिकित्सकको लापर्बाही देखिए पनि अहिले चिकित्सकले शल्यक्रिया मैले गरेको होइन, मैले गरेको होइन भनी पन्छिन खोजेको आरोप लगाउनुहुँदै प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले घटनाको छानबिन गरेर दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग गरिन् । यसैबीच प्रदेशसभाको बैठकले घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन मधेस प्रदेशसभाअन्तर्गत महिला, बालबालिका तथा सामाजिक न्याय समितिलाई निर्देशन दिएको छ । सभामुख सरोजकुमार यादवले प्रादेशिक अस्पतालमा भएको सो घटना छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिए । 

बजेटमाथि छलफल जारी 

मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि प्रदेशसभा बैठकमा आज दोस्रो दिन पनि छलफल जारी छ । प्रदेशसभाको बैठक सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल प्रारम्भ भएको हो । आजको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको आर्थिक विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले प्रदेश सरकारले करको दायरालाई बढाउनुपर्ने बताए । 

आजको बैठकमा प्रदेशसभा सदस्य रामअशिष यादव, परमेश्वर साह, शिवचन्द्र चौधरी, किशोरी साह (कमल), जानकीशरण साह, शारदा थापा, रानी शर्मा तिवारी, प्रमिलादेवी यादव र मदनसेन श्रीवास्तवलगायतले सरकारद्वारा प्रस्तुत आव बजेटमाथि आफ्नो धारणा राखे ।  प्रदेशसभाको अर्को बैठक भोलि असार २२ गते दिउँसो ३ बजे बस्ने र सो बैठकमा पनि बजेटमाथि छलफल जारी रहने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप