बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण इन्डष्ट्रिजको मिनिरल्स वाटर खान अयोग्य, ३ लाख जरिवाना

मङ्गलबार, २१ असार २०७९, १७ : ३६
मङ्गलबार, २१ असार २०७९

पाटन औद्योगिक क्षेत्रमा अवस्थित अन्नपूर्ण इन्डष्ट्रिजबाट उत्पादित मिनरल्स वाटर खान अयोग्य देखिएको छ । बजार अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संकलन गरेको नमुना परीक्षण गर्दा खानलाई अयोग्य देखिएको हो ।

विभागले यही असार १० गते गरेको बजार अनुगमनबाट संकलित नमुना सम्बन्धित निकायलाई परीक्षणका लागि पठाएको थियो । उक्त नमुनाको प्रतिवेदन पठाउँदै परिक्षण गर्ने निकायले खान अयोग्य भनेपछि अन्नपूर्ण इन्डष्ट्रिजलाई जरिवानासहित कारबाही गरिएको विभागका निर्देशक हरि पंगेनीले जानकारी दिए । 

खान अयोग्य पानी उत्पादन गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेकोले ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम कारबाही गरिएको उनको भनाइ छ । कम्पनीलाई विभागले ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, उद्योगबाट उत्पादन भइ बजार पुगेको मिनिरल्स वाटर फिर्ता बोलाउन भनिएको छ ।

साथै विभागले उद्योगबाट उत्पादित पानीको गुणस्तर सम्बन्धित निकायबाट परीक्षण गरी गुणस्तर कायम भएको प्रमाणपत्र पेश नगरेसम्म उद्योगमा सिलबन्दी गरिएको छ । यसैगरी, नागार्जुन नगर पालिका ६ स्थित ८ वटा फार्मेसीलाई ६ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

श्यामेश्वर फार्मेसीले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेकोले ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम २ लाख जरिवाना गरिएको छ । र सोहि दिन जम्मा १७ वटा व्यवसायीक फर्महरु अनुगमन गरिएकोमा विभिन्न ८ वटा व्यवसायिक फर्महरुलाई छ लाख पाँच हजार रुपैयाँजरिवाना गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप