शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बलात्कार पीडितहरूको मनोविज्ञान एकै किसिमको हुँदैन’

मङ्गलबार, २१ असार २०७९, १६ : ५२
मङ्गलबार, २१ असार २०७९

मनोविद् करुणा कुँवरले सबै बलात्कार पीडितहरूको मनोविज्ञान एकै किसिमको नहुने भन्दै उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताएकी छन् ।  मंगलवार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै  कुँवरले बलात्कार पीडितहरूको मनोविज्ञान फरक–फरक खालको हुने भएकाले उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताइन् ।

उनले घटना भएको समयमा जस्तो लक्षणहरु देखापर्छ बीसौं वर्ष पछिसम्म पनि त्यस्तै खालको लक्षणहरु देखा परिरहने सम्भावना रहने बताइन् । उनले हिंसामा परेकाहरुलाई शारीरिक र मानसिक दुवै रुपमा लक्षणहरु देखापर्ने बताइन् । कुँवरले पीडितमा सामान्यतया डरलाग्दो सपनाहरु देख्ने, आत्तिने, डराउने, कुनै ठाउँमा जानुपर्दा साथी चाहिने र घरभित्रै घटना भएको हो भने घरभित्र बस्न पनि डराउने लगायतका लक्षणहरु देखापर्ने बताइन् ।  

बैठकमा बोल्दै डा. सरोज ओझाले विद्यालयदेखि नै बलात्कारको सम्बन्धमा शिक्षा दिनुपर्ने बताए । उनले १८ वर्षभन्दा मुनि बलात्कार तथा यौनजन्य हिंसा सम्बन्धी शिक्षा दिएमा यस्तो घटनाहरुको न्यूनिकरण हुने बताए । उनले यस विषयलाई पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताए ।  चिकित्सक सिर्जना कुँवरले यौन हिंसाका घटना परिवार तथा आफन्तहरु भित्रैबाट बढी हुने गरेको बताइन् । उनले आफूहरुले हेरेको केसहरु मध्ये एक प्रतिशत घटना मात्र अपरिचित मान्छेले गरेको पाइएको बताइन् । उनले आफूहरुले गरेको अध्ययन अनुसार पीडकले आफू पावरमा आउनका लागि केही नराम्रो गर्नैपर्ने रहेछ भन्ने धारणा बनाएका कारण घटना घटाउने गरेको देखिएको जानकारी गराए । कुँवरले बलात्कारको घटनामा हदम्याद राख्नु नहुने बताइन् ।  

चिकित्सक विपिन थापाले कुनैपनि शिक्षाले बलात्कारको विषयमा नबुझाएको बताए । उनले बलात्कार तथा यौनजन्य घटनाहरूमा महिलाहरुलाई नै दोषी देखाइने गरिएको भन्दै मानिसहरुको दृष्टिकोणमा परिवर्तन आउनुपर्ने धारणा राखे । समितिले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरिरहेको छ । सोही सम्बन्धमा मंगलवारको बैठकमा मनोसामाजिक विज्ञ तथा चिकित्सकहरूसँग छलफल गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप