
म नागरिकको वारेस हुँ : नवनियुक्त सांसद बस्नेत

प्रदेश १ को प्रदेशसभा सदस्यमा नियुक्त एमाले सांसद हिमादेवी बस्नेतले आफू नागरिकको वारेस भएको बताएकी छिन् । प्रदेश १ प्रदेशसभामा सभामुख प्रदीपकुमार भण्डारीले शपथ खुवाएपछि प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएकी हुन् । ‘अलिकति फरक जिम्मेवारीमा आएको छु । अझै थप जिम्मेवारी भएको महसुस भएको छ । म नागरिकको वारेस हुँ,’ कार्यकालको छोटो अवधिलाई कसरी उपयोग गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘केही छोटो समयका लागि भएपनि मैले सकेको काम नागरिकको पक्षमा काम गर्छु ।’
उनले आफूलाई ०७४ सालमै सांसद बन्छु भन्ने लागेको भएपनि थोरै अंकले पछि परेको स्मरण पनि गरिन् । ‘मलाई त ०७४ सालको निर्वाचनमा पर्छु भन्ने लागेको थियो । तर थोरै मात्रै शून्य दशमलव ३ अंकले मात्रै नपरेको हुँ,’ उनले भनिन्, ‘त्यसपछाडि गुलेफुन मियाँ माननीयज्यूको विषयमा अदालतको फैसलाको बारेमा कोही जानकारी थियो । तर, पनि मैले धेरै चासो गरिन । पछाडि सर्वोच्च अदालतको फैसला जेठको २५ गते भयो । त्यसपछि पार्टीले जानकारी गराएपछि मात्रै थाहा भयो ।’
सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि प्रदेश सभा सदस्य गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी थिइन् । उनको स्थानमा धनकुटाकी हिमादेवी बस्नेत सांसद बनेकी हुन् । समावेशी खस आर्य कोटाबाट उनी सांसद बनेकी हुन् । बस्नेत नेकपा एमालेको प्रदेश १ समिति सदस्य हुन् । धनकुटा एमालेको पूर्व उपसचिव समेत रहेकी अधिवक्ता बस्नेत धनकुटा बारको पूर्व अध्यक्ष पनि हुन् । उनको श्रीमान् प्राध्यापक डाक्टर गोपालबहादुर भट्टराई धनकुटा बहुमुखी क्याम्पसका पूर्व प्रमुख हुन् । आफू वकालत पेशामा रहेको बताउँदै उनले सदनमा रहँदा जनताको पक्षमा वकालत गरिरहने पनि बताइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ