बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकामा विभिन्न किसिमका क्यान्सर

मङ्गलबार, २१ असार २०७९, १५ : ४०
मङ्गलबार, २१ असार २०७९

नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप, युएनपार्क र गुराँसले आज संयुक्त रुपमा आयोजना गरेको ‘बालबालिकालाई हुने क्यान्सर रोगको रोकथामसम्बन्धी सचेतना कार्यक्रम’मा वक्ताहरुले बर्सेनि विश्वभर तीन लाख तथा नेपालमा दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमका क्यान्सर हुने गरेको बताएका हुन् ।

कार्यक्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी डा. अन्जली पण्डितले बालबालिकालाई बढी मात्रामा रगतको क्यान्सर हुने गरेको बताइन् । उनले रगतबाहेक मस्तिष्क तथा ढाड, ग्रन्थी, आँखा, हड्डी , मिर्गाैला, मांसपेशीलगायतमा क्यान्सर हुने देखिएको बताइन् ।

डा पण्डितले घाँटीमा गाँठो देखिनु, गिजाबाट रगत आउनु, आँखामा धब्बाहरु देखिनु, गालामा ट्युमर देखिनुलगायत क्यान्सरका लक्षणहरु भएकाले यसको समयमै उपचार गर्नुपर्नेमा जोड दिइन्। उनले समयमै क्यान्सर पत्ता लगाउन सके उपचारले निको हुनेसमेत जानकारी दिइन् । डा पण्डितले बालबालिकामा हुने क्यान्सरमध्ये बालकलाई तीन वर्ष र बालिकालाई दुई वर्षमा उपचार गरी निको पार्न सकिने उल्लेख गरिन् ।काठमाडौँ मेडिकल कलेज एन्ड शिक्षण अस्पतालका डा. आशिषलाल श्रेष्ठले बालबालिकामा हुने क्यान्सरको उपचार नेपालमा नै सम्भव रहेको बताए ।

डाक्टर श्रेष्ठले गर्भवती अवस्थामा मद्यपान तथा धुम्रपान गर्नाले, विकिरण तथा रसायनका कारणले, प्रदूषित वातावरण तथा अत्यधिक कीटनाशकको प्रयोगले र गर्भावस्थामा भ्रूणमा देखा परेको वंशाणुगत असन्तुलनले बालबालिकामा क्यान्सरको समस्या हुने गरेको देखिने बताए । 

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले विश्वव्यापी समस्याका रुपमा रहेको बाल क्यान्सरबाट नेपालमा पनि थुप्रै बालबालिकाहरु पीडित भएका र यसको रोकथामका लागि महानगरपालिकाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप