शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रामेछाप बस दुर्घटना अपडेट : ‘ब्रेक फेल’ हुँदा दुर्घटना

मङ्गलबार, २१ असार २०७९, १४ : १९
मङ्गलबार, २१ असार २०७९

रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए ।

नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ । 

रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गयो । दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ । 

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।  

आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो । 

दुर्घटनास्थल दुई गाउँपालिकाको सीमामा पर्ने भए पनि सुनापाती–५ कै क्षेत्र लुभुघाटमा भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । हिँडेको केही घन्टापछि (करिब १० किमी गुडेपछि) बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस असन्तुलित हुँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताए । 

उनका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ । दुर्घटना भएको स्थलबाट मध्यपहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दूरी थियो । त्यसपछि केही राम्रो सडक थियो । त्यहाँबाट केही किलोमिटरको दूरीमा विपी राजमार्ग (पक्की सडक) भेटिने पनि उनले बताए। 

बिहान अन्दाजी १० बजेतिर भएको उक्त दुर्घटनामा मृत्य भएका नौमध्ये चार महिला र पाँच पुरुष छन् । उनीहरुको पहिचान खुलेको छैन । दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।  

तीनजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिए । बस सडकबाट झन्डै ३०÷३५ मिटर तल खसेर तल्लो सडकमा पुगेको छ । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप