बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई काँग्रेसले महत्त्व नदिने
बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयलाई अब नेपाली काँग्रेसले महत्त्व नदिने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी, खासगरी मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सहमति कार्यान्वयनमा चासो नदिएको आरोप लगाएको काँग्रेसले सरकारको नेतृत्वकै लागि मरिहत्ते भने नगर्ने प्रस्ट पारेको हो ।
बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आधा–आधा कार्यकाल नेतृत्व गर्ने भन्नेबारे सहमति भएको दाबी गरे । ‘आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भनेर समझदारी भएकै हो, दस्तखत भएकै हो । शीर्ष नेतासँग सल्लाह भएर यी सब गरेकै हो,’ उनले रातोपाटीसँग भने, ‘निती तथा कार्यक्रम र बजेट अगाडि नै नेतृत्व परिवर्तन गर्ने भनेको हो तर गठबन्धनमा सानातिना कुराले किन गडबड गर्ने भनेर बजेट पास गर्न दिएका हौँ । बजेटपछि उहाँ (मुख्यमन्त्री पाण्डे)ले छाड्ने कुरा गरेको हो ।’
जुन प्रक्रियाले पाण्डेलाई मुख्यमन्त्री बनाइएको हो, त्यही प्रक्रियाले सल्लाह गरेरै दस्तखत गरेको र सहमतिमा सबै काम गरेको उनको दाबी छ । ‘अहिले उहाँलाई सहमति कार्यान्वयनमा किन असजिलो भइरहेको छ, हामी बुझ्न सक्दैनौं,’ उनले भने, ‘काँग्रेस मुख्यमन्त्रीको भोको होइन । लोकतन्त्र, गणतन्त्र, संविधान रक्षाका लागि हामी लडेका हौं । हिजो पद्धति र प्रक्रियाका लागि लड्दै गर्दा आधा–आधा कार्यकाल नेतृत्व गर्ने भनेर सहमति भएको हो । त्यो कार्यान्वयन गर्ने जिम्मा नेकपा एकीकृत समाजवादीको हो ।’
नेकपा एकीकृत समाजवादी र खासगरी मुख्यमन्त्री पाण्डेले ती सहमति कार्यान्वयन नगरेको अवस्थामा पनि आफूहरु किन कार्यान्वयन भएन भनेर नजाने बानियाँले प्रस्ट पारे ।
‘सहमति कार्यान्वयन गर्ने दायित्व र जिम्मेवारी नेकपा एकीकृत समाजवादीको हो । त्यसका लागि मरिहत्ते गरेर गठबन्धन छाड्ने, समर्थन फिर्ता लिने, मन्त्री फिर्ता बोलाउनेतिर हामी जाँदैनौं,’ उनले भने । सहमति कार्यान्वयन गर्ने विषय आफ्नो चरित्रमा भर पर्ने पनि उनले प्रस्ट पारे ।
अहिले आफूहरु निर्वाचन केन्द्रित भएको बानियाँले बताए । निर्वाचनमा कसरी जाने भन्ने कार्यनीति र कार्यदिशा बनाउनतिर आफूहरु क्रियाशील भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने