बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनलाई असफल हुने छुट छैन

मङ्गलबार, २१ असार २०७९, ११ : ४४
मङ्गलबार, २१ असार २०७९

‘सक्छौ व्यवस्था गर, सक्दैनौ बेवास्ता गर,’ यो वाक्यांश अहिले काठमाडौं महानगरपालिकाका फुटपाथ व्यापारीहरुको साझा अभिव्यक्ति हो । कतिपयले फुटपाथमा साँझ विहान गाडा, नाङ्ग्लो पसल गरेर आफ्नो जीवन गुजारा गर्नेहरुलाई व्यापारीको नजरले  नभएर निम्न आर्थिक अवस्था भएका नागरिकहरुको प्रतिनिधि पात्रको रुपमा हेर्नुपर्छ भन्दै आएका छन् । 

उता कतिपयले रैथानेहरुको घर नै भत्काएर तयार पारिएको सडक र फुटपाथ नितान्त सवारी साधन र पैदल यात्रुको मात्र हुनुपर्ने कुरा उठाउँदै आएका छन् । दुबै पक्षको कुरा आफ्नो आफ्नो ठाउँबाट विलकुलै गलत भने होइन । तर यो पनि ठीक, त्यो पनि ठीक भए बेठीक चैँ को भन्ने प्रश्न खडा हुन सक्छ । कोही सही हुनलाई कोही गलत नै हुनुपर्छ भन्ने त होइन । तर, विषयलाई गहिराइमा गएर नियालिएन भने निचोडमा पुग्न सकिँदैन । र, समस्याको समाधान पनि निस्किँदैन ।

यसै साता महानगर प्रहरीले मकैको ठेला उठाएर ठेलामा मकै पोलेर बेच्ने दम्पतिलाई लछारपछार पारेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यस विषयमा सर्वसाधारणको मिश्रित प्रतिक्रिया आइरहेका छन् । ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीतको यथार्थ चित्रण भएको भन्ने कुरा पनि सुनिँदै आएको छ । 

त्यसो त काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा स्थानीय मतदाताले मात्र होइन, देशभित्र तथा बाहिर छरिएर बसेका नेपालीबाट एकदमै आशा गरिएका स्वतन्त्र युवा बालेन्द्र शाह ‘बालेन’ आएका छन् । त्यसै गरी उपप्रमुखका रुपमा पनि एमालेबाट युवा सुनिता डङ्गोल आएकी छिन् । उनीहरुमाथि जनताले धेरै नै आश राखेका छन् । नजिकबाट नियाल्ने हो जनताका आशा पुरा गर्नै नसकिने या हुनै नसकिने खालका भने छैन । विषय विज्ञहरुको अनुसार फोहोर, सडक र पानीको समस्या हल गर्न सके मात्र पनि काठमाडौंको दुई तिहाई समस्या हल हुनेछ । र, जनताका बहुमत आकाङ्क्षा पुरा हुनेछ । यी मेयर, उपमेयरले जनताको आशालाई कसरी व्यवस्थापन गर्छन् भन्ने चासोको विषय बनेको छ । जनताको जीवन र महानगरको अस्तित्वसँग जोडिएको विषयमा महानगरले बेवास्ता गर्न मिल्दैन । बालेनलाई असफल हुने छुट छैन । बालेन असफल हुनु भनेको वर्षौंपछि जनतामा पलाएको आश मर्नु हो, परिवर्तनको धरोहर ढल्नु हो । र, सम्भावनाको रेखा मेटिनु हो ।

इतिहासलाई फर्केर हेर्दा आजको सडक र सडकपेटी सदियौँ पुराना घर भत्काएर  तयार पारिएको हो । कुनै रैथाने आदिवासीमाथि रिस पोख्न या अन्याय गर्न भनेर भत्काइएको भने पक्कै होइन । यो त मुलुकको राजधानीको सडक साँघुरो भएर निम्तिएका समस्यालाई टार्न र राजधानीलाई सुन्दर बनाउनको लागि गरिएको प्रयत्न हो । के ठेलागाडाले सडक अवरोध गर्दैन त ? सडकपेटीमा मानिसको आवतजावतमा कुनै समस्या छैन त ? अवस्य छ । फुटपाथ खुला पनि चाहिने अनि व्यापार पनि फुटपाथमा नै गर्न दिनुपर्छ भन्नु कतिको न्यायोचित हुन्छ ? गरिबले नाङ्ग्लो पसल, ठेलागाडा राखेर गुजारा गर्न पाउनुपर्छ भनिरहँदा व्यवस्था गर्नै नसकिने अवस्थाको सिर्जना हुने त होइन ? व्यापारको प्रारुप नै परिवर्तन हुन के बेर ? नियम कानुन सबैको लागि हो र सबैको लागि हुनुपर्छ । धनीले धनको आडमा र गरिबले भावनाको खेलमा छुट पाउनु हुँदैन । 

के त्यसो भए महानगर प्रहरी र तिनका गतिविधि ठीक हो त ? पक्कै होइन । तरिका गलत  छ  र तरिका बदल्नु अपरिहार्य पनि छ । काठमाडौंले पनि ललितपुरले झैँ एक सिताराम हाछेथु खोजेको छ । सौहार्दपूर्ण वातावरण सहितको व्यवस्थापन खोजेको छ, समाधान सहितको व्यवस्था खोजेको छ । नगर प्रहरी संवेदनशील हुन जरुरी छ । तत्कालीन समस्याको समाधान गर्न महानगरले उचित  विकल्पहरुमा छलफल गरी अहिलेको सडक व्यापारीलाई व्यवस्थापन गर्दै यसको दीर्घकालीन  समाधान  खोजिनुपर्छ । यो विषयमा सङ्घीय सरकार तथा प्रदेश सरकारसँग पनि समन्वय गर्न जरुरी छ । 

स्थानीय सरकारले आफ्नो स्थानीय तहको बारेमा सोच्ने हो । यही नै उसको आफ्ना मतदाता र पदीय जिम्मेवारी तर्फको धर्म हो । भावनामा बगेर मात्र विकास सम्भव छैन । यसको मतलब भावविहीन हुने भनेको पक्कै होइन । निर्णय तर्कसंगत र दूरगामी महत्व राख्ने किसिमको हुनुपर्यो भन्ने मात्र हो । हिजोको दिनमा उचित व्यवस्थापन हुन नसक्दा आज समस्या खडा भएको छ र आजको कमजोरीले भोलि अवस्था अझै विकराल हुनेछ । त्यसैले सुन्दर भोलिको लागि आज र व्यवस्थित आजको लागि अहिल्यै उचित कदम चाल्न जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप