शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

मङ्गलबार, २१ असार २०७९, १० : ३९
मङ्गलबार, २१ असार २०७९

नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँ पटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्र होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् ।
 
भरतपुर वितरण केन्द्रले बिना सूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले समस्या आएको धेरैको गुनासो छ ।

उद्योग सङ्घ चितवनका प्रतिनिधिले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समस्याका बारेमा अवगत गराएका थिए । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको बताए । डिजेलको मूल्य अत्यधिक बढेकाले जेनेरेटर चलाउने अवस्था नभएको भन्दै उनले दिनभर मजदुरलाई त्यसै पालेर राख्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरे । 
 
उद्योगी व्यवसायीका समस्या प्राधिकरणले नसुनेको उनको भनाइ छ । कतिपय उद्योगमा बीचबीचमा विद्युत् जाने समस्याले कच्चा पदार्थसमेत नष्ट हुने गरेको उनले जानकारी दिए । आर्थिक चलायमान कम भइरहेको समयमा उद्योग नियमित सञ्चालन गर्न नपाउँदा बैंक किस्ता र ब्याज बुझाउन समेत कठिन अवस्था आएको उनले बताए ।
 
प्लाष्टिक उद्योग सञ्चालन गर्दै आएका पुराना व्यवसायी राजेन्द्र ओलीले लोडसेडिङको समयमा तालिकाअनुसार काम गर्न पाएको भए पनि अहिले झनै अस्तव्यस्त भएको गुनासो गरे । प्लास्टोटेक नेपाल र आशीर्वाद पाइप उद्योगका सञ्चालक ओली कच्चा पदार्थ तातेपछि विद्युत् जाँदा कच्चा पदार्थसमेत नष्ट हुने गरेको बताउछन् ।
 
उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्षसमेत रहेका ओलीले प्राधिकरणले उद्योगको समस्याका बारेमा ध्यान नदिएको गुनासो गरे । यस्तै अवस्था रहेमा उद्योग सञ्चालन गर्न सक्ने अवस्था नरहने उनी बताउछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप