खोटाङमा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा चालू शैक्षिक सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठन–पाठन सुरु गरिएको हो । तिलुङ भाषाको पठन–पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले विद्यालयलाई हस्तान्तरण गरेकी छिन् ।
तिलुङ भाषाको पठन–पाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो । चालू शैक्षिक–सत्रबाट च्यास्मिटारकै पिपलटार आधारभूत विद्यालयमा पनि तिलुङ भाषामा पठन–पाठन सुरु गर्ने तयारी गरिएको छ ।
पिपलटार आधारभूत विद्यालयमा पाठ्यपुस्तक पुर्याउन बाँकी छ । लोपोन्मुख भाषाको संरक्षण र संबर्द्धनका लागि तिलुङभाषी विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा सोही विषयलाई ऐच्छिक विषयका रुपमा समावेश गरिएको हो । हालसम्म कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ राई बुगाकिमले जनाएको छ । राईमध्ये कम जनसंख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा पुगेको तिलुङभाषी विद्यार्थीको बाहुल्यता भएका अन्य विद्यालयमा क्रमशः भाषाको पठन–पाठन हुने नगरपालिकाले जनाएको छ ।
२०७० जेठ १३ र १४ गतेको काठमाडौंमा भएको भेलाले पहिलोपल्ट तिलुङ भाषाको बर्ण निर्धारण तथा पहिचान गरेकाे थियो । यस्तै, आफ्नो भाषालाई पुस्तकमा दस्ताबेजीकरणका लागि २०७१ वैशाख तेश्रो साता च्यास्मिटारका तिलुङभाषी बुढापाकालाई काठमाडाै‌ लगेर तिलुङ भाषाको शब्द संकलन गरिएको थियो । तिलुङ भाषाको संरक्षणका लागि २०६८ साल साउन ७ गते चावहिलमा भएको भेलाले पहिलोपल्ट हिमालसेर तिलुङ राईको संयोजकत्वमा तिलुङ भाषा तथा संस्कृति उत्थान समिति गठन गरेको थियो ।
खोटाङको च्यास्मिटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवा तथा उदयपुरको लेखगाउँ, बाँसबोटे, रिस्कु, रुपटार, ठानागाउँ, तावाश्री, ओखलढुंगाको सल्ले, सिराहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौंलगायतका ठाउँमा तिलुङ राईको बसोबास छ । हाल तिलुङ भाषाको अस्तित्व संकटमा परेको छ । राम्ररी तिलुङ भाषा बोल्न जान्ने केही बुढापाकाहरु खोटाङको च्यास्मिटार र उदयपुरका केही गाउँमा मात्र बाँकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन