बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

खोटाङमा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु

मङ्गलबार, २१ असार २०७९, १० : ००
मङ्गलबार, २१ असार २०७९

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा चालू शैक्षिक सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठन–पाठन सुरु गरिएको हो । तिलुङ भाषाको पठन–पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले विद्यालयलाई हस्तान्तरण गरेकी छिन् । 

तिलुङ भाषाको पठन–पाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो । चालू शैक्षिक–सत्रबाट च्यास्मिटारकै पिपलटार आधारभूत विद्यालयमा पनि तिलुङ भाषामा पठन–पाठन सुरु गर्ने तयारी गरिएको छ ।

पिपलटार आधारभूत विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन बाँकी छ । लोपोन्मुख भाषाको संरक्षण र संबर्द्धनका लागि तिलुङभाषी विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा सोही विषयलाई ऐच्छिक विषयका रुपमा समावेश गरिएको हो । हालसम्म कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ राई बुगाकिमले जनाएको छ । राईमध्ये कम जनसंख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा पुगेको तिलुङभाषी विद्यार्थीको बाहुल्यता भएका अन्य विद्यालयमा क्रमशः भाषाको पठन–पाठन हुने नगरपालिकाले जनाएको छ । 

 २०७० जेठ १३ र १४ गतेको काठमाडौंमा भएको भेलाले पहिलोपल्ट तिलुङ भाषाको बर्ण निर्धारण तथा पहिचान गरेकाे थियो । यस्तै, आफ्नो भाषालाई पुस्तकमा दस्ताबेजीकरणका लागि २०७१ वैशाख तेश्रो साता च्यास्मिटारका तिलुङभाषी बुढापाकालाई काठमाडाै‌ लगेर तिलुङ भाषाको शब्द संकलन गरिएको थियो । तिलुङ भाषाको संरक्षणका लागि २०६८ साल साउन ७ गते चावहिलमा भएको भेलाले पहिलोपल्ट हिमालसेर तिलुङ राईको संयोजकत्वमा तिलुङ भाषा तथा संस्कृति उत्थान समिति गठन गरेको थियो । 

खोटाङको च्यास्मिटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवा तथा उदयपुरको लेखगाउँ, बाँसबोटे, रिस्कु, रुपटार, ठानागाउँ, तावाश्री, ओखलढुंगाको सल्ले, सिराहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौंलगायतका ठाउँमा तिलुङ राईको बसोबास छ । हाल तिलुङ भाषाको अस्तित्व संकटमा परेको छ । राम्ररी तिलुङ भाषा बोल्न जान्ने केही बुढापाकाहरु खोटाङको च्यास्मिटार र उदयपुरका केही गाउँमा मात्र बाँकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप