शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका विपद् पीडितलाई बीमा रकम भुक्तानी

मङ्गलबार, २१ असार २०७९, ०८ : ४१
मङ्गलबार, २१ असार २०७९

कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद् पीडितलाई रु ७८ लाख बीमा रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक २०७८/७९ को गत साउन १ गतेदेखि असारसम्म बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतक परिवारका ३९ जना हक वालालाई रु ७८ लाख भुक्तानी गरेको हो । 

यहाँका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए । “अहिलेसम्म हामीकहाँ आएका ५३ विपद् पीडित​मध्ये ३९ जनाले रकम प्राप्त गरिसकेका छन्”, उनले भने, “१४ मृतक परिवारलाई दिन बाँकी छ र उनीहरूको पनि अब छिट्टै भुक्तानी हुँदैछ ।” मृतक परिवार तथा स्थानीय तहबाटै कतिपय फाइल ढिला आउँदा र विपद्बाट मृत्यु हुनेको सङ्ख्या थपिँदै जाँदा पीडित सबैको एकैचोटी भुक्तानी हुन नसकेको उनले बताए ।

राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशका प्रमुख शिवराज बिसीले ३९ मृतकका सबै खुल्ने कागजात आइसकेकाले सम्बन्धित हक वालालाई भुक्तानी गरिएको र पाँच जनाको केही कागजात नपुगेको बताए । आठ जनाको भर्खरै आवश्यक कागजात प्राप्त भएकाले सबै प्रमाण हेरेर जतिसक्दो चाँडो भुक्तानी दिइने प्रदेश प्रमुख बिसीले जनाए ।

आन्तरिक मामिला मन्त्रालय विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायले चालु आव २०७८÷७९ मा विपद्बाट सबैभन्दा बढी जाजरकोटमा १७ जनाको बाढी र पहिरोबाट ज्यान गएको जानकारी दिए। त्यस्तै हुम्लामा बाढी, पहिरो र हावाहुरीबाट सात, कालिकोटमा पहिरो र भिरबाट खसेर पाँच जनाको मृत्यु भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप