प्रदेश १ को नाम छिटो टुङ्ग्याउन दलहरु दबाबमा, कोशी र सगरमाथामा पनि विवाद
प्रदेश १ को नाम टुङ्गो लगाउन प्रदेशसभाका ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसले छलफललाई तीव्रता दिएका छन् । प्रदेशसभा सचिवालयमा सोमबार (आज) भएको छलफलमा नेकपा एमालेले काँग्रेससँग औपचारिक रुपमा ‘कोशी’ प्रदेशमा सहमति जनाउन प्रस्ताव गरेको छ ।
नेपाली काँग्रेसले भने सत्ता गठबन्धनका अन्य दलहरु उक्त नाममा असहमत रहेको बताउँदै विकल्प खोज्न एमालेलाई सुझाव दिएको छ । छलफलमा सहभागी काँग्रेसका एक नेताका अनुसार एमालेले प्रदेशको नाम ‘कोशी’ राख्न प्रस्ताव गरेको थियो । तर काँग्रेसले भूगोलकै आधारमा राख्ने भए कोशीको विकल्प खोज्न भनेको उनले जानकारी दिए ।
बैठकमा नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता भीमप्रसाद आचार्य, संसदीय दलका उपनेता यशोदा अधिकारी, पूर्वमन्त्री जीवन घिमिरे, राजकुमार ओझा र जगदीश प्रसाद कुसियत सहभागी थिए भने काँग्रेसका तर्फबाट संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई, सांसदहरु लोकप्रसाद संग्रौला र शिवनारायण गनगाई सहभागी थिए ।
‘आजको बैठकले प्रक्रियामा लगेर भए पनि नामको विषय टुङ्ग्याउनु पर्छ भन्ने सहमति भएको छ,’ काँग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले भने, ‘प्रदेशसभा छिटो बोलाउन सभामुख र मुख्यमन्त्रीलाई आग्रह गर्ने पनि निर्णय भएको छ ।’
राईका अनुसार नामको विषयमा विभिन्न विकल्पमा खुल्ला रहने दुई दलबीच सहमति भएको छ । ‘कोशी, सगरमाथा वा किराँत जे भए पनि नामको विषयमा खुल्ला रहने र छलफल गर्न सहमत भएका छौं,’ उनले भने ।
यता नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले पनि छलफलमा दुवै दलका नेतालाई छिटो नामको विषय टुङ्ग्याउन दबाब दिएको बताए । ‘हामीले नामको विषय छिटो टुङ्ग्याउन दबाब दिएका छौं, प्रक्रियामा लाने भए प्रक्रियामा जाउँ भन्ने हिसावले दुवै दलका समितिहरुबाट सुझाव पेस गरिएको छ,’ कार्कीले भने, ‘नामको विषयमा ठोस ढङ्गले यही राख्ने भन्ने विषयमा छलफल भएन ।’
नेपाली काँग्रेस संसदीय दलले नामको विषयमा छलफल गर्न संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा यसअघि नै समिति निर्माण गरेको छ । उक्त समितिमा कोइरालासहित, केदार कार्की, सूयर्माराज राई, शेखरचन्द्र थापा, लोकप्रसाद संग्रौला र शिवनारायण गनगाईं छन् । यद्यपि नामको विषयमा निर्णय गर्ने अधिकार कोइरालालाई दिएको काँग्रेसले जनाएको छ ।
यता नेकपा एमालेले पूर्व मन्त्री तथा प्रदेश सांसद हिक्मतकुमार कार्कीको संयोजकत्वमा जीवन घिमिरे, उषाकला राई, राजकुमार ओझा, जगदीशप्रसाद कुसियत रहेको समिति निर्माण गरेको छ । उक्त समितिले एक चरणको वार्ता तथा छलफल गरिसकेको छ ।
‘हामीले एमाले र काँग्रेसका नेताहरुलाई अन्य दल माओवादी, नेकपा एकीकृत समाजवादीसँग पनि छलफल अगाडि बढाउन भनेका छौं,’ कार्कीले भने, ‘छिट्टै सर्वदलीय बैठक राख्न सुझाव दिएका छौं ।’
यता सरकारका तर्फबाट वार्ता तथा छलफल समितिका संयोजक जयराम यादवले २४ गतेका लागि सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भइरहेको बताए । ‘हामी गठबन्धन दलबीच २४ गतेलाई बैठक राखौं भन्ने अनौपचारिक छलफल भएको छ, प्रतिपक्षी दलसँग आवश्यक परामर्श गरेर सर्वदलीय बैठक राख्नेछौँ,’ उनले भने ।
अहिले प्रदेशको नाम कोशी, सगरमाथा, किराँत, विराट, विजयपुर, कञ्चनजङ्घा लगायतका नामबारे छलफल भइरहेको छ । प्रदेशसभाका सांसदहरुले पनि यही अधिवेशनबाट प्रदेशको नामकरणको टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामकरण भइसकेको छ ।
प्रदेश १ प्रदेशसभाको कार्यकाल सकिन केही महिनामात्रै बाँकी छ । प्रदेश १ ले राजधानी कहाँ राख्ने भन्ने विषयमा ठोस गरे पनि नामकरणको विषयमा १० वटा अधिवेशनभर चर्चामात्रै रह्यो । प्रदेश १ को नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच सहमति भएको छैन ।
संवैधानिक व्यवस्था अनुसार प्रदेशको नामकरण टुङ्गो लगाउन प्रदेशसभामा दुई तिहाई बहुमत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ३८, काँग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीको १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १÷१ जना गरी ८९ जना सांसद छन् ।
प्रदेशको नाम पहिचानको आधारमा ‘किराँत–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न जनता समाजवादी पार्टीले यसअघि नै प्रस्ताव गरेको छ । तर, ठुला दलहरु काँग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले भने आ–आफ्नो पार्टीमा नामको विषय टुङ्गो लगाउन अझै सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन