शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला अस्पतालले पाएन स्वास्थ्य बिमाको एक करोड रकम

सोमबार, २० असार २०७९, २१ : २४
सोमबार, २० असार २०७९

लमजुङ जिल्ला अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीहरूको उपचार बापत करिब एक करोड रुपैयाँ भुक्तानी नहुँदा समस्या भएको अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा गरेका व्यक्तिहरूको उपचार गरेबापत ९८ लाख चार हजार दुई सय ५३ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको हो ।

गत आर्थिक वर्षको जेठ महिनाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा नौ हजार सात सय ७६ जनाले जिल्ला अस्पतालमा उपचार सेवा लिएका हुन् । स्वास्थ्य बिमा गरेकाहरूको उपचारमा एक करोड ४२ लाख ४० हजार तीन सय ४९ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ । सोमध्ये हालसम्म ४४ लाख ३६ हजार ९५ रुपैयाँ मात्रै पाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । सरकारले अघिल्लो आर्थिक वर्षदेखिनै सामाजिक न्यायमा आधारित स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । 

कार्यक्रम सुरुभएसँगै जिल्लामा १४ हजार बढीले स्वास्थ्य बिमा गरेको पाइएको छ । नेपाली नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेसँगै नौ हजार भन्दा बढीले सोही सेवाअन्तर्गत उपचार गराएका हुन् । सरकारको नीति र निर्देशन अनुसार बिमितहरूको उपचार सेवा दिए पनि सम्बन्धित निकायले लामो समयसम्म रकम उपलब्ध नगराउँदा समस्या भएको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।

बिमितहरूको उपचार बापतको रकम स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराउनुपर्ने भए पनि पटक पटक पहल गर्दासमेत रकम उपलब्ध नभएको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ । समयमै रकम उपलब्ध नगराउँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ । सरकारको लोकप्रिय कार्यक्रम भए पनि सम्बन्धित निकाय जिम्मेवार नबन्दा दीर्घकालीन प्रभाव पर्ने अस्पतालको बुझाई छ । गत वर्षबाट मात्रै सुरु भएको यस कार्यक्रमका लागि जिल्लाका ७५ वटै वडा मार्फत जनशक्ति परिचालन गरी स्वास्थ्य बिमा अभियान कार्यान्वयनमा आएको हो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा करिब सात हजार परिवार सहभागी भएको पाइएको छ । 

सरकारले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बिमा नीति वि.सं. २०७१ को दीर्घकालीन लक्ष्य अनुसार कार्यक्रम अघि बढाएको हो । स्वास्थ्य बीमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप ७०० बिमा रकम तिर्नुपर्ने व्यवस्था छ । स्वास्थ्य बिमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बिमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा पनि पाउने छन् । 

त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु एक लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य २० हजार थप गरी दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था पनि रहेको छ । कुनै पनि परिवारमा पाँच जनाले स्वास्थ्य बिमा गरेका छन् भने पाँचवटै कार्ड तथा परिचय पत्र स्वास्थ्य बिमाले उपलब्ध गराउने छ । उक्त परिचय पत्रको आधारमा नै बिरामी पश्चात् तोकिएको रकम बराबरको सेवा लिन सकिने व्यवस्था छ । स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य बिमा ऐन वि.सं. २०७४ र स्वास्थ्य बिमा नियमावली वि.सं. २०७५ जारी भई कार्यान्वयनको चरणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप