मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–माधव १६ महिनापछि जोडिने प्रयासमा

सोमबार, २० असार २०७९, २० : ५६
सोमबार, २० असार २०७९

२०७७ साल फागुन २४ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा तत्कालीन नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठक बोलाइयो । त्यसको ठिक एक दिन अघि फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।

साविकको नेकपामा केपी शर्मा ओलीको स्वेच्छाचारिताविरुद्ध संघर्षमा सहकार्य गरेका प्रचण्ड–माधव त्यतिबेला औपचारिक रुपमा अलग हुने गरी बिदाइ भेट गर्दै थिए । किनकि सर्वोच्च अदालतको फैसला अनुसार नेकपा खारेज भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आउने वातावरण बनेको थियो । त्यो अवस्थामा माधवकुमार नेपाल पक्ष एमालेमै फर्कने तयारीमा थियो ।

तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बसेर माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष एमालेमै फर्किएर संघर्ष गर्ने निर्णय गरे भने प्रचण्ड पक्ष माओवादी केन्द्र पुनर्गठन गरेर जाने अवस्थामा पुगे । त्यही फागुन २४ गतेको स्थायी समिति बैठकबाटै प्रचण्ड–माधवले सहकार्य र समन्वय गर्दै अलग अलग बाटो हिँड्ने निर्णय गरे । त्यो बैठक नै प्रचण्ड र माधव पक्षको बिदाइ बैठक हुन पुग्यो ।

तत्कालीन नेकपाबाट प्रचण्ड–माधव छुट्टिएको १६ महिनापछि फेरि जोड्ने परिस्थिति निर्माण हुन थालेको छ । दुवै पक्षलाई जोड्ने पुलको रुपमा वामदेव गौतमले काम गरे । गौतमकै जोडबलमा तत्कालीन नेकपाको बहुमत सचिवालय बैठक ललितपुरको हात्तीवनमा बस्यो । गत आइतबार प्रचण्ड, माधवसहित झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ बैठकमा सामेल थिए ।

तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको बैठकमा पार्टी एकता गरेर जाने विषयमा कुराकानी भएको छ । सोही बैठकमा भएका छलफलका विषयमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले ब्रिफिङ गरेका छन् । सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच भएको छलफलबारे उनले जानकारी गराएका हुन् ।

‘अध्यक्षले पार्टी एकताका लागि आएको प्रस्तावबारे सामान्य ब्रिफिङ गर्नुभयो’, सचिवालय सदस्य प्रकाश ज्वालाले अध्यक्ष नेपालद्वारा बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै भने, ‘पार्टी एकताको प्रस्ताव सकारात्मक हो । तर यसमा अहिले नै निर्णयमा पुग्न सकिँदैन, पार्टीभित्र पनि छलफल गर्नुपर्छ ।’

तर, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले छलफल गर्दै गएमा माओवादीसहित अन्य घटक एक ठाउँमा हुने सम्भावना रहेको बताए । अहिले नै तत्काल एकीकृत हुने अवस्था भने नरहेको उनको भनाइ छ । ‘माओवादी, एकीकृत समाजवादी र वामदेवजीले नेतृत्व गरेको एकता अभियानलाई जोडेर एक ठाउँमा हुन सकिन्छ कि भनेर छलफल भएको छ,’ भुसालले भने, ‘तर, तत्काल एकता हुने सम्भावना छैन । छलफल गर्दै गएमा एक ठाउँमा आउने अवस्था छ ।’

तर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले तत्कालीन नेकपालाई जोड्ने प्रयास भए पनि प्रारम्भिक चरणमै भएकाले ठोस आकार लिइनसकेको बताए । केपी ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिगामी कदम चालेपछि भएको गठबन्धन अर्को भरपर्दो विकल्प नहुँदासम्म कायम राखेरै जाने सहमति भएको श्रेष्ठले बताए ।

माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलहरूलाई जोड्ने विषयले मूर्त रुप भने लिई नसकेको उनको भनाइ छ । ‘हामी पाँच जना भेटेर पछिल्लो परिस्थितिको समीक्षा र छलफल भयो । नेपालको राष्ट्रियताको अवस्था, त्यसमा देखा परेका समस्याहरु, देशको कम्युनिस्ट आन्दोलनका समस्याका  विषयमा छलफल गरियो,’ रातोपाटीसँग श्रेष्ठले भने, ‘संविधान र समाजवादको प्रश्न, काँग्रेस र गठबन्धनका बारेमा विभिन्न कोणबाट छलफल गरियो । राष्ट्रियताको प्रश्नमा कतिपय विषय सच्याउन सफल भए पनि अझै राष्ट्रियतामा गम्भीर संकट नै छ । त्यसबाट देशलाई बचाउनु पर्ने छ ।’

नेपालका कम्युनिस्ट आन्दोलन कमजोर भएर गइरहेको अवस्थामा कसरी सुदृढ र एकतावद्ध गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको श्रेष्ठले बताए ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले निश्चित एजेण्डामा छलफल भइरहेकाले तत्काल माओवादी र एकीकृत समाजवादी जोडिन गाह्रो हुने बताए । तर, नेताहरु छलफल गर्दै गए माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत शक्तिहरूबीच सहकार्य गर्ने वातावरण बन्न पनि सक्ने उनले बताए ।

बहुमत सचिवालय सदस्यको बैठकको औचित्य

सर्वोच्चको फैसलापछि माधव नेपाल एमालेमै फर्किएर संघर्ष गर्ने निर्णय गरेपछि सबैभन्दा बढी चेपुवामा परे । अन्त्यमा उनलाई साथ दिएका घनश्याम भुसालसहित १० स्थायी समिति सदस्य एमालेमै बस्ने निर्णय गरे । तर माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष एमालेमा फर्किन नसकिने भन्दै नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेर अघि बढे ।

यता, प्रचण्डले भने आफ्नो पुरानै माओवादी टीम लिएर अघि बढे । वामदेव गौतम कतै नगई नेकपा एकता राष्ट्रिय अभियान अघि बढाए ।

काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनाएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । गत वैशाख ३० गतेको स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन बनाएरै यी पाँच दल चुनावमा होमिए । परिणामस्वरुप एमालेको आकार खुम्चियो ।

अब हुने प्रदेश र संघको चुनावमा पनि यो गठबन्धन कायम राख्ने नेताहरुको भनाइ छ । यद्यपि चुनावी तालमेलका विषयमा ठोस निर्णय भइसकेको छैन । तर, एमालेलाई तर्साउन र काँग्रेससँग बार्गेनिङ पावर बढाउन साविकको नेकपाका बहुमत सचिवालय सदस्य एकजुट भएका छन् ।

तत्कालीन नेकपा जोड्ने प्रयासमा गौतम  

तत्कालीन नेकपालाई जोड्न सबैभन्दा बढी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले दौडधूप गरेका छन् । गौतम नेतृत्वको अभियानले तत्कालीन नेकपा जोड्न प्रयास गर्ने निर्णय गरेसँगै शीर्ष नेताहरुसँग भेटघाटसमेत गरेका छन् । गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर एकता गर्न दबाब दिएका थिए ।

गौतमको प्रस्तावमा ओली मौन भए भने नेपाल र प्रचण्डले सकारात्मक रुपमा लिए । प्रचण्ड र माधवले गौतमको पहललाई सकारात्मक लिने निर्णय भए लगत्तै तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यको बैठक ललितपुरका हात्तीवनमा बसेको थियो । सोही बैठकका आधारमा माओवादी र एकीकृत समाजवादीले एकताका लागि छलफल र बहस गर्दै जाने सहमति गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप