अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी मौद्रिक नीति आउछ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताए । गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरूले ल्याएका सिद्धान्तहरू नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरेपनि सम्भव नहुँदा साउनको पहिलो साता ल्याउने बताए । गभर्नर अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्चहरू बढ्दै जाने अवस्था भइरहेको बताए । उनले पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृत्तिमा सुधार नआएको बताए ।
गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको जिकिर गरे । उनले अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिव ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको बताए । पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको उनको भनाइ छ । उनले बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीहरुले सहनुपर्ने बताए ।
गभर्नर अधिकारीले सरकार, राष्ट्र बैंक निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले मौद्रिक नीतिहरु सर्पपनि मरोस्, लठ्ठी पनि नभाँचियोस् भन्ने गरी ल्याउनुपर्ने अवस्था रहेको बताए । गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको दाबी गरे । उनले मौद्रिक नीति ल्याउँदा व्यक्ति व्यक्तिको पछि लागेर सम्भव नहुने भन्दै भोलिको मार्केटलाई सहज, समग्र अर्थतन्त्रलाई पनि सही ट्रयाकमा राख्ने र अर्थतन्त्रको समग्र प्रणालीलाई स्थायित्व दिने राष्ट्र बैंकले तयारी गरिरहेको बताए । गभर्नर अधिकारीले अहिलेको बैंकिङ तरलता कम गर्न राष्ट्र बैंकले झन्डै ११२/१३ अर्बको रिफाइनान्स, झन्डै २५० को एससेलएफ सुविधामार्फत साढे ३ खर्ब बैंकहरुलाई दिएको बताए ।
गभर्नर अधिकारीले बैंकहरुमा १० लाख भन्दा बढी रकम जम्मा गर्न हुँदैन भन्ने उद्योगी व्यवसायी र बैंकर्सहरु समेत दुविधामा रहेको बताए । उनले राष्ट्र बैंक र बैंकहरुले त्यस्तो नीति नल्याएकाले १० लाख भन्दा बढी पैसा राख्नहुन्न भन्न नमिल्ने बताए । गभर्नर अधिकारी बैंकले टिटिआर रिपोर्ट अर्थात बैंकको ग्राहकले एक दिनमा १० लाख पैसा जम्मा ग¥यो भन्नको लागि कारण खुलाउनुपर्ने बताए । उनले अहिले १० लाखभन्दा बढी पैसा बैंकमा जम्मा गर्नहुन्न भनेर ९ लाख ९९ हजार तीन पटकसम्म गरेर जम्मा गर्ने अभ्यास कसैले नगर्न आग्रह गरे ।
गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरु अवैधानिक माध्यमबाट पैसा कमाउने कुरामा सतर्क रहनुपर्ने भन्दै उद्योग खोलेर,अरुलाई रोजगारी र राज्यलाई कर तिरेको जति पनि पैसा बैंकमा जम्मा हुने बताए । उनले अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत बाहिर ल्याउँछु भन्ने सोच्न नहुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने