बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

४६ माओवादी केन्द्रीय सदस्य ‘खुला छलफल’मा सहभागी, मंगलबार प्रचण्डले जवाफ दिने

सोमबार, २० असार २०७९, १७ : ५४
सोमबार, २० असार २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ४६ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमाथि सोमबार चलाइएको खुला छलफल (ओपन डिस्कसन) मा सदस्यहरुले आ–आफ्नो धारणा राखेका हुन् । 

छलफलमा उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले मंगलबार जवाफ दिने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ । मंगलबार बिहान ११ बजे बैठक बसेपछि प्रचण्डले जवाफ दिनेछन् भने अन्य वरिष्ठ नेताहरुले पनि सम्बोधन गर्नेछन् । त्यसपछि बैठकका अन्य एजेण्डामा छलफल चलाइनेछ । 

छलफलमा केन्द्रीय सदस्यहरु हरिबोल गजुरेल, ओम शर्मा, लक्ष्मण पन्त, पञ्चा सिंह, मुक्ति प्रधान, देवी खड्का, परशुराम तामाङ, रामदीप आचार्य, मातृका यादव, बलावती शर्मा, मानबहादुर बुढा, गणेशमान पुन, झक्कु सुवेदी, सुदन किराती, अमृता थापा, खेलप्रसाद बुढाथोकी लगायतले आ–आफ्नो धारणा राखेको एक नेताले जानकारी दिए । 

बैठकमा मूलतः आगामी चुनावमा पार्टीलाई सशक्त बनाएर अघि बढ्नुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिएका छन् । तालमेल गरेर चुनावमा जाँदा पार्टीले सम्मानजनक सिट पाउनुपर्नेमा पनि सदस्यहरुले जोड दिएका छन् । तर, तालमेलभन्दा पनि पहिलो प्राथमिकता एक्लै चुनावमा जानेगरी पार्टीलाई बलियो बनाइनुपर्नेमा उनीहरुको जोड छ । 

यस्तै पार्टी पदाधिकारीको चयन तत्काल गरिनुपर्ने, विदेश नीतिमा पार्टी स्पष्ट हुनुपर्ने, शहरी क्षेत्रमा पार्टीको उपस्थिति बढाउन विशेष कार्यक्रम सञ्चालन गरिनुपर्ने, पार्टी सञ्चालन गर्न कार्यविधि बनाइनुपर्ने, ७५३ वटा पालिकामा केन्द्रीय सदस्यलाई खटाइनुपर्ने, स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गरिनुपर्ने आवाज पनि बैठकमा उठेको छ ।  अन्तर्घातीलाई कारबाही नगरिए पार्टीलाई थप घाटा हुने पनि केन्द्रीय सदस्यहरुको धारणा छ ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको बैठकमा प्रचण्डले १० पन्ने राजनीतिक प्रतिवेदन र छलफलका ९ एजेण्डा प्रस्तुत गरेका थिए ।  माओवादीमा यसअघि प्रतिवेदनमा समूहगत छलफल हुँदै आएकामा यस पटक खुला छलफलको अवधारणा ल्याइएको हो । त्यसमा प्रचण्डले आफ्नो धारणा राख्न केन्द्रीय समिति सदस्यहरूलाई २ मिनेटको समय दिएका थिए । तर, सदस्यहरुले लामो बोल्दा पटक पटक प्रचण्डले छोट्याउन आग्रह गर्नुपरेको एक सदस्यले बताए । 

प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप