बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घोषणा नहुँदै लाग्यो दलहरुलाई चुनाव !

सोमबार, २० असार २०७९, १६ : ५८
सोमबार, २० असार २०७९

मिति घोषणा नहुँदै आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । पछिल्ला दिनमा विभिन्न साना ठुला राजनीतिक दलदेखि स्वतन्त्र समूहहरु चुनाव केन्द्रित क्रियाकलापमा जुटेका हुन् ।

सरकारले निर्वाचन आयोगसँगको समन्वयमा आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साता चुनावको मिति तोक्ने तयारी गरिरहेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै राजनीतिक दल र सरोकारवालाहरु चुनाव केन्द्रित गतिविधिसँगै आ–आफ्नो तयारीमा लागेका हुन् ।

२०७४ सालमा सम्पन्न निर्वाचनबाट चुनिएका प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल आगामी मंसिरमा सकिने भएपछि मंसिर महिनाभित्रै अर्को निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । सोही व्यवस्था अनुसार निर्वाचन हुने भएकाले राजनीतिक दल तथा उम्मेदवार आकांक्षीहरुको ध्यान निर्वाचन केन्द्रित बन्न पुगेको हो । निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु आन्तरिक तयारीसँगै अन्य पार्टीसँगको गठबन्धन, तालमेल वा सहकार्य कसरी र कस्तो बनाउने भन्ने रणनीतिक योजना तर्जुमा गरिरहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको नेतृत्वमा सत्तारुढ पाँच दलीय गठबन्धन बनेको थियो, जसमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मिलेर चुनाव लडेका थिए । सत्तारुढ गठबन्धनको विपक्षमा प्रमुख प्रतिपक्ष नेकपा एमाले नेतृत्वमा अर्को गठबन्धन गरेको थियो । एमाले नेतृत्वको गठबन्धनमा लोसपा, राप्रपा, सीके राउत नेतृत्वको जनमत पार्टी, परिवार दल आवद्ध थिए । यद्यपि एमालेले यसलाई गठबन्धन नभएर ‘छिटपुट तालमेल’ भन्दै आएको छ ।

काँग्रेस र एमाले दुवै नेतृत्वको गठबन्धनमा सहभागी दलहरु स्थानीय निर्वाचन परिणामप्रति खासै सन्तुष्ट हुन सकेनन् । जसले गर्दा अब हुने निर्वाचनमा विगतको समीकरण फेरिन सक्ने आकलन समेत हुन थालेको छ । गठबन्धनभित्र उपगठबन्धनको चर्चा एकातिर भइरहेको छ भने अर्कोतिर वाम गठबन्धनको पनि चर्चा भइरहेको छ । यद्यपि यसबारेमा दलहरुबीच अहिलेसम्म ठोस सहमति भइसकेको छैन ।

एमालेलाई विरासत जोगाउने चुनौती 

२०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १२१ सीट जितेर सबैभन्दा ठुलो दल बनेको नेकपा एमालेलाई अबको निर्वाचनमा पनि ठुलो दलको हैसियत कायम राख्दै पुरानो विरासत जोगाउने चुनौती छ । त्यसका लागि एमालेले चुनौतीका रुपमा खडा भएको हालको सत्ता गठबन्धन भत्काउने पहिलो योजना बनाएको छ ।


 

सत्ता गठबन्धन भत्काउन नसके ठुलो दलबाट खुम्चनुपर्ने आन्तरिक विश्लेषण गरेको एमालेले आगामी निर्वाचनमा गठबन्धनबिनै प्रतिस्पर्धा गर्ने बताउँदै आएको छ ।

स्थानीय निर्वाचन सकिएसँगै पार्टीका नेता कार्यकर्ताहरुलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको सो पार्टीले असार महिनाभित्र केन्द्रीयस्तरमा स्थानीय निर्वाचनको समीक्षा सक्ने र साउन महिनाबाट पार्टीको पूरै शक्ति आगामी निर्वाचन केन्द्रित गर्ने तयारी गरेको छ ।

असार १९ गते आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सातै प्रदेश तथा जिल्लामा प्रशिक्षण गर्नेदेखि प्रभावकारी प्रचार संयन्त्र परिचालनको नीति बनाएको छ । जसमा पार्टीको एप प्रयोग गर्नेदेखि मिडिया हाउससँगको समन्वय वृद्धि गर्ने र सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्ने एमालेको निर्णय छ ।

प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने, ‘यो बाहेक मतदातासँगको पार्टीगत सम्बन्ध नजिक बनाउने र उनीहरुको मन जित्ने कार्यक्रम बनाउँदै लगिने छ ।’

पहिलो पार्टी बन्ने काँग्रेसको योजना 

नेपाली काँग्रेसले स्थानीय निर्वाचनको समीक्षा तथा प्रदेश र संघीय निर्वाचनको रणनीति बनाउन मंगलबार पदाधिकारी बैठक बोलाएको छ ।

काँग्रेस प्रवक्ता डा. प्रकाशरण महतका अनुसार पदाधिकारी तहमा छलफल गरेर उक्त विषयलाई केन्द्रीय कार्यसमितिको एजेण्डा बनाइने छ । काँग्रेसले २७ गते दिउँसो १ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा स्थानीय निर्वाचनपछि पहिलो पटक बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो ।

उक्त बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र संघको चुनावी रणनीति, पार्टीको आन्तरिक संरचना निर्माण लगायतका विषयमा छलफल हुने महतले बताए । ‘स्थानीय निर्वाचनको परिणाम र भएका कमजोरीको समीक्षा हुन्छ,’ उनले रातोपाटीसँग भने, ‘बैठकमा पार्टीभित्र र गठबन्धनमा देखिएको कमजोरीको खोजी हुन्छ ।’

स्थानीय निर्वाचनको परिणामले प्रदेश र संघको निर्वाचनमा गठबन्धन गरेर जाने बलियो आधार तय गरेको उनको भनाइ छ । उनले भने, ‘स्थानीय निर्वाचनको परिणामले प्रदेश र संघको निर्वाचनमा गठबन्धन गरेर जाने बलियो आधार बनेको छ । पार्टीभित्र र गठबन्धनमा केही कमी कमजोरी सच्याएर जानुपर्ने देखिन्छ ।’

चाँडै पार्टीका सबै संरचना गठन गरेर आसन्न चुनावमा सशक्त ढंगले जाने तयारी भइरहेको महतको भनाइ छ । भ्रातृ संस्था र पार्टीका विभाग गठन गरेर कार्यकर्तालाई जिम्मेवारीका साथ चुनावी अभियानमा पठाउने योजना काँग्रेसको छ । एमालेमा आएको विभाजनको फाइदा उठाउँदै काँग्रेस यो पटक पहिलो पार्टी बन्ने रणनीतिमा छ । अघिल्लो निर्वाचनमा ६३ सीटसहित दोस्रो ठुलो दल बनेको काँग्रेसलाई वामपन्थी दलहरु मिलेर चुनावी गठबन्धन गर्छन् कि भन्ने त्रास छ । त्यसैले उसले हालको सत्ता गठबन्धनलाई कायमै राख्ने प्रयास गरिरहेको छ ।

दोस्रो दल बन्ने माओवादी आँकलन

अघिल्लो संसदीय निर्वाचनमा तेस्रो ठुलो दल बनेको नेकपा माओवादी केन्द्र पनि पार्टीको सम्पूर्ण शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्ने भएको छ । त्यसका लागि माओवादीले संगठनात्मक कामलाई पूर्णता दिएर अघि बढ्ने योजना बनाएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दस्तावेजमै उल्लेख गरेका छन् ।

आइतबार काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा १० पेजको संक्षिप्त प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले आठौँ राष्ट्रिय महाधिवेशनको संगठनात्मक कार्यदिशालाई लागु गर्न पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गरी केन्द्रीय समितिलाई पूर्णता दिँदै आगामी निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

अध्यक्ष प्रचण्डले खासगरी राष्ट्रिय राजनीतिक एजेण्डाका आधारमा माओवादी पार्टी पहिलो रहे पनि गणितीय संख्याका कारण तेस्रो स्थानमा रहेको भन्दै अग्रगामी विचार, संगठन, शक्ति र नेतृत्वको तादाम्यता गराउँदै आगामी निर्वाचनमा पूरै पार्टीपंक्ति केन्द्रित गर्ने बताएका छन् । त्यसका लागि प्रचण्डले ५ वटा कुरामा ध्यान दिन नेता कार्यकर्ताहरुलाई सुझाव दिएका छन् ।

प्रचण्डका ५ योजनामध्ये पहिलो सम्पूर्ण केन्द्रीय समितिका सदस्यलाई निर्वाचन केन्द्रित कार्यक्रम बनाई ठोस कार्यविभाजनसहित निर्वाचन क्षेत्रमा पठाउने । दोस्रो, संघ र प्रदेशमा जनसहभागितासहित चुनावी प्रतिबद्धता–पत्रको तयारी गर्ने । तेस्रो–संघीय तथा प्रदेश निर्वाचन क्षेत्रको तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने । चौथो, संयुक्त मोर्चा, गठबन्धनमा सहभागी दल र विपक्षीको अवस्थाको अध्ययन गर्ने । पाँचौं– निर्वाचन क्षेत्र आधारित संगठन परिचालन, स्थितिको आकलन र जनताको अपेक्षाको आधारमा निर्वाचनमा विजयी बन्ने रणनीति बनाउने उल्लेख छ ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्र १६५ मध्ये ५३ सीट जितेर संसदमा तेस्रो शक्ति बनेको थियो । अबको निर्वाचनमा दोस्रो शक्ति बन्ने माओवादीको योजना छ । त्यसका लागि उसले समाजवादी मोर्चा बनाएर अघि बढ्ने गृहकार्य समेत गरिरहेको छ ।

अस्तित्व रक्षाको लडाइँमा नेकपा एकीकृत समाजवादी

एमालेसँग विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी हाल संसदमा चौथो ठुलो दलका रुपमा छ । तर, यो पार्टी आफ्नै बलबाट निर्माण भएको भने होइन । हालसम्म ५०÷५५ जिल्लामा मात्रै पूर्ण संगठन विस्तार गरेको नेकपा एकीकृत समावादीले आगामी निर्वाचनसम्म सबै जिल्लामा आफ्नो संगठन विस्तार गरिसक्ने जनाएको छ ।

स्थानीय तह निर्वाचनमा गठबन्धनको भरमा २० पालिका जितेको यो पार्टीले झण्डै नौ लाख मत पाएको थियो । त्यसमा गठबन्धन घटकको मत घटाउँदा झण्डै साढे चार लाख मत आफ्नो रहेको यो पार्टीले आगामी निर्वाचनमा २० लाख मत ल्याउने दाबी गर्दै आएको छ ।

स्थानीय चुनावको समीक्षासहित आगामी चुनावको रणनीति तयार गर्न असार दोस्रो साता सम्पन्न समाजवादीको केन्द्रीय परिषद बैठकले दुई महिनाभित्रमा संगठन सुदृढीकरण अभियान सम्पन्न गर्दै चुनावमा जुट्ने निर्णय गरेको छ । सो पार्टीले संगठन विस्तार गर्दै आफ्नो बलबुतामै निर्वाचन लड्न हरप्रयास गर्ने बताए पनि गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेको छ ।

नेकपा एकीकृत समाजवादीले अबको निर्वाचन पार्टीको अस्तित्वसँग जोडिएकाले सोही अनुसार अघि बढ्ने रणनीति बनाउने तयारी गरेको छ ।

‘हाम्रा लागि अब हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन अस्तित्व रक्षाको प्रश्नसँग जोडिन्छ । त्यसैले हामी सम्पूर्ण शक्ति लगाएर यो निर्वाचनमा जतिसक्दो धेरै सीट जित्ने प्रयास गर्नेछौँ’, नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘पहिलो प्राथमिकता हाम्रो संगठन सुदृढीकरणमै छ र हुन्छ, त्यसपछि गठबन्धन र तालमेलको कुरा आउँछ ।’

जसपा र लोसपाको आ–आफ्नै तयारी

क्रमशः पाँचौँ र छैठौँ दल रहेका जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि चुनावी तयारी थालेका छन् । फुटको सँघारमा रहेको जसपा त्यसबाट बच्दै अघि बढ्ने तयारीमा छ भने लोसपा चुनावी तालमेलका लागि काँग्रेस र एमालेलगायतका दलहरुसँग संवादमा जुटेको छ । लोसपाको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको सवै शक्ति चुनाव केन्द्रित गतिविधिमा लक्षित गरेको कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले जानकारी दिए । चुनावका लागि काँग्रेस र एमाले दुवैले गठबन्धनका लागि प्रस्ताव गरे पनि निर्णय गरिनसकेको उनले बताए । ‘काँग्रेस र एमाले दुवैबाट चुनावी गठबन्धनका लागि प्रस्ताव आएको छ । तर जोसँग फाइदा हुन्छ, उसैसँग तालमेल हुन्छ,’ उनले भने, ‘छलफल भने दुवै दलसँग गर्छौँ ।’

साना र स्वतन्त्र पनि तात्दै

प्रमुख राजनीतिक दलबाहेक अन्य दल पनि चुनाव लक्षित गतिविविधमा केन्द्रित भएका छन् । राप्रपा, राप्रपा नेपाल, नेकपा माले, जनमोर्चा लगायतका दलहरु पनि आफूलाई फाइदा हुनेगरी आ–आफ्नो कार्ययोजनासहितको रणनीति बनाउन व्यस्त छन् । यी बाहेक स्वतन्त्र व्यक्तिहरुले समेत उम्मेदवारी दिने घोषणा गरिरहेका छन् ।

खासगरी काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । स्थानीय चुनावमा काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएपछि देशैभर स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरुले यही साता मात्रै ललितपुरमा भेला गरेर ‘मिसन १६५’ सार्वजनिक गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप