बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलमा चेकजाँच : नाबालकले लगाउने कपडाको बटन नै सुनको !

सोमबार, २० असार २०७९, १६ : ३२
सोमबार, २० असार २०७९

आज सोमबार बिहान ११ बजे दुवईबाट काठमाडौं आएका एक यात्रुको साथबाट नाबालकले लगाउने कपडाको बटन नै सुनको भेटिएको छ । ती यात्रुले आफ्नो साथमा लिएर आएको लगेज चेकजाँच गर्ने क्रममा उक्त लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाइ सुनको बटन ल्याइएको पाइएको हो ।

त्यसमा राखिएको ६० वटा सुनका रिङ् फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जानकारी दिएको छ । सुनसहित आएका यात्रुलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको भन्सार अधिकृत महेश भट्टराइले जानकारी दिए । त्यसरी नियन्त्रणमा लिएको सुनको तौल करिब १२५ ग्राम रहेको छ ।

सुमन दमाई नाम गरेका ती यात्रु भिजिट भिसामा दुबई गएका थिए । तर, रोजगारी नपाएपछि नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले उक्त सुन दिएको ती यात्रुको भनाइ छ । ‘आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोसाकहरू नेपालसम्म पुर्याइदिन अनुरोध गरेकाले बोकेर आएको हुँ,’ ती यात्रुले भने ।

सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाइछिपाइ ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनावद्ध ढङ्गबाट बटनभित्र सुनलाई फिट गरि पठाइएको हुनसक्ने कार्यालयको आशंका छ । यद्यपी यस कार्यमा हाल नियन्त्रणमा रहेका यात्रु सुमनको मात्र संलग्नता छ वा अन्य कुनै व्यक्तिको पनि भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप