शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा भाइरल बन्ने रोग कति घातक ?

सोमबार, २० असार २०७९, १६ : ०३
सोमबार, २० असार २०७९

भाइरल शब्द पहिला पहिला संक्रमण फैलिँदा विशेष गरी भाइरल ज्वरो भनेर जानिन्थ्यो, अहिले सो शब्द सामाजिक सञ्जालमा कुनै विषय छिटो र व्यापक रूपमा फैलिने कार्यलाई भाइरल भनेर चिनिन्छ । त्यही भाइरल शब्द अहिले भाइरल ज्वरोको संक्रमणको खतराभन्दा सयौं गुणा बढीको तीब्रतामा फैलिदो छ । यसले आम व्यक्तिको जीवनयापन र हाम्रो समाजलाई कहाँ पुर्याउने हो भन्न सक्ने अवस्था छैन ।

सामाजिक सञ्जाल टिकटकले अहिले हाम्रो समाजमा निकै भाइरल भएको छ । यतिसम्म कि राम्ररी युजर नेम र पासवर्ड राख्न नजान्नेको पनि अहिले टिकटक एकाउण्ट छैन भने त्यो नुन बिनाको तरकारी झैं होला । विशेष गरी पहिला पहिला महिलामा सुनका गरगहना देखाउने होडबाजी चल्थ्यो । त्यो प्रचलन अहिलेका युवतीमा करिब करिब बन्द भएको छ । बरु अहिले टिकटक लगायत सामाजिक सञ्जालमा कति फलोअर्स छन् भन्नेतिर समाज लम्किरहेको छ । अहिलेका युवाले देखाउने भनेको फलोअर्स हो । जमाना यस्तो आइसक्यो कि कुनै दिन दुलहा÷दुलही खोज्न पनि पलोअर्सको खोजी हुने समय नआउला भन्न सकिन्न ।

पहिला पहिला घरमा परिवारबीच सुखदुःखका कुरा हुन्थ्यो, योजनाका कुरा हुन्थ्यो । मायाप्रेमका कुरा हुन्थ्यो, कामका कुरा हुन्थ्यो । तर अहिले समाज बद्लियो, मानिसका विचार बदलिए । त्यो समय लगभग हराएर गयो, अहिले घरघरमा अहिले इन्टरनेट आतंक छ । सरसल्लाहको कुरा त टाढैको भयो, बोलचाल समेत बन्द छ । परिवारबिच सम्बन्ध टाढिदै गएको छ । परिवार एकै घरमा बसेको छ तर दिमाग, आँखा, हातको औंला भने स्मार्टफोनतिर छ । कुराकानी गर्ने फुर्सद छैन । सामाजिक सञ्जालमा ब्यस्त हुने प्रचलन बढ्दो छ । यो हरेकको पारिवारिक ठुलो रोग बन्दै गएको छ ।

हालै मात्र एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले हाम्रो सुन्दर घर बन्दैछ कस्तो लाग्यो ? भन्ने पोष्टमा उनैैको श्रीमतीले बुढा त्यो माथिको कोठाको झ्यालमा पिंक कलर लगाऔं है, मलाई मनपर्ने कलर हो भनी कमेन्ट राखेकी थिइन् । यो त एउटा उदाहरण मात्र हो । यस्ता धेरै अनावश्यक गतिविधि सामाजिक सञ्जालमा हेर्न पाईन्छ । कठै, यसले हाम्रो आउने पुस्ताको जीवनशैली कहाँ पो पुग्ला ?

त्यसो त सामाजिक सञ्जालको सही सदुपयोग गरी आफनो ब्यापार ब्यवसाय बढाएर आम्दानी गर्नेहरु पनि नभएको हैनन् । सामाजिक सञ्जाललाई सही सदुपयोग गर्न सकियो भने यसले जीवन सहज हुन्छ । त्यसैले, यसलाई समाजमा राम्रो सन्देश फैलाउने, समाजलाई जोड्ने संचारको कामको रुपमा मात्र प्रयोग गर्न सक्नुपर्छ । यसो गर्न सके सामाजिक सञ्जालको सदुपयोग भएको मान्न सकिन्छ ।

तर भाइरल हुने लोभले सामाजिक सञ्जालको विकृति बढ्दो छ । अहिले सामाजिक सञ्जालको वातावरण हेर्दा सायद धेरैले आफू भाइरल बन्न पाए हुन्थ्यो भन्ने लाग्दो हो । मानिसहरु झनझन भाइरल हुन र फलोअर्स बढाउने मनोरोगका कारण नाङ्गिन समेत पछाडि नपरेको गतिविधि टिकटकमा हेर्न सकिन्छ । पछिल्लो समय टिकटकमा भ्यूज आएन, लाइक आएन भनेर नितान्त ब्यतिmगत कुरा बेडदेखि किचन अनि चुम्बनदेखि अद्र्धनग्न भिडियो र तस्बिर राखेर भाइरल बन्ने होड चलेको छ ।

कतिले जानेर सामाजिक सञ्जाल चलाइरहेका छन् त कतिले अनजान अरुको देखासिकिमा प्रयोग गरेको पाइन्छ । पछिल्लो समय गाउँ गाउँमा इन्टरनेटको पहुँच पुगेपछि त गाउँमा अहिले भाइरल आतंक मच्चिएको छ । यस सम्बद्ध धेरै दुःखद घटना समेत भएका छन् । केही समय अघि सामाजिक सञ्जाल चलाउन अभिभावकले राम्रो मोवाइल नकिनिदिएकोले एकजना बालकले आत्महत्या समेत गरेका थिए । कतिको घरमा दिनहुँ यही कारणले झैंझगडा भैरहेको छ । यतिसम्म कि फलफुल, तरकारी गाईभैंसी बेचेर महँगो मोबाइल खरिद गरी टिकटकमा ब्यर्थको समय बिताउनेको संख्या उल्लेख्य छ ।

यसैबिच अहिले यूट्यूब र टिकटकमा एकजना बाजे भाइरल भैरहेका छन् । न त उनमा कला छ, न त गला छ तर उनै बाजेलाई अहिले सुन्ने, हेर्नेको लर्को छ । हुँदा हुँदा उनलाई टिभी सिरियलमा समेत खेलाउन थालियो । अहिले उनलाई गायक र मोडल बनाउनेको लामै लाईन छ । यतिसम्म कि पछिल्लो समयमा त उनलाई सामाजिक अभियानमा समेत प्रमुख अतिथि बनाउन थालियो । जबकि उनले बोल्ने अश्लील शब्दका कारण समाजमा विकृति विसंगति सिर्जना भैरहेको छ । हालै बाटोमा हिँडिरहेका स्कुलका बालबालिकाहरुको एक हुलबाट तीनै बाजेको चर्चा गर्दै हिँडेको पाइयो । उनले बोल्ने अश्लील शब्द प्रयोग गर्दै नक्कल गरेको सुन्दा म स्तब्ध भए । यही दुर्गतिले हाम्रो समाज अघि बढ्यो भने भावी पुस्ता कुन रुपमा आउने हो, भन्न सक्ने अवस्था रहेन । हाम्रा बच्चाहरुले कस्तो भाषा, कस्तो शिक्षा, संस्कार सिकिरहेका छन्, सोच्ने बेला आएन र ? आत्मासमीक्षा गर्ने बेला भएन र ?

हुन त यस्ता गतिविधिमा ती बाजेको दोष छैन, दोष त भाइरलका पछाडि दौडिरहेको हाम्रो समाज र डलर कमाउनका लागि जे पनि गर्ने केही यूट्यूबधारी समाजलाई बिगार्ने भाइरसहरुलाई जान्छ । जसले खोजीखोजी यस्ता पात्रलाई विना प्रसंग रातारात भाइरल बनाईदिन्छन् । समयको बेगसँगै फेरि यिनै  भाइरलहरुलाई सडकपेटीमा माग्ने बनाईदिन्छन् ।

सामाजिक सञ्जालको दुरुपयोगका कारण अहिले दिनहुँ मानिसहरु डिप्रेशनमा जानेको संख्या बढदो छ । अरुको देखासिकी गर्ने, भाइरल हुन खोज्नेहरुको त कुरा बेग्लै छ । विशेष गरी टिकटकमा भाइरल हुन अनेकन हर्कत गर्नेहरुको लामो लाइन छ । यस्ता हर्कतलाई समयमै निरुत्साहित गर्न नसकिए हाम्रो समाजमा एकदिन भयानक बिस्फोट हुने निश्चित छ । यसका लागि राज्यले नियमन गर्न जरुरी छ ।

लेखक सामाजिक अभियन्ता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप