शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाको जनसंख्यामा भइरहेछ ठूलो परिवर्तन, नयाँ जनगणनामा यी पाँच खुलासा

सोमबार, २० असार २०७९, १४ : ३६
सोमबार, २० असार २०७९

अष्ट्रेलियामा नयाँ जनगणनाको तथ्याङ्कले देशको जनसंख्यामा केही ठूला परिवर्तनहरू भइरहेको देखाउँछ । यसमा हिन्दु धर्म र त्यहाँ बस्ने नेपाली र भारतीयहरुको अवस्थाको बारेमा पनि नयाँ जानकारी आएको छ ।

अस्ट्रेलियामा हरेक पाँच वर्षमा जनगणना हुने गर्छ । पछिल्लो जनगणना २०२१ मा भएको थियो, जसको डाटा गत हप्ता जारी गरिएको थियो ।

नयाँ जनगणना अनुसार अष्ट्रेलियाको जनसंख्या साढे दुई करोडभन्दा बढी भएको छ । त्यहाँको जनसंख्या अब दुई करोड ५५ लाख पुगेको छ जुन सन् २०१४ मा दुई करोड ३४ लाख थियो । 

अर्थात् पछिल्लो पाँच वर्षमा २१ लाखले जनसंख्या बृद्धि भएको छ । योसँगै देशको औसत आम्दानी पनि केही बढेको छ ।

जनगणनाको तथ्याङ्कले आगामी समयमा देशलाई आकार दिन मद्दत गर्ने प्रवृत्तिहरू बारे थाहा पाउन पनि मद्दत गर्छ । यहाँ यस्ता पाँच परिवर्तनबारे कुरा गरिएकाे छ:

१.  हिन्दू र इस्लाम धर्म तीब्र रुपमा बढिरहेछ

अस्ट्रेलियामा पहिलो पटक आफूलाई क्रिस्चियन भनी वर्णन गर्नेको संख्या ५० प्रतिशतभन्दा कम भएको छ  ।

अस्ट्रेलिया ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार अहिले अष्ट्रेलियामा ४४ प्रतिशत मात्र क्रिस्चियनहरू छन् ।

यस्तै लगभग ५० वर्ष अघि इसाईहरूको जनसंख्या लगभग ९० प्रतिशत थियो ।

देशमा क्रिस्चियन धर्म मान्नेको संख्या अहिले पनि सबैभन्दा धेरै भए पनि त्यसपछि कुनै पनि धर्मलाई नमान्नेको संख्या दोस्रो स्थानमा छ ।

मुलुकमा कुनै पनि धर्म नमान्नेको संख्या अहिले ३९ प्रतिशत पुगेको छ र यसरी  ‘कुनै धर्म नमान्ने’ को संख्या ९ प्रतिशतले बढेको छ ।

हिन्दु र इस्लाम अब अष्ट्रेलियाको सबैभन्दा तीब्र गतिमा बढिरहेको धर्म हो ।

यद्यपि यी दुई धर्म मान्नेको संख्या ३–३ प्रतिशत मात्रै छ ।

तर पछिल्लो जनगणनासँग तुलना गर्दा दुवै धर्मका मानिसको संख्या बढ्दै गएको देखिन्छ ।

सन् २०१६ मा अष्ट्रेलियामा हिन्दु जनसंख्या (१.९ प्रतिशत) र मुस्लिम जनसंख्या (२.६ प्रतिशत) थियो ।

२. देशको विविधता बढिरहेछ

अष्ट्रेलिया अहिले पहिले भन्दा धेरै विविध हुँदै गएको छ । आधुनिक अष्ट्रेलियाको निर्माण आप्रवासन (बाहिरबाट आएर बस्ने) मार्फत् भएको हो । यद्यपि, देशको आधाभन्दा बढी जनसंख्या या त विदेशमा जन्मिएका छन् वा उनीहरुका आमा–बुवा विदेशमा जन्मिएका हुन् । यस्तो अष्ट्रेलियाको इतिहासमा पहिलो पटक भएको हो ।

कोरोना महामारीका बेला अध्यागमनको दर सुस्त भए पनि पछिल्लो पाँच वर्षमा अष्ट्रेलियामा १० लाखभन्दा बढी मानिस अन्य देशबाट आइसकेका छन् । तीमध्ये एक चौथाइ भारतबाट त्यहाँ पुगेका छन् ।

नयाँ जनसङ्ख्यामा त्यहाँ बसोबास गर्ने यस्ता मानिसहरु जसको जन्म कुनै अर्को देशमा भएको छ, त्यहाँ भारतीय मानिसहरुले चीन र न्युजिल्याण्डलाई पछि पारेको छ । भारत त्यहाँ तेस्रो नम्बरमा छ ।

अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या दोब्बरभन्दा बढीको वृद्धि भएको छ । सन् २०१६ देखि २०२१ सम्म अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको आंशिक तथ्याङ्क अनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या करिब ७० हजार पुगेको छ ।

अष्ट्रेलियामा हाल अष्ट्रेलियामा जन्मेका व्यक्तिहरू सबैभन्दा धेरै छन्, त्यसपछि इङ्गल्याण्डमा जन्मेका मानिसहरू छन् । यी दुई देशपछि तेस्रो स्थानमा भारतमा जन्मिएका मानिस छन् ।

अष्ट्रेलियाका २० प्रतिशतभन्दा बढी  मानिसहरूले आफ्नो घरमा अंग्रेजी बाहेक अन्य भाषा बोल्छन् । सन् २०१६ यता यस्ता व्यक्तिको संख्या झण्डै ८ लाखले बढेको छ । अङ्ग्रेजी बाहेक बोलिने भाषाहरूमध्ये सबैभन्दा लोकप्रिय चिनियाँ वा अरबी हो ।

३. मूल निवासीहरूको जनसंख्या पनि द्रुत गतिमा बढ्यो

अष्ट्रेलियामा, टोरेस स्ट्रेट आइल्याण्डका आदिवासी वा स्थानीय भनेर वर्णन गर्ने मानिसहरूको संख्या पछिल्लो जनगणना यता करिब एक चौथाइले बढेको छ ।

एबीएसका अनुसार यसको कारण नयाँ मानिसको जन्म मात्रै होइन, यस समुदायका मानिसहरु अहिले आफ्नो आदिवासी पहिचान व्यक्त गर्न पहिलेभन्दा धेरै सहज भएका छन् ।

अहिले देशमा आदिवासी जनजातिको संख्या बढेर ८ लाख १२ हजार ७२८ पुगेको छ जुन देशको कुल जनसंख्याको ३.२ प्रतिशत हो ।

तथ्याङ्कले यो पनि देखाउँछ कि स्वदेशी वा टोरेस स्ट्रेट आइल्यान्डवासीहरूले बोल्ने सक्रिय भाषाहरू १६७ छन्, जुन बोल्नेहरुको संख्या देशभर ७८ हजारभन्दा बढी छन् ।

१७८८ मा युरोपेलीहरूको आगमन अघि, देशमा आदिवासीहरूको संख्या ३.१५ लाखदेखि १० लाखको बीचमा रहेको अनुमान गरिएको थियो ।

तर रोग, हिंसा, स्थानान्तरण र निष्कासनका कारण मूल निवासीको संख्यामा तीव्र गिरावट आएको छ ।

४. मिलेनियलले बेबी बुमर्सलाई पछि पारे

पछिल्लो जनगणनाको अर्को विशेषता भनेको देशको पुस्ता परिवर्तन भएको छ ।

अष्ट्रेलियामा हालसम्म ‘बेबी बुमर्स’ (सन् १९४६ देखि र ६५ को बीचमा जन्मेका मानिसहरू) को संख्या सबैभन्दा बढी थियो ।

तर अहिले ‘मिलेनियल’ (सन् १९८१ देखि ९५ को बीचमा जन्मेका मानिसहरू) को संख्या अलिकति बढेको छ ।

देशको जनसङ्ख्यामा यी दुवै समूहको हिस्सा २१ दशमलव ५ प्रतिशत छ ।

सरकारले अब आवास र वृद्धवृद्धाको सुविधामा बढी ध्यान दिनुपर्ने विज्ञहरुको भनाइ छ ।

५. घर किन्न मुश्किल

२५ वर्षअघि अस्ट्रेलियाका करिब एक चौथाइ मानिसले घर किन्ने गर्थे तर अहिले यहाँ घर किन्न सजिलो छैन ।

बढ्दो महँगीका कारण सन् १९९६ देखि हालसम्म धितो राखिएको सम्पत्तिको अंश दोब्बरभन्दा बढी भएको छ ।

सन् २०२२ को एक रिपोर्ट अनुसार, अष्ट्रेलियाली शहरहरु अब घर खरिदको मामिलामा संसारको सबैभन्दा खराबमा पर्छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप