शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

सोमबार, २० असार २०७९, १२ : ३३
सोमबार, २० असार २०७९

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पिकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउने भएका हुन् ।

खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पिक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो । यो बिषयमा नेपाल ओलम्पियन्स एशोसिएसन काठमाडौं र प्रदेश १ खेलकुद विकास बोर्ड विराटनगरले नोबेल र केएमसीसँग छुट्टा–छुट्टै सम्झौता गरेका छन् ।

 प्रदेश १ खेलकुद विकास बोर्डसँग भएको सम्झौता पत्रमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा, नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल र प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले हस्ताक्षर गरेका छन् । त्यस्तै, ओलम्पियन्स एशोसिएसनसँग भएको सम्झौतामा पनि काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.शर्मा, नोबेलका प्रवन्ध निर्देशक बराल र एशोसिएसनका अध्यक्ष दिपक बिष्टले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्काबीच साटासाट गरिएको थियो ।

  सम्झौता अनुसार अन्तर्राष्ट्रिय खेलकुद ओलम्पीकमा भाग लिएका देशभरका सम्पूर्ण खेलाडीले नोबेल र केएमसीमा निःशुल्क उपचार पाउनेछन् । साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का सम्पूर्ण खेलाडीहरुलाई पनि नोबेल र केएमसीले निःशुल्क उपचार गर्नेछ । उनीहरुले दुवै अस्पतालको क्याबिनमा रहेर उपचार गराउँदा पनि शुल्क लाग्नेछैन । ओलम्पिकमा हालसम्म नेपालका ८८ खेलाडीले भाग लिएका छन् । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ । यता, प्रदेश १ का २२५ खेलाडीले साफ र एशियन खेलकुदमा भाग लिएका छन् । उनीहरुले निःशुल्क उपचार सेवा पाउँनेछन् ।

यता, ती खेलाडीका आमा–वुवा, श्रीमान–श्रीमती तथा छोरा–छोरीको उपचारमा पनि दुवै अस्पतालले ५० प्रतिशत छुट दिने सम्झौता पत्रमा उल्लेख छ । निःशुल्क तथा उपचारमा छुट पाउँनेहरुलाई नोबेल र केएमसीले उपलब्ध गराएको छुट कार्डको आधारमा सेवा दिइनेछ । आइतवारवाटै यो सम्झौता लागू भएको छ ।

 कार्यक्रममा बोल्दै केएमसीका कार्यकारी अध्यक्ष डा.शर्माले देशको प्रतिनिधित्व गर्दै खेल्ने खेलाडीहरुको समस्यालाई मध्यनजर गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप