शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नसिम बानु : पहिलो महिला सुपरस्टार, यति सुन्दर थिइन् कि नजर लाग्ला भनेर पर्दामा राखिन्थ्यो

सोमबार, २० असार २०७९, १२ : २१
सोमबार, २० असार २०७९

भारतीय सिनेमा जगतमा यस्ता थुप्रै अभिनेत्री छन् जसले आफ्नो अभिनय र सुन्दरताले मानिसहरुलाई कायल बनाएका छन् । चालिसको दशकमा पनि यस्तै एक अभिनेत्री थिइन् नसिम बानु जसलाई ब्युटी क्विन र पहिलो ‘फिमेल सुपरस्टार’ भन्ने गरिन्थ्यो । सन् १९३० को दशकबाट करियरको सुरुवात गर्दै उनले सन् १९५० को दशकसम्म आफ्नो अभिनय जारी राखेकी थिइन् । नसिम बानु चर्चित अभिनेत्री सायरा बानोकी आमा र अभिनेता दिलिप कुमारकी सासु थिइन् । आज नसिम बानुको पुण्यतिथीमा उनीबारे केही जानकारी लिऔँ ।

यति सुन्दर कि नजर लाग्ला भनेर पर्दामा राखिन्थ्यो

नसिम बानुको वास्तविक नाम रोशा आरम बेगम थियो । उनको जन्म ४ जुलाई सन् १९१६ मा पुरानो दिल्लीमा भएको थियो । नसिमकी आमा, शमशाद बेगम आफ्नो समयकी एक चर्चित गायिका थिइन् । नसिम बानुलाई शाही ढङ्गले हुर्काइएको थियो । उनी स्कूल पढ्न जाँदा पनि पाल्की चढेर जान्थिन् । नसिमको सुन्दरताको अन्दान यो कुराले लगाउन सकिन्छ कि कसैको नजर नलागोस् भनेर उनलाई सधैँ पर्दामा राखिन्थ्यो ।

नसिमको सुन्दरता देखेर नै उनलाई फिल्ममा काम गर्न अफर दिइयो

स्कूलको छुट्टीको दिनमा एकपटक नसिम आफ्नी आमासँग फिल्म सिल्भर किङको सुटिङ हेर्न गएकी थिइन् । सुटिङ देखेपछि उनलाई पनि नायिका बन्ने रहर जाग्यो । स्टुडियोमा नसिमको सुन्दरता देखेर उनलाई फिल्ममा काम गर्ने अफर पनि दिइयो तर उनकी आमाले नसिम सानै भएको भन्दै प्रस्ताव अस्वीकार गरिन् किनभने उनकी आमा नसिम डाक्टर बनोस् भन्ने चाहन्थिन् ।

फिल्म ‘खून का खून’ बाट फिल्मी करियरको सुरुवात

यतिबेला नसिम बानुलाई फिल्म निर्माता सोहराब मोदीले फिल्म ‘खून का खून’ का लागि मुख्य अभिनेत्रीको भूमिका अफर गरे । यो पटक पनि नसिमकी आमाले प्रस्ताव अस्वीकार गरेकी थिइन् तर यसपटक भने आमाले ‘नाइँ’ भनेपछि पनि नसिम ‘नायिका बन्छु’ भनेर जिद्दी गर्न थालिन् । यतिमात्रै होइन, आफ्नी आमालाई मनाउनका लाािग उनी भोक हड्तालमा पनि गइन् । अन्ततः उनकी आमाले जसरी पनि स्वीकारोक्ति दिनुपर्यो । त्यसपछि उनले फिल्म ‘खून का खून’ मा काम गर्न सुरु गरिन् ।

यो फिल्म सफल भएपछि नसिम पूरा देशभरी चिनिइन् । त्यसपछि नसिम सबै फिल्म निर्माताको पहिलो रोजाई बनेकी थिइन् । जब फिल्ममा बढी अफर आउन थाल्यो तब उनले आफ्नो स्कूलको पढाई छोडिन् र फिल्म इ्न्डष्ट्रिमा पूर्ण रुपमा लाग्न थालिन् ।

फिल्म पुकारबाट पाइन् ठूलो सफलता

उनले मिनर्वा मुभिटोन ब्यानरअन्तर्गत मोदीसँग थुप्रै फिल्म बनाइन् जसमा तलाक, मिठा जहर, बसन्तीजस्ता फिल्म समावेश थिए तर फिल्म पुकारमा नसिम ‘नूर जहां’ को भूमिका निभाएर चर्चित भइन् । त्यसपछि नसिमलाई अन्य फिल्मका लागि अफर आयो तर सोहराब मोदीसँग भएको सम्झौताका कारण उनले उक्त प्रस्ताव स्वीकार गर्न सकिनन् । यो कुरामा नसिम र सोहराबबीच केही खटपट पनि भएको थियो ।

सन् १९४७ मा विभाजनपछि नसिम श्रीमानसँग पाकिस्तान गइन्

नसिम बानुले आफ्नो बाल्यकालका साथी मियां अहसान–उल हमसँग विवाह गरेकी थिइन् जसले ताज महल पिक्चर्स ब्यानरको सुरुवात गरेका थिए । यो ब्यानरअन्तर्गत नसिम र उनका श्रीमानले थुप्रै फिल्मको निर्माण गरेका थिए । सन् १९४७ मा विभाजनपछि दुबै पाकिस्तान गए तर नसिम आफ्ना दुई बच्चालाई लिएर त्यहाँबाट भारत फर्किइन् ।

छोरीका लागि छोडिन् आफ्नो फिल्मी करियर

फिल्म ‘अजिब लड्की’ नसिम बानुको अन्तिम फिल्म थियो । यो फिल्मपछि नसिमले आफ्नो अभिनय करियरलाई बाइबाइ भनिन् । यो त्यहि समय थियो जब उनकी छोरी सायरा बानो फिल्मी पर्दामा देखिने तयारीमा थिइन् । नसिम आफ्नी छोरीको तुलना उनीसँग होस् भन्ने चाहन्थिनन्, त्यसैले पनि उनले फिल्मबाट सन्यास लिएको बताइन्छ ।

छोरी सायराको फिल्मका लागि लुगा पनि डिजाइन गरिन्

त्यसपछि नसिमले फेसन डिजाइनरको रुपमा काम गरिन् र आफ्नी छोरीको थुप्रै फिल्मका लागि उनले ड्रेस पनि डिजाइन गरिन् । एक रिपोर्टका अनुसार सायरा बानो र दिलिप कुमारको विवाहमा नसिमको ठूलो भूमिका थियो पनि भनिन्छ । अन्ततः १८ जून सन् २००२ मा ८५ वर्षको उमेरमा नसिमले अन्तिम सास फेरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप