ad
x
खेलाडी

एथ्लेटिक्ससँग प्रेममा परेकी सन्तोषी

१९औँ एसियाली खेलकुद प्रतियोगितामा पदक दिलाउने लक्ष्य

person explore access_timeअसार २०, २०७९ chat_bubble_outline0

दशरथ रंगशालामा दैनिकी बनेको ५ हजार मिटरको दौडको प्रशिक्षण सकाएर उनी फेरी रंगशालाको चक्कर लगाउँदै थिइन् । साँच्चै सफलता सहज छैन भन्ने उनको अनुहारमा झल्किन्थ्यो । ‘मेरो तयारी सकियो अझै केही समय कुद्छु अनि कुरा गरौँला’ सन्तोषी श्रेष्ठले थाकेको अनुहारमा चम्किलो खुसीसँगै भनिन् । दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सतर्फ नेपालका लागि स्वर्ण जितेकी सन्तोषी अहिले रिकभरी पूर्णता दिने फेजमा छिन् । 


उनको खुट्टाको ब्यालेन्स नमिल्दा समस्या आएको थियो । अब १९औँ एसियाली खेलकुद प्रतियोगिता राष्ट्रिय धुनलाई अन्तर्राष्ट्रिय मञ्चमा गुञ्जायमान गर्ने लक्ष्यका साथ पूर्ण रिकभरीको चरणमा छिन् उनी । ‘रिकभरी फेजमा छु । अहिले लगभग राम्रो अवस्थामा छु । टाइमिङमा सुधार गर्दैछु । सागमा स्वर्ण जितेपनि सबैको अपेक्षा भनेको नै त्यो भन्दा ठूलो सफलता हुने रहेछ,’ सन्तोषी हँसिलो मुहारसँगै सुनाउँछिन् । 



काठमाडौंको हात्तीगौंडामा बसोवास रहेको सन्तोषीको दौडको रफ्तार हेर्दा यस्तो लाग्छ, हात्तीगौंडाबाट दौडेरै उनी आफ्नो जन्मस्थान धादिङ, ज्वालामुखी–६, सुनखानी चरीझैँ फुत्त पुग्नेछिन् । नेपालमा १३औँ साग ताका धेरैलाई सफलता हात पर्‍यो । त्यसमध्ये सन्तोषीको सफलता झनै विशेष थियो । एथ्लेटिक्सलाई प्यासनको रूपमा मात्र हेरेकी सन्तोषी पहिलो सागमा सहभागिता जनाउनु मात्र आफ्नो सफलता ठान्थिन्, पछि मेहनेतले मज्जाले साथ दिँदा उनी सफल पनि भइन् । सन्तोेषी स्वर्णिम क्षणलाई सम्झिन्छिन्,‘मैले त सोचेको पनि थिइन, स्वर्ण नै आउँछ भनेर । सागमा सहभागिता जनाउनु मात्र मेरो मुख्य लक्ष्य थियो । सफलता नै मिल्यो ।’

१३औँ सागमा नेपालले जितेको स्वर्ण मध्येको एक सन्तोषीको पनि हो । पहिलो सागमा नै स्वर्णिम सफलता पाउँदा सन्तोषीका लागि यो स्वर्ण विशेष रह्यो । अझ भनौं खेललाई प्रोफेसन नबनाएर प्यासन बनाएकाहरुका लागि यो एक उदारणीय क्षण बन्यो । अहिले सन्तोषीलाई यो प्यासनले झनै झनै उर्जा दिएको छ । एथ्लेटिक्सलाई प्यासन मात्र बनाउने सोचमा रहेकी उनको त्यो स्वर्णले बाटो नै मोडिदियो । 

‘प्रोफेसन नै बनाएर त एथ्लेटिक्स खेलिन । मैले प्यासनका रूपमा मात्र लिएको एथ्लेटिक्सले मेरो पहिले सागमा पाएको सफलताले प्यासनलाई झनै प्यारो बनायो,’ सन्तोषीले एथ्लेटिक्स प्रतिको अथक प्रेम झल्काइन् । 

सन्तोषी अहिले कुद्ने काम मात्र गर्दिनन् । उनलाई समाजसेवा गर्न पनि खुबै मज्जा आउँछ । एउटा संस्थामा उनी भोलेन्टियरको रूपमा कार्यरत छिन् । त्यसबाहेक अहिले आफ्नो पढाइलाई पनि निरन्तरता दिँदैछिन् । नेपाली खेलकुद त्यसमा पनि एथ्लेटिक्सलाई प्रोफेसनका रूपमा लिएर भविष्य बन्छ जस्तो उनलाई लाग्दैन । तर एथ्लेटिक्सलाई प्यासनका रूपमा लिँदा पनि सफलता पाइन्छ भन्ने गतिलो उदाहरण हुन् उनी । 

प्यासन नै प्यारो भएपनि अहिले सन्तोषी एथ्लेटिक्सलाई छोड्ने मुडमा छैनिन् । सन्तोषीले लामो सास फेर्दै भनिन्,‘प्रोफेसन नै भन्ने छैन । तर, अब एथ्लेटिक्सलाई छोड्न पनि सक्दिन । यो प्यासनसँग प्रेम भइसक्यो ।’ 

सन्तोषीलाई एक ताका एथ्लेटिक्स नै छोडौँ भन्ने लाग्यो । नलागोस् पनि कसरी । समस्या परेको समयमा हौसला दिने हातहरू नहुँदा सबैलाई लाग्ने त्यस्तै नै हो । सन्तोषीको खुट्टाको ब्यालेन्स नमिल्दा गत फागुनमा चोट बोक्न पुगिन् । त्यसपछि उनी १५ दिनसम्म हिँड्न नसक्ने अवस्थामा पुगिन् । हो, त्यही समय उनमा एथ्लेटिक्स छोड्नुपर्ने सोच पलाएको थियो । पीडाको क्षण सम्झिदै सन्तोषी भन्छिन्, ‘समस्या परेको समयमा हौसला दिने हातहरू आवश्यक पर्ने रहेछ । दुइ साता हिँड्न नसक्दा मलाई एथ्लेटिक्स नै छोड्नु पर्छ भन्ने सोच आएको थियो । हौसला दिने हातले हिम्मत बढायो । अनि एथ्लेटिक्स नछाड्ने प्रण गरें ।’ 

स्वर्ण जितेको सफलतापछि अहिलेसम्म आफ्नो अवस्था देखेर प्रोफेसन बनाएर एथ्लेटिक्स खेल्ने खेलाडीहरुको विषयमा सन्तोषीलाई चिन्ता लाग्छ । खेल खेलेर मात्र जीविकोपार्जन गर्न सकिन्छ जस्तो उनलाई लाग्दैन । प्रोफेसन बनाएर नै दिन रात खटिने एथ्लेटिक्स खेलाडीलाई प्यासनको रूपमा मात्र अघि बढ्न उनको सुझाव छ । भन्छिन्, ‘प्रोफेसनकै रूपमा दिन रात एउटै खेलमा मात्र लाग्ने धेरै खेलाडीहरु छन् । उनीहरुको अवस्था सामान्य छ । नेपालमा एथ्लेटिक्सका प्रतियोगिता धेरै हुँदैनन् । त्यसैले प्रोफेसनलाई प्यासन मात्र बनाएर अर्काे कुनै काम गर्दा खेलाडीलाई सहज हुन्छ ।’ 

इन्ज्यूरीको रिकभरपछि सन्तोषी पुनः लयमा आउँदैछिन् । भर्खरै काठमाडौंमा सम्पन्न ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर र १५ सय मिटर दौडमा उनी प्रथम भइन् । सन्तोषी यो लयलाई अझै कडा मेहेनत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि आफूलाई तयार गर्दैछिन् । आफ्नो टाइमिङ सुधार्दै लैजाने चरणमा रहेकी उनको अबको लक्ष्य १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालका लागि पदक दिलाउनु हो । लामो समयपछि देशका लागि खेल्ने मौका उनको समिप आएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।