शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेनमार्कको सबैभन्दा ठूलो सपिङ मलमा भएको फायरिङमा तीनजनाको मृत्यु, थुप्रै घाइते

सोमबार, २० असार २०७९, १० : ४०
सोमबार, २० असार २०७९

डेनमार्कको सबैभन्दा ठूलो सपिङ मलमा भएको फायरिङमा तीन जनाको ज्यान गएको छ भने थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

आइतबार साउथ कोपेनहेगनको फिल्ड्स मलमा एक युवकले अचानक गोली चलाएका थिए र मलमा भागदौड मच्चिएको थियो । २२ वर्षीय आक्रमणकारी पक्राउ परेका छन् ।

प्रहरी प्रमुख सोरेन थमसनले आक्रमणको उद्देश्य स्पष्ट नभएको र यसलाई ‘आतंकवादी हमला’ भनेर इन्कार गर्न नसकिने बताए ।

प्रधानमन्त्री म्याट फ्रेडरिकसेनले डेनमार्कमा एक क्रूर आक्रमण भएको बताएका छन् ।

उनले थपे, ‘धेरै मानिस मारिएका छन् र धेरै घाइते भएका छन् । निर्दोष परिवारहरू किनमेल गरिरहेका थिए र खाना खाइरहेका थिए । त्यहाँ केटाकेटी र युवा–युवतीहरु थिए । हाम्रो सुन्दर र सुरक्षित राजधानी केही सेकेन्डमा नै परिवर्तन भयो ।’

मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले यस दुःखद् घडीमा डेनमार्कले एक अर्कालाई साथ र सहयोग गरोस् भन्ने चाहेको बताए ।

डेनमार्कको शाही परिवारले पीडित र उनीहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रहरीका अनुसार आक्रमणकारीसँग राइफल र हतियार थियो । यस आक्रमणमा अन्य कसैको संलग्नताबारे हालसम्म कुनै जानकारी आएको छैन । पसलेलाई आफूसँग भएको कुनै पनि भिडियो परीक्षणका लागि बुझाउन भनिएको छ ।

थुप्रै तले यो मलमा करिब १४० पसल र रेष्टुरेन्ट छन् । प्रत्यक्षदर्शीका अनुसार गोली चलाएको आवाज आउने बित्तिकै त्यहाँ मानिसहरु आत्तिएर भागदौड मच्चिएको बताए ।

इसाबेल नामकी प्रत्यक्षदर्शीले मिडियासँगको कुराकानीमा भनिन्, ‘हामीले अचानक गोली चलेको आवाज सुन्यौँ । सायद मैले १० पटक फायरिङको आवाज सुनेँ होला । त्यसपछि हामी भाग्यौँ र शौचालयमा लुक्यौँ । त्यहाँ करिब ११ जना थिए ।’

‘हाम्रो स्थिति एकदमै खराब थियो र हामी असाध्यै आत्तिएका थियौँ । यो निकै भयानक अनुभव थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप