आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आधाभन्दा बढी कैदीबन्दीमा मनोसामाजिक समस्या !

नख्खु कारागारभित्रको अस्पताललाई उत्कृष्ट मनोसामाजिक अस्पताल बनाउने हुटहुटी
सोमबार, २० असार २०७९, ०८ : ५६
सोमबार, २० असार २०७९

नख्खुको मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालमा एक युवक दिनहुँ बिहानै अस्पताल पुग्छन् । अस्पतालको ओपिडी सेवामा के भइरहेको छ, त्यो अवलोकन गर्छन् । सबै ठीकठाक छ भने दुई तलामाथि रहेको निमित्त प्रमुख प्रशासकको कोठामा प्रवेश गर्छन् । अनि कम्प्युटर र कागजातमा घोत्लिन थाल्छन् । 

ती युवक हुन्, ३९ वर्षीय जङ्ग बहादुर राई । काभ्रे र उदयपुरमा जेलरका रूपमा काम गरिसकेका राई यतिबेला नख्खु कारागारभित्रको मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालको नेतृत्व सम्हालिरहेका छन् । निमित्त अस्पताल प्रमुखका रूपमा काम गरिरहेका राई यो अस्पताललाई नमुना अस्पताल बनाउने सोचमा छन् ।

कस्तो नमुना अस्पताल त ? रातोपाटीको प्रशनमा राईले भने, ‘धेरै कैदीबन्दीमा सामान्यदेखि गम्भीर प्रकृतिको मानसिक समस्या देखिएको छ । उनीहरूको काउन्सेलिङ र उपचारका लागि यो अस्पताललाई नमुना अस्पताल बनाउने गरी काम गर्न चाहन्छु । मुख्यतः मनोसामाजिक अस्पतालका रूपमा विकास गरेपनि सँगैसँगै जनरल अस्पतालका रूपमा पनि यसलाई अगाडि बढाउने मेरो सोच छ ।’

कारागार कार्यालय नख्खुमा रहेका कैदीबन्दीहरुको उपचारका लागि भनेर २०७३ सालमा स्थापना भएको मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल नख्खुमा अहिले औसतमा मासिक १ हजार ८ सयको हाराहारीमा उपचार हुने गरेको छ । मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल भनिए पनि यहाँ जनरल मेडिसिन, ओपिडी सेवा आदि सेवा पनि उपलब्ध छन् । र, अहिलेसम्म यस अस्पतालमा नख्खु कारागारमा रहेका कैदीबन्दीको मात्रै उपचार भइरहेको छ । 

तर अस्पतालका निमित्त अस्पताल प्रमुख जङ्ग बहादुर राई भने यो अस्पताललाई एउटा उत्कृष्ट मनोसामाजिक अस्पताल बनाउन चाहन्छन् । देशैभरका कारागारहरुमा रहेका कैदी तथा बन्दीको मनोसामाजिक उपचारका लागि यो अस्पताललाई उत्कृष्ट अस्पताल बनाउन चाहन्छन् । त्यसका लागि बजेट बिनियोजन, थप दरबन्दी, औषधी खरिद लगायतका विषयमा बारम्बार गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागमा उनी फाइल बोकेर कुदिरहेका हुन्छन् । 

कैदीबन्दीको मनोसामाजिक उपचारमा किन यति दिलचस्पी त ? भन्छन्, ‘कारागारमा रहेका धेरै कैदीबन्दीमा मनोसामाजिक उपचारको अभाव छ । उनीहरुलाई नियमित परामर्श र औषधोपचारको आवश्यकता देखेको छु । समयमै उनीहरूको मनोसामाजिक उपचार गर्न सकिएन र नियमित काउन्सेलिङ गर्न सकिएन भने उनीहरु यहाँबाट बाहिर निस्किएपछि झनै बढी समस्यामा पर्ने खतरा देखेको छु । त्यसैले मलाई यो अस्पतालमा केही थिति बसाएर मात्रै बिदा हुने मन छ ।’

उदयपुर र काभ्रेको जेलमा काम गर्ने क्रममा कैयन् कैदीबन्दीसँग कुराकानी गरेका राईका अनुसार यदि समयमै उनीहरूको उपचार र काउन्सेलिङ गर्न सकिएन भने उनीहरु बाहिर निस्कँदा विक्षिप्त भएर निस्कने खतरा उत्तिकै छ । उनीहरुमा आफूले अपराध गरेको कारण जेलमा बसेको र बाहिर निस्किएपछि पनि सामान्य जीवनयापन गर्न सकिन्छ, परिश्रम गर्न सकिन्छ र आफू, समाज अनि देशका लागि केही गर्न सकिन्छ भन्ने सन्देश दिन सकिएन र समयलाई काबुमा लिन सिकाइएन भने उनीहरु बाहिर निस्किएपछि झनै फ्रस्टेड हुन सक्ने खतरा छ । उनीहरुलाई यो विषयबारे नियमित जानकारी, काउन्सेलिङ र उपचार गरिएन भने त्यसले समाजमा झनै खतरा निम्त्याउन सक्छ ।

सुन्धारास्थित केन्द्रीय कारागारको अस्पताललाई अहिले कारागार अस्पतालभित्रको उत्कृष्ट अस्पताल मानिन्छ । सुन्धारास्थित कारागारमा धेरै कैदीबन्दी रहेको र औषधोपचार, चिकित्सक लगायतको राम्रो दरबन्दी रहेको कारण पनि यो अस्पताललाई राम्रो अस्पताल मानिन्छ । 

उता राई नख्खुस्थित मनोसामाजिक अपाङ्ग बन्दी अस्पताललाई पनि अर्को उत्कृष्ट अस्पताल बनाउन चाहन्छन्, त्यो पनि मनोसामाजिक उपचारको आवश्यकता भएका बिरामीहरूका लागि । 

आधाभन्दा बढी कैदीबन्दीमा मनोसामाजिक समस्या 

राईका अनुसार कतिपय मानिस पहिले नै मनोसामाजिक समस्याका कारण अपराध गर्ने गरेको र कतिपयमा अपराध गरी जेलमा आइसकेपछि मनोसामाजिक समस्या देखिन्छ । ‘कारागारमा रहेका ५० प्रतिशतभन्दा बढी कैदीबन्दीमा कुनै न कुनै प्रकारको मनोसामाजिक समस्या देखिएको छ । मनोसामाजिक समस्या रहेका २० प्रतिशत कैदीबन्दीलाई नियमित औषधी र मनोपरामर्शको आवश्यकता छ । उनीहरूको उपचार लागि सरकारले भने खासै चासो देखाएको छैन,’ राई भन्छन्, ‘देशैभरका कारागारहरुमा रही मनोसामाजिक उपचारको आवश्यकता रहेकाहरुलाई उपचारको लागि तत्कालै केही गर्नुपर्ने अवस्था छ । म त्यसको लागि बेस बनाउने कोसिसमा छु ।’ 

हाल कारागारभित्र रहेका कैदीबन्दीमा कुनै मनोसामाजिक समस्या देखिएमा अन्यत्रका अस्पतालमा लगी उपचार गरिन्छ । त्यसले जनशक्तिको व्यवस्थापन, सुरक्षा व्यवस्था र खर्चमा पनि समस्या ल्याएको छ । तर यदि कुनै एक अस्पताललाई विशिष्टीकृत सेवा दिने गरी मनोसामाजिक अस्पताल बनाउन सकियो भने त्यसले यी सबै समस्या न्यून हुने राईको दाबी छ । 

अहिले नख्खु कारागारभित्र रहेको अस्पताललाई नै मनोसामाजिक अस्पतालको रूपमा विकास गर्न सकियो भने त्यसले राज्यलाई पनि फाइदा नै पुर्‍याउने राईको आङ्कलन छ । तत्कालका लागि उपत्यकामा रहेका कारागारभित्रका कैदीबन्दीको मनोसामाजिक उपचारका लागि सुरुवात गर्ने र भविष्यमा देशैभरका कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारका लागि काम गर्ने उनको इच्छा छ । तर आफू त्यहाँ कति दिन रहन्छन्, थाहा छैन ।

अस्पतालको बजेट कारागारमै !

अहिले नख्खुस्थित मनोसामाजिक अस्पताललाई आवश्यक औषधी किन्नका लागि आवश्यक बजेटसमेत सरकारले सोझै कारागार कार्यालयलाई पठाउने गरेको छ । जसका कारण अस्पतालले बिरामीलाई आवश्यक औषधी सिफारिस मात्रै गर्ने गरेको छ । निमित्त अस्पताल प्रमुख राईले भने, ‘अस्पतालको व्यवस्थापन हामीले हेरिरहेका छौँ । तर औषधी खरिद लगायतका कामका लागि आवश्यक बजेट भने कारागार कार्यालयमै पठाउने गरिएको छ । अन्य केही सामान चाहिए पनि हामी निवेदन बोकेर कारागार कार्यालयमै जानुपर्छ र त्यहाँबाट स्वीकृत भएमा मात्रै हामीले बजेट पाउने हो । जबकि अस्पताल प्रशासन छुट्टै हो भने बजेट र खर्च पनि सोही ढङ्गबाट आउनुपर्ने हो नि ।’

तिरस्कृत स्थानमै थप दुई वर्ष बस्ने इच्छा 

गृह मन्त्रालय अन्तरगत रहने कारागार कार्यालयमा जेलरको पद पाउने धेरैको इच्छा हुन्छ । जेलरको पद पाएमा व्यक्तित्व विकास लगायतका अन्य सेवा र सुविधाको दृष्टकोणले पनि ‘लाभको पद’ मानिन्छ । तर राई भने जेलरभन्दा पनि अझै दुई वर्ष यही अस्पतालमा बसेर काम गर्न चाहन्छन् । 

राईले रातोपाटीसँग भने, ‘मलाई लाग्छ यो अस्पतालमा आउन धेरैले अनिच्छा देखाउँछन् । यो स्थानमा सरुवाका लागि कसैले भन्छन् भन्ने मलाई लाग्दैन । किनभने यो अस्पताल आकर्षणको केन्द्र होइन । भद्रगोल व्यवस्था र झण्झटिलो प्रक्रिया तथा कामको प्रवृत्ति पनि गृह प्रशासनसँग मेल नखाने भएकाले यहाँ आउन त्यति धेरै माग होला भन्ने मलाई लाग्दैन ।’ यद्यपि उनी भने अझै केही समय यहीँ बसेर यस अस्पतालको थिति बसाल्न चाहन्छन् । अझै दुई वर्ष यस अस्पतालमा बसेर काम गर्न पाए धेरै कुरामा सुधार ल्याउन सक्ने उनलाई विश्वास छ । त्यसैले विभागसँग पनि आफूलाई सरुवा नगरिदिन आग्रह गरेका छन् ।

चौबीसै घण्टा सेवा दिने सोच

हाल नख्खुस्थित मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालमा अपराह्न २ बजेसम्मका लागि मात्रै ओपिडी सेवा उपलब्ध छ । मनोसामाजिक उपचारको आवश्यकता रहेका बिरामीहरूले पनि प्रत्येक दिन त्यस्तो सुविधा पाएका छैनन् । विशेषज्ञ सुविधासहित डाक्टरको दरबन्दी भए पनि त्यो दरबन्दी पर्याप्त छैन । डाक्टर, नर्स र हेल्थ असिस्टेन्टको दरबन्दी पनि पर्याप्त छैन । बिरामीलाई चौबीसै घण्टा सेवा दिनका लागि आवश्यक दक्ष जनशक्तिको अभाव हुँदा अहिले अस्पतालमै भर्ना गरेर उपचारका लागि व्यवस्था छैन । तर निमित्त अस्पताल प्रमुख राई आवश्यक पर्दा बिरामीलाई चौबीसै घण्टा उपचार दिने व्यवस्थाको तयारीमा लागिपरेका छन् । त्यसका लागि थप दरबन्दी लगायतका पूर्वाधार विकासको लागि आवश्यक प्रतिवेदन यतिबेला गृह मन्त्रालयमा पुगेको छ । 

राईका अनुसार हाल स्वास्थ्य सेवातर्फ ९ जनाको मात्रै दरबन्दी दिइएको छ, त्यसमा पनि ३ जनाको पद रिक्त छ । अस्पताल सञ्चालन गर्न यति दरबन्दीले पुग्दैन । त्यसैले, थप १४ जना स्वास्थ्य कर्मचारी र कार्यालय सहयोगीको माग गरी पठाइएको छ । अस्पतालले गृह मन्त्रालयसँग आकस्मिक र अन्तरङ्ग सेवा बिस्तारका लागि भन्दै थप तीन जना मेडिकल अफिसर ४ जना स्टाफ नर्स, दुईजना हेल्थ असिस्टेण्ट, एकजना ल्याब टेक्निसियन र चारजना कार्यालय सहयोगीको माग गरेको छ । यति दरबन्दी थपिएमा इमरजेन्सी सेवासहित चौबीसै घण्टा सेवा दिन सकिने उनको भनाइ छ ।

यतिबेला मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालमा नवौं वा दशौं तहको कन्सल्टेण्ट साइकियाट्रिक पद र दुईजना हेल्थ असिस्टेन्टको दरबन्दी पनि रिक्त छ । हाल अस्पतालमा दुईजना मेडिकल अफिसर, दुईजना अहेव, दुईजना अनमी र करारमा लिइएको एकजना ल्याब टेक्निसियनको भरमा अस्पताल सञ्चालित छ । 

नतिजामा रमाउने प्रवृत्ति

शाखा अधिकृत राई आफूलाई कुन स्थान आकर्षणको हो र कुन स्थान होइन भन्नेमा कुनै मतलब नरहेको बताउँछन् । भन्छन्, ‘म नतिजामा रमाउने व्यक्ति हुँ । काम सुरु गरेपछि अन्तिम टुंगो लगाउने र सकारात्मक परिवर्तन ल्याउने मेरो सदैव सोच रहन्छ । म काम, परिवर्तन र नतिजामै रमाउने व्यक्ति भएकाले आफूले गरेको काममा सफलता पाएमा त्यही नै मेरो आकर्षणको केन्द्र हुन्छ ।’

शाखा अधिकृत राई निजामती सेवामा जागिर मात्रै खाने जागिरे प्रवृत्तिले ग्रस्त बनाएको स्वीकार्छन् । भन्छन्, ‘जागिर मात्रै खानका लागि यो ठाउँ धेरै ठीक छ । काम गर्नु पर्दैन, बसेर खानलाई यो ठाउँ धेरै ठीक छ । तर जुन ठाउँमा पुग्यो, त्यो ठाउँको सुधार र विकास गर्नुपर्छ भन्ने सोच राख्नुपर्छ । यो स्थानमा मलाई जागिर मात्रै खानु छैन । त्यसैले, केही सकारात्मक परिवर्तन गर्न सकिन्छ भनेर लागिपरेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप