शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरका सुकुम्बासीलाई लालपूर्जा दिने कामबारे मेयर रेनु दाहालको चासो

सोमबार, २० असार २०७९, ०८ : १४
सोमबार, २० असार २०७९

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहीनलाई जग्गा दिने काम वर्तमान अवस्थाबारे चासो दिएकी छिन् । राष्ट्रिय भूमि आयोग चितवनले महानगरपालिकाभित्र रहेका २९ वटा वडामा गरिरहेको कार्य सम्पादनबारे मेयर दाहालले आयोगका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीसँग चासो राखेकी हुन् ।

आयोगले अहिले गरिरहेको कामबारे आयोगका अध्यक्ष बद्री तिमल्सिनाले उपस्थित जनप्रतिनिधिहरूलाई ब्रिफिङ गरेका थिए । तिमल्सिनाले केही स्थानमा काम गर्न असहज भएकाले केही यन्त्र तथा उपकरण उपलब्ध गराउन स्थानीय निकायसँग पहल थालिएको जानकारी दिए । आयोगले अहिले ड्रोन र टोटल स्टेश्नको कमी भएको बताएको छ । यो यन्त्र उपकरण खरिद गर्न आयोगले जिल्लाका ७ वटा स्थानीय निकायसँग बजेटको माग पनि गरेको छ ।  
भरतपुर महानगरपालिकाले स्थानीय तहको निर्वाचन अगाडि महानगरभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको  लगत संकलन, निस्सा दिने काम सम्पन्न गरिसकेको छ ।

जिल्ला समन्वय समितिको सभा हलमा भएको अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले संघीय निर्वाचन अघि भूमिहीनलाई लालपुर्जा दिने गरी कार्यअघि बढाउन आयोग र वडा अध्यक्षहरूलाई आग्रह गरिन् ।
निर्वाचन आचारसंहिताका कारण यो काम केहीसम्म रोकिन पुगेकाले अब तीव्र गतिमा फेरि काम बढाउनुपर्ने मेयर दाहालको भनाइ थियो ।

‘निर्वाचनमा तपाई हामीले भूमिहीनलाई जग्गा दिने प्रतिवद्धता जनाएका छौं, उनले भनिन् ,‘यो काममा हातेमालो गरेर सुकुम्बासीलाई जग्गा दिने काममा केन्द्रीत हुन आग्रह गर्छु । वडा अध्यक्षहरुले आयोगसँग समन्वय गरी आफ्नो बाचा पुरा गर्नुहोस् ।’


मेयर दाहालले विगतमा भरतपुर २ का भूमिहीन दलितलाई लालपुर्जा दिने काम भइसकेको र अब असार मसान्तभित्र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा प्रदान गरिने जानकारी दिइन् ।

उनले पाँच वर्षभित्र भरतपुरमा अहिले लगत संकलन भएका सुकुम्बासीले लालपुर्जा पाउने पनि दाबी गरिन्।
भरतपुर महानगरले संकलन गरेको तथ्याङ्क अनुसार महानगरभित्र १० हजार बढी सुकुम्बासी रहेका  छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप