बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

म्याद थाम्न शाखा अधिकृतको दबाव, नमान्दा उपरजिष्ट्रारमाथि मुक्का प्रहार !

आइतबार, १९ असार २०७९, २२ : ०१
आइतबार, १९ असार २०७९

आइतबार अपरान्ह १ बजे पाटन उच्च अदालतका उपरजिष्ट्रार रमेश श्रेष्ठमाथि हातपात भयो । आफ्नो कार्यकक्षमै बसिरहेको समयमा उपरजिष्ट्रार श्रेष्ठमाथि सोही अदालतमा काम गर्ने शाखा अधिकृत हीरालाल भुसालले अनुहार तथा शरीरका विभिन्न भागमा आक्रमण गरे । आक्रमणको कारणचाहिँ बेरितको निवेदनमा हस्ताक्षर गर्दिन, रितपूर्वक निवेदन ल्याउनु भन्ने मात्रै थियो ।

आइतबार अपरान्ह करिब १ बजे म्याद थाम्ने प्रयोजनका लागि सेवाग्राहीको निवेदन बोकेर शाखा अधिकृत हीरालाल भुसाल उपरजिष्ट्रार रमेश श्रेष्ठको कार्यकक्षमा गएका थिए । शाखा अधिकृत भुसालले मुद्दाका एक पक्षको म्याद थाम्ने निवेदनमा शुक्रबार नै पत्र काटी पुरानो म्याद बदर गरी नयाँ म्याद दिइसकेका थिए । तर उक्त म्याद बदर र म्याद थाम्ने निवेदनमा सक्कली म्याद थिएन भने आवश्यक कागजात र बुझ्नुपर्ने विषय पनि बुझिएको थिएन । तर केही नबुझी शाखा अधिकृत भुसालले शुक्रबार नै पत्र दिएर आइतबार स्वीकृतिका लागि ल्याएपछि बेरितको भन्दै उपरजिष्ट्रार श्रेष्ठले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । हस्ताक्षर गर्न अस्वीकार गरेलगत्तै शाखा अधिकृत भुसालले आक्रमण गरेको पीडित रमेश श्रेष्ठले रातोपाटीलाई बताए । 

सामान्यतः  म्याद तामेल गरेको १५ दिनभित्र जसलाई म्याद तामेल गरिएको हो, ती व्यक्ति अदालतमा उपस्थित हुनुपर्छ  १५ दिनभित्र उपस्थित हुन नसकेमा थप १५ दिन गरी कुल ३० दिनको समय पाइन्छ । तर शुक्रबार निवेदन लिएर आएका व्यक्ति ३० दिन पनि गुजारेपछि म्याद थपका लागि अदालतमा निवेदन लिएर आएका थिए । पुरानो म्याद बदर गरी नयाँ म्याद तामेलीका लागि उनले निवेदन दिएका थिए । तर उक्त निवेदनमाथि कारवाही गरी पुरानो म्याद बदर गर्ने कि नगर्ने र नयाँ म्याद थमाउने कि नथमाउने भन्ने विषयको छिनोफानो उपरजिष्ट्रारले गर्ने भएपनि शाखा अधिकृत भुसालले उपरजिष्ट्रार श्रेष्ठलाई नसोधी आफैं निवेदकलाई म्याद थामेको पत्र दिएका थिए ।

त्यसका प्रमाणीकरणका लागि आइतबार पत्र लिएर भुसाल उपरजिष्ट्रारकहाँ गएका थिए । तर उपरजिष्ट्रारले किन मलाई नसोधी आफैं म्याद थामेको र पूरा कागजात नहुँदा पनि किन म्याद थामेको भनेर प्रश्न गर्दै आफूले हस्ताक्षर नगर्ने बताएका थिए । यसलाई प्रमाणीकरण गर्न रजिष्ट्रारकहाँ जानुस् भनेलगत्तै शाखा अधिकृत भुसालले ‘शंका गर्ने’ भन्दै आफूमाथि हातपात गरेको पीडित उपरजिष्ट्रार रमेश श्रेष्ठले रातोपाटीलाई बताए ।

उपरजिष्ट्रार श्रेष्ठका अनुसार शाखा अधिकृत भुसालले आफूमाथि लगातार मुक्का प्रहार गरेको र अनुहार तथा शरीरका विभिन्न भागमा सुन्निएको र चोटपटक लागेको बताए ।  आक्रमणपछि घटनाको छानबिन गरी जसको गल्ती र दोष हो पहिचान गरी कारवाही गर्न अदालत प्रशासनसमक्ष उजुरी दिएको उपरजिष्ट्रार श्रेष्ठले बताए । 

यता आक्रमणमा संलग्न भएको आरोप लागेका शाखा अधिकृत भुसालले ‘सो घटनाबारे प्रवक्तामार्फत बुझ्नुस्’ भन्दै सो सम्बन्धमा अहिले केही नबताउने बताए ।  पाटन उच्च अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले यस सम्बन्धमा सोमबार अदालतमा छलफल हुने भन्दै घटनाका सम्बन्धमा थप केही बुझ्न नपाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप