मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डमाथि पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन दबाब

आइतबार, १९ असार २०७९, २१ : ०९
आइतबार, १९ असार २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि दबाब बढाएका छन् ।

महाधिवेशन सकिएको ६ महिनासम्म पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो नलागेपछि केन्द्रीय समिति बैठकबाटै टुङ्गो लगाएर जानुपर्ने मत नेताहरूले राखेका हुन् । माओवादी केन्द्रको आठौँ महाधिवेशन गत पुसमा सम्पन्न भएको थियो ।

स्थानीय तहको चुनाव सकिएपछि पहिलो पटक बसेको माओवादी केन्द्रीय समिति बैठकमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउनेगरी छलफल भइरहेको पूर्व स्थायी समिति सदस्य वर्षमान पुनले बताए । ‘महाधिवेशनले २९९ केन्द्रीय सदस्य चयन गर्ने भनेको छ, त्यसमध्ये १५ प्रतिशत मनोनीत गर्ने व्यवस्था विधानले गरे अनुसार मनोनीत गरिएको छ । थप १० प्रतिशत विभिन्न पार्टीबाट प्रवेश गर्ने साथीहरूलाई समेट्ने व्यवस्था छ,’ पुनले भने, ‘पहिले स्थायी समिति, पोलिटब्यूरो टुङ्गो लगाउँछौँ । त्यसपछि सकेसम्म पदाधिकारीसमेत टुङ्गो लगाउँछौँ ।’

यस्तै केन्द्रीय सदस्य राजन दाहालले केन्द्रीय समिति बैठकबाटै सबै कमिटीसहित पदाधिकारीबारे निर्णय गरेर जानुपर्ने मत राखे । ‘पोलिटब्यूरो, स्थायी समिति, पदाधिकारी चयन गर्ने विषय एजेण्डामा समावेश छ । त्यसको चयन कसरी चयन गर्ने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल हुन्छ,’ दाहालले भने, ‘सिङ्गो राजनीतिमा संगठनात्मक संचरना व्यवस्थित र चुस्त दुरुस्त नबनाए पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न गाह्रो हुने रहेछ । त्यसैले सबै कमिटीलाई पूर्णता दिएर जाने छौँ ।’

माओवादीलाई व्यवस्थित र एक ढिक्का बनाउन पनि कमिटीलाई पूर्णता दिएर जानुपर्ने दाहालले बताए । ‘आगामी प्रदेश र संघको चुनाव पनि गर्नुपर्ने छ । त्यसका लागि पार्टीलाई व्यवस्थित गराउनै पर्ने भयो । यस विषयमा सबै केन्द्रीय सदस्यको बुझाइमा एकरूपता छ,’ दाहालले भने, ‘अध्यक्ष कमरेडलाई केन्द्रीय समिति, राष्ट्रिय राजनीति  र पार्टी संरचना होल्ड गर्दा बोझ भयो । अध्यक्षलाई सहयोग गर्न पनि कार्य विभाजन गर्नुपर्ने भयो ।’

अध्यक्ष प्रचण्ड पोलिटब्यूरो र स्थायी समिति टुङ्गो लगाउने तर पदाधिकारी चयन भने आसन्न निर्वाचनपछि मात्रै गर्ने योजनामा रहेको एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार तत्काल पदाधिकारी चयन गर्दा थप विवाद हुने भएकाले चुनावपछि धकेल्दा प्रदेश र संघको चुनावमा राम्रो नतिजा आउने प्रचण्डको बुझाइ छ ।

तर, पार्टी बैठकमा पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी तत्काल टुङ्गो लगाउन नेताहरूले दबाब निकै बढाएका छन् ।

पार्टी व्यवस्थित बनाउन प्रचण्डमाथि नेताहरूको दबाब

स्थानीय तहको चुनावपछि पहिलो पटक बसेको केन्द्रीय समिति बैठकमा सात भौगोलिक सहित तीन गैरभौगोलिक नेताहरूले आफ्नो रिपोर्ट प्रस्तुत गरेका छन् । प्रदेशको नेतृत्वमा भएका नेताहरूले रिपोर्ट प्रस्तुत गर्नेक्रममा पार्टीलाई विधान र विधिसम्मत रूपमा चलाउन प्रचण्डलाई आग्रह गरेका हुन् ।

माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले माओवादी पार्टी भावुक भएको टिप्पणी गरे । कसैले रोइकराई गरेकै आधारमा योग्यता नभएका नेताहरू पनि केन्द्रीय समिति सदस्य बन्ने अवस्था आएको भन्दै उनले नेतृत्वप्रति कटाक्ष गरे ।

‘माओवादी पार्टी भावुक पार्टी बनेको छ । कोही रोइदियो भने केन्द्रीय सदस्य बन्ने अवस्था छ’, उनले केन्द्रीय समिति बैठकमा भनेको एक नेताले बताए । उनले तत्काल पदाधिकारी चयनका साथै स्थायी कमिटी, पोलिटब्यूरोलगायत पनि गठन गरिनुपर्नेमा जोड दिए । उनले पार्टीमा बेथिति मौलाएको भन्दै त्यसको बेलैमा हल खोजिनुपर्नेमा जोड दिए ।

यस्तै, लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले माओवादी पार्टी विधान र विधिमा चल्न नसकेको टिप्पणी गरे । ‘पार्टी केन्द्रीय समितिदेखि विद्यार्थीसम्म चुनाव गर्ने भन्ने थियो । सबै प्रतिनिधिलाई घर फर्काएर अध्यक्षले पदाधिकारीमा भोट हाल्ने अवस्था भयो,’ बरालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रतिनिधि घर पठाएर पदाधिकारीमा अध्यक्षले मात्रै भोट हाल्दै कमिटी बनाउने अवस्था आयो । यस्तो अवस्थाले पार्टी बन्दैन ।’

पार्टीमा अराजकता माच्चिएको बताउँदै बरालले समयमै निराकरण गरिनुपर्ने माग राखे ।

कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पनि पार्टीमा अराजकता मौलाएको टिप्पणी गरेकी छन् । उनले स्थानीय तह निर्वाचनमा अन्तर्घात कर्णालीमा पनि भएको उल्लेख गर्दै पार्टीभित्रको अराजकतालाई बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् । पार्टीमा हारको जिम्मेवारी लिने परिपाटी नभएको उल्लेख गर्दै उनले कर्णालीमा आशातित नतिजा आउन नसकेकोमा आफूले भने जिम्मेवारी लिन तयार रहेको उनको भनाइ थियो ।

‘पार्टीमा अन्तर्घात भएका छन् । समस्याहरू भएका छन् तर जिम्मेवारी लिने प्रवृत्ति छैन’, उनले भनिन्, ‘मैले कति जिम्मेवारी लिनुपर्ने हो लिन्छु । म घटुवा हुन पनि तयार छु ।’

तर पार्टी केन्द्रीय सदस्य हेमराज भण्डारीले कम्युनिस्ट आन्दोलनमा विचारको सङ्कट भएपछि यस्तो लथालिङ्ग र भद्रगोल भएको टिप्पणी गरे । ‘अहिले माओवादी मात्रै होइन, एमाले लगायत सबै कम्युनिस्ट पार्टीमा यस्तै अन्योल र भद्रगोल छ । समाजवादी क्रान्तिको यात्रामा कसरी अगाडि बन्ने भन्ने विषयमा अन्यौलता छ,’ भण्डारीले भने, ‘अब विचारको विकास नगर्दासम्म सबै कम्युनिस्ट पार्टीमा यस्तै अन्योल र भद्रगोल हुन्छ ।’

माओवादी पार्टी अघि बढ्न नेतृत्वसहित सबै नेता तथा कार्यकर्ता विचार निर्माणमा जुट्नुपर्ने भण्डारीको भनाइ छ ।

कम्युनिस्ट केन्द्रीकृत गर्न प्रचण्डको ध्यान  

पार्टी अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमात्र नभएर कम्युनिस्ट पार्टीहरूलाई केन्द्रीकृत गर्नतिर आफ्नो ध्यान केन्द्रित गरेका छन् । पार्टीमा उठेका प्रश्न र विवादलाई टुङ्गो लगाउन उनलाई खासै समस्या छैन । तर, माओवादी धाराहरू सहित तत्कालीन नेकपालाई केन्द्रीकृत गर्ने रणनीतिमा जुटेका कारण उनले तत्काल पार्टीभित्रका सामान्य समस्यालाई ध्यान नदिएको एक नेताले बताए ।

त्यसैले तत्कालीन नेकपाको सचिवालयमा रहेका अधिकांश नेता समेटेर बैठक राख्दै उनले आफ्नो अभियानलाई केही हदसम्म उजागर गरेका छन् । तत्कालीन नेकपामा बहुमत सचिवालय सदस्य प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ बसेर वाम एकताका विषयमा छलफल गरेका मात्र होइन, एमालेलाई वाम तालमेलका लागि नजिक ल्याउन दबाब दिनुका साथै काँग्रेसलाई पनि प्रेसरमा राख्ने काम गरेका छन् ।

उता प्रचण्ड र माधवकुमार नेपालले स्थानीय तह चुनावमा एमालेलाई कमजोर बनाएर साइजमा राखेको निष्कर्ष निकालेका छन् । पार्टीको भोट नबढे पनि एमालेलाई पालिकाको सङ्ख्यागत गणनामा निकै तल पुर्‍याएर साइजमा राख्न सफल भएकोमा दुवै नेता खुसी छन् ।

आगामी प्रदेश र संघको चुनावमा वाम तालमेल हुन नसकेमा एमालेलाई तेस्रो शक्तिमा पुर्‍याउने उनीहरूको दाउ छ । त्यसपछि मात्रै तत्कालीन नेकपा एक ठाउँमा आएर वाम तालमेलको वातावरण बन्ने प्रचण्ड–माधवको बुझाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप