बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डिलाशैनी गाउँपालिकाले हटायो ६० कर्मचारी

आइतबार, १९ असार २०७९, २० : २८
आइतबार, १९ असार २०७९

बैतडीको डिलाशैनी गाउँपालिकाले आवश्यकता बाहेकका करार कर्मचारीलाई हटाउने भएको छ । आगामी साउन १ गतेपछि करारका कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट (यदु)ले बताए । 

उनले भने,‘हामीले २०७८ चैतमा चुनावको मुखमा विना विज्ञापन नियुक्त गरिएका कर्मचारीहरू हटाउने निर्णय गरेका हौं । उनीहरूको ठाउँमा हाम्रा मान्छे राख्न हटाइएको होइन ।’ १७ असारमा बसेको गाउँकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भट्टले बताए । हटाउने प्रक्रियामा रहेका करारका कर्मचारीलाई साउन १ गतेबाट तलबभत्ता नदिने उनले बताए । उनले भने,‘पारिश्रमिक खुवान सक्ने अवस्था छैन । यसअघिको तलब पनि जेनतेन जनप्रतिनिधिको सेवासुबिधा र लक्षितवर्गको बजेटबाट कटौती गरेर खुवायौँ ।’

हटाइएका कर्मचारीमा ३० पुस २०७८ को कार्यपालिका बैठकको निर्णयको आधारमा १ चैतमा नियुक्ति दिएको पाइएको डिलाशैनी–७ का वडाध्यक्ष प्रकाशमणि भट्टले बताए । अघिल्लो सरकारले आवश्यकता नभएको ठाउँमा करारमा कर्मचारी भर्ना गरेकाले हटाउन बाध्य भएको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताए । ‘अदक्ष कर्मचारी राख्नु हुँदैन । हामीले हटाएका मध्ये अधिकांश कर्मचारी आवश्यकताको अध्ययन नै नगरेर राखिएका छन् । उनीहरूलाई हटाउन कुनै समस्या छैन । हामीले चुनावका बेलासमेत पहुँचका आधारमा भर्ना गरिएका कर्मचारी हटाउने र हाम्रो मान्छे पनि त्यसरी भर्ना नगर्ने भनेरै जनताको भोट पाएका हौं । बोलेका कुरा अहिले कार्यान्वयन गरिरहेकाछौं । नियम विपरीत भएका कामको छानबिन गर्ने छौं,’ उनले भने ।

गाउँपालिकाले हटाउने करारका कर्मचारीमा शिक्षक तथा विद्यालय कर्मचारी, सामाजिक परिचालक, प्राविधिक र कार्यालय सहयोगी रहेका छन् । हटाउने कर्मचारीमा ४० जना शिक्षक छन् । अझै पनि आवश्यकता महसुस भएका क्षेत्रमा कर्मचारी राख्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बोहराले बताए । विकासे बजेटबाट समेत तलब खुवाउनु पर्ने भएकाले करारका कर्मचारीहरू हटाउनु परेको उनले बताए । ‘अनुगमन गर्छौं, त्यसपछि आवश्यकता बिनाका कर्मचारीको करार अवधि थपिँदैन,’उनले भने । हटाएका केही कर्मचारी भने गाउँ कार्यपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्ने तयारीमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप