शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर समूहको पाँच बुँदे निष्कर्षमा संस्थापन पक्ष आक्रोशित

शेखर समूह भन्छ – स्पष्टीकरण दिन तयार छौँ
आइतबार, १९ असार २०७९, १८ : ४५
आइतबार, १९ असार २०७९

नेपाली काँग्रेसको संस्थापन पक्षले नेता शेखर कोइराला समूहको पाँच बुँदे निष्कर्षप्रति असन्तुष्टि जनाएको छ । बिहीबार र शुक्रबार काठमाडौँको बत्तीसपुतलीमा बसेको कोइराला समूहको बैठकले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा सरकार र पार्टी सञ्चालनमा असफल भएको सहित ५ बुँदे निष्कर्ष निकालेको थियो ।

देउवाले विधानको पालना नगरेको, पार्टीभन्दा गठबन्धनलाई बढी महत्त्व दिएको, जनजीविकाका मुद्दा र अर्थतन्त्र सुधार गर्न उदासीन देखिएको कोइराला समूहको बैठकको ठहर थियो ।

साथै देउवा नेतृत्वको सरकारले आर्थिक सुशासनको खिल्ली उडाउँदै व्यापकरुपमा नीतिगत भ्रष्टाचार गरेको पनि शेखर समूहको निष्कर्षमा समेटिएको छ ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले शेखर समूहले निकालेको निष्कर्ष पार्टीका लागि दुर्भाग्यपूर्ण भएको रातोपाटीलाई प्रतिक्रिया दिए । ‘पार्टीको नेतृत्वमा गठबन्धनको सरकार छ । निर्वाचनमा हामीले सफलता प्राप्त गर्‍यौँ। अब चाँडै आम निर्वाचन हुँदैछ,’ उनी उनले भने, ‘अहिले एकताबद्ध भएर जानुपर्ने बेलामा विरोधी पार्टी जसरी  साथीहरू प्रस्तुत हुनुभएको छ । यो दुर्भाग्यपूर्ण हो । यो सही छैन ।’

यसले पार्टी र शेखर समूहको पनि हित नगर्ने प्रवक्ता महतको तर्क छ । उनले भने, ‘यसले पार्टीको पनि हित गर्दैन, उहाँहरूको पनि हित गर्दैन । यसले कसैको पनि हित गर्दैन ।’

पार्टीमा प्रचण्ड बहुमत हुँदा पनि सभापति सबैको सरसल्लाह लिएर अगाडि अगाडि बढेको महतको दाबी छ ।

‘पार्टीमा प्रचण्ड बहुमत हुँदा पनि सभापति सबैको सरसल्लाह लिएर अगाडि बढिराख्नु भएको छ । त्यसको उदाहरण भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनको टिकट वितरणलाई हेरे पुग्छ,’ उनले भने, ‘महानगरमा नेताहरूले प्रस्ताव गरेअनुसार नै टिकट दिनुभएको छ ।’

गठबन्धनको सरकारमा काँग्रेसले नै भनेको जस्तो हुन नसकेपनि पाँच दलीय गठबन्धनको सीमामा बसेर सरकारबाट राम्रो काम भएको उनको भनाइ छ । परराष्ट्र सम्बन्धमा पनि सरकार सफल भएको प्रवक्ताको दाबी छ ।

 ‘उहाँकै नेतृत्वमा एमसीसी पारित भयो । देशका लागि राम्रै भएको छ । यो एसपीपीको पनि च्याप्टर क्लोज यही सरकारले गरेको छ । यसलाई अगाडि बढाउँदैन भनेर सरकारले निर्णय गरिसकेको छ ,’ उनले भने, ‘परराष्ट्र मामिलामा सरकार असफल भएको भन्ने आधार के हो ? खास कुरो बुझिएन ।’

यी कुराहरुमाथि गम्भीर समीक्षा गर्छौँ । उहाँहरूले निकालेको निष्कर्षमाथि केन्द्रीय समितिमा साथीहरूले कुरा राख्नुहुन्छ । पार्टी सभापतिले यस विषयमा पनि आफ्नो कुरा राख्नु होला ।’

आफूलाई लागेका विषय केन्द्रीय समिति बैठकमा नराखेर होटलहरुमा रमिता देखाउने कुरा ठीक नहुने उनले बताए । उनका अनुसार कोइराला समूहको बैठक नबस्दै असार १६ गते काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको थियो ।

‘असार २७ गते केन्द्रीय समिति बैठक बस्दै छ । त्यहाँ राख्दा हुने थियो,’ महतले भने, ‘त्यसअघि प्रधानमन्त्री र पार्टी सभापतिसँग भेटेर राख्दा हुन्छ केही गुनासो छ भने । जसरी निष्कर्ष भनेर बाहिर आएको छ । त्यो दुर्भाग्यपूर्ण छ ।’

देउवाको विरुद्धमा तलसम्म विरोधका कार्यक्रम लैजाने कुरा आत्मघाती भएको प्रवक्ता महतको जिकिर छ । ‘उहाँहरूले आत्मघाती कुरा गरिराख्नु भएको छ । पार्टी सभापतिको नेतृत्वमा यति ठूलो सफलता हासिल गरिएको छ,’  उनले भने, ‘यसमा हामी खुसी हुनुपर्ने हो । सभापति र पार्टी सफल भएको देख्न नचाहनेहरू आत्मघाती खेलमा लाग्नु भएको छ । ४ वटा भ्रातृ संगठनको संयोजक तोकिएको छ । पूर्णता दिने कुरामा त्यो क्षेत्रमा काम गरेका सबै योग्य साथीहरूलाई राख्ने नै कुरा छ । अहिले जे कुरा आएका छन् । यी आत्मघाती कुरा आइरहेका छन् । यसको हिसाब गरिरहेका छौँ ।’

कोइराला समूहको निष्कर्षसँग पार्टीपंक्ति सहमत नभएको उनको भनाइ छ ।

‘उहाँहरूको निष्कर्षमा पार्टीका साथीहरू सहमत हुनहुन्न । यो उनीहरूको सहभागिताले देखाउँछ ,’ महतले भने । यस विषयमा २७ गते बस्ने केन्द्रीय समिति बैठकमा गम्भीर ढंगले कुरा उठ्ने उनले बताए ।

उनले भने, ‘यी कुराहरुमाथि गम्भीर समीक्षा गर्छौँ । उहाँहरूले निकालेको निष्कर्षमाथि केन्द्रीय समितिमा साथीहरूले कुरा राख्नुहुन्छ । पार्टी सभापतिले यस विषयमा पनि आफ्नो कुरा राख्नु होला ।’

यद्यपि पार्टी सभापतिको स्वभाव विवाद गर्नेभन्दा समाधान निकाल्ने खालको भएको उनले बताए ।

अस्तित्व रक्षाका लागि देउवा असफल भएको निष्कर्ष निकालियो: मन्सुर

 यस्तै सहमहामन्त्री फर्मल्ला मन्सुरले शेखर समूहले अस्तित्व रक्षाका लागि देउवा असफल भएको भनेर निकालेको गुटगतको निष्कर्षको कुनै अर्थ नहरेका बताए । ‘महाधिवेशनमा पराजय भोगेका साथीहरूले आफ्नो अस्तित्व रक्षाका लागि केही न केही त भन्नुपर्‍यो । यसको केही अर्थ छैन’, उनले भने, ‘देउवा सरकार र पार्टी सञ्चालनमा सफल भएको निर्वाचनबाटै प्रमाणित भएको छ ।’

पार्टी र जनताबाट देउवाको नीति र नेतृत्व अनुमोदित भएको उनको जिकिर छ ।  ‘१४ औँ महाधिवेशनमा उहाँको नीति र नेतृत्वलाई नेपाली काँग्रेसको बहुमत कार्यकर्ताले स्वीकारेपछि न उहाँ विजयी हुनुभयो,’ उनले भने, ‘त्यस्तै स्थानीय निर्वाचनमा काँग्रेस जनताको बीचमा जाँदा सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित हुनुलाई सफलता नमानेर असफलता भन्ने हो ?’

देउवाले सरकार र पार्टी सञ्चालनमा सफल भएको मन्सुरको दाबी छ । ‘जसले पनि इमान्दार ढंगले विश्लेषण गर्दा यही हुने हो । अब कुण्ठा लिएर, हारको पीडा लिएर वा शेरबहादुर देउवाजीविरुद्ध बोल्दा सहानुभूति मिल्छ भन्ने सोचेर बोल्दा अर्को कुरा हो । होइन भने यथार्थ विश्लेषण भनेको यही हो,’ उनले भने ।

अन्य पार्टीलाई हेर्दा कोइरालाको गतिविधि कारबाहीयोग्य भएपनि काँग्रेसमा त्यस्तो नहुने उनको भनाइ छ । ‘केपी ओलीजीको पार्टीमा घनश्याम भुसाललाई कारबाहीको कुरा आएको मैले सुनेको थिएँ,’ उनले भने, ‘काँग्रेसमा कसैले यथार्थभन्दा अलग कुरा गरेको मात्र कारबाही हुँदैन । यसको विश्लेषण आम मान्छेले गर्ने हो । मान्छेको बौद्धिक क्षमता र राजनीतिक इमान्दारिता मूल्यांकन पार्टीका कार्यकर्ताले गर्छन् ।’

‘उहाँहरू के लिएर जानुहुन्छ । देउवाको नेतृत्वमा देशको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस बनेको छ । शेरबहादुर देउवा यो गल्ती गर्दै हुनुहुन्छ । त्यस कारण उहाँको विरुद्धमा हामीले मिटिङ गरौँ, भाषण गरौँ, जुलुस निकाल्यौँ भन्न जानुहुन्छ ? एजेण्डा के छ ?, ’ मन्सुरको प्रश्न छ । पार्टीलाई अहित हुने गरी बोल्ने छुट कसैलाई नभएको भन्दै जथाभाबी बोल्दा राम्रो नहुने उनले बताए ।

काँग्रेसको दृष्टिकोण भन्दा बाहिर गएर सरकारले परराष्ट्र नीति अख्तियार नगरेको मसन्सुरले बताए । सरकारले सबै देशसँगको मित्रता ऐतिहासिक उचाइमा पुर्‍याएको उनको भनाइ छ ।

 ‘देउवाजीले सरकारको नेतृत्व गरेपछि भारत, अमेरिका चीन, युरोप, रुस कुन देशसँग बोलचाल बन्द भएको छ ?,’ उनको प्रश्न छ, ‘कुन देशसँग न तिक्तता आएको छ ? अविश्वास बढेको छ ? बरु सम्बन्ध प्रगाढ भएको छ ।’

स्थानीय निर्वाचनका कारण केही दिन ढिलो भएको स्विकार्दै उनले अब केही दिनमा विभाग गठन लगायतमा काम गरिने बताए ।

देउवाविरुद्ध तल्लो तहसम्म कार्यकर्ता परिचालन गर्छु भन्नु हास्यास्पद भएको उनको भनाइ छ ।

‘उहाँहरू के लिएर जानुहुन्छ । देउवाको नेतृत्वमा देशको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस बनेको छ । शेरबहादुर देउवा यो गल्ती गर्दै हुनुहुन्छ । त्यस कारण उहाँको विरुद्धमा हामीले मिटिङ गरौँ, भाषण गरौँ, जुलुस निकाल्यौँ भन्न जानुहुन्छ ? एजेण्डा के छ ?, ’ मन्सुरको प्रश्न छ । पार्टीलाई अहित हुने गरी बोल्ने छुट कसैलाई नभएको भन्दै जथाभाबी बोल्दा राम्रो नहुने उनले बताए ।

कोइराला समूहले देउवामाथि लगाएको आरोप छाता ओढ्दा परेको हिलोको छिटा मात्र भएको पनि उनले बताए । उनले भने, ‘हिलो र वर्षालाई दण्डित गर्ने कुरा भएन । त्यस्तै हो । यसको केही महत्त्व छैन ।’

यस्तै केन्द्रीय सदस्य शंकर भण्डारीले पनि शेखर समूहको पाँच बुँदे निष्कर्षप्रति आपत्ति जनाए । कोइराला समूहले पार्टीको मर्यादा र हित बाहिर गएर गतिविधि गर्न थालेको उनको भनाइ छ । यो पार्टीका लागि राम्रो र सुखद विषय नभएको पनि भण्डारीले बताए ।

उनका अनुसार देउवा प्रवृत्तिविरुद्ध शेखर समूहले सातै प्रदेशमा भेला गर्ने छ । यस्तै भ्रातृ संस्थाको भेला भेला गर्ने छन् भने विभिन्न बहस र छलफलका माध्यमबाट रचनात्मक विरोधका कार्यक्रमहरू गरिने उनको भनाइ छ ।

 शेखर समूह भन्छ – स्पष्टीकरण दिन तयार छौँ

सहमहामन्त्री जीवन परियारले आफूहरूले उठाएका विषय पदाधिकारी बैठक र कार्यकर्तामा लैजाने बताए । उनका अनुसार कोइराला समूहले असार २१ गते १ बजे बस्ने पदाधिकारी बैठकमा आफ्नो निष्कर्ष सुनाउने छ ।

उनले रातोपाटीलाई भने, ‘अस्ति हामीले जे मुद्दा उठाएका छौँ । यी नै कुराहरू हामी जस्ताको त्यस्तै पदाधिकारी बैठकमा उठाउँछौँ ।’ पदाधिकारी बैठकमा आफूले राखेका कुराको रेस्पोन्स अनुसार केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने परियारले बताए । उनले भने, ‘हामीले मिडियामा सुनाउनका लागि भनेका होइनौँ । पार्टीमा गम्भीरतापूर्वक छलफल गरी यसको समाधान निकाल्ने गरी सभापतिलाई हामीले ध्यानाकर्षण गराएका हौँ ।’

आफूले उठाएका विषयका सन्दर्भमा सभापति देउवालाई स्पष्टीकरण दिन तयार रहेको परियारले बताए । यस्तै कोइराला पक्षका नेता डा.चन्द्र भण्डारीले पनि आफूहरूले उठाएका कुरा केन्द्रीय समितिमा पनि राखिने बताए ।

सातै प्रदेशमा भेलाहरू गरेर मुलुकलाई अगाडि बढाउने एजेण्डाहरु जनतामाझ लैजानु आजको आवश्यकता भएको उनको भनाइ छ ।

उनका अनुसार देउवा प्रवृत्तिविरुद्ध शेखर समूहले सातै प्रदेशमा भेला गर्ने छ । यस्तै भ्रातृ संस्थाको भेला भेला गर्ने छन् भने विभिन्न बहस र छलफलका माध्यमबाट रचनात्मक विरोधका कार्यक्रमहरू गरिने उनको भनाइ छ ।

यस्तै उनले सुविधा, भ्रष्टाचार, योजना र अन्तर्राष्ट्रिय सम्बन्धबारे कुरा गर्नु आत्मघाती कसरी हुन्छ भन्दै प्रश्न गरे ।

 ‘जनताले पाउने सुविधा, भ्रष्टाचार, योजना र अन्तर्राष्ट्रिय सम्बन्धबारे कुरा गर्नु आत्मघाती हुन्छ भने मुलुक बनाउने राम्रो कुरा के हो ? दिन सक्नुपर्‍यो नि ? अरूले गर्ने कुरा आत्मघाती हुने तर जनताले दुःख पाउने कुरा राष्ट्रवादी हुन्छ ? को प्रधानमन्त्री र मन्त्री भएर जनताले के पाए ? ३० औँ वर्ष एउटै व्यक्तिको मुख हेरेर मुलुक चल्छ ?,’ उनको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप