बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिएपछि पदाधिकारी टुंग्याउछौँ : वर्षमान पुन

आइतबार, १९ असार २०७९, २० : ००
आइतबार, १९ असार २०७९

नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य एवम पूर्वमन्त्री वर्षमान पुनले पार्टी पोलिटब्युरो र स्थायी समितिमा सहमति भएलगत्तै पदाधिकारीपनि टुंगो लगाएर जाने बताएका छन् । पार्टी केन्द्रीय समिति बैठक सकिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै पुनले पोलिटब्युरो र स्थायी समितिका विषयमा गृहकार्य पुरा भइसकेकाले सकेसम्म पदाधिकारी समेत टुंगो लगाएर चुनावमा एक ढिक्का भएर जाने बताएका हुन् ।

‘पार्टी महाधिवेशनले २९९ केन्द्रीय सदस्य चयन गर्ने भनेको छ । त्यसमध्ये विधानले १५ प्रतिशत मनोनित गर्ने व्यवस्था गरेको छ । त्यो १५ प्रतिशत मनोनित गरिएको छ । थप १० प्रतिशत विभिन्न पार्टीबाट प्रवेश गर्ने साथीहरुलाई राख्ने व्यवस्था छ’ पुनले भने, ‘अहिले स्थायी समिति पोलिटब्युरो टुंगो लगाउँछौ । र हामी व्यवस्थित ढंगले जिम्मेवारी लिएर आगामी निर्वाचनमा तयारीका साथ जान्छौ ।’ पदाधिकारीका विषयमा छलफल भइरहेकाले सकेसम्म टुंगो लगाउने प्रयास हुने पुनले बताए ।  

माओवादी केन्द्रीय समिति बैठकले स्थानीय चुनावमा पार्टीले सन्तोषजनक नतिजा ल्याएको निष्कर्ष निकालेको छ । ‘स्थानीय चुनावमा सन्तोषजनक परिणाम आएको छ । उम्मेदवार छनोटमा आन्तरिक पार्टी परिचालनमा केही समस्या देखिएको छ । एकाध ठाउँमा अन्तर्घात भएको कुरा आएका छन् । त्यसमा छानविन हुनुपर्छ भन्ने कुरा उठेका छन्’ पुनले भने, ‘गठबन्धनतर्फ काँग्रेसले भनेजस्तो इमानदारिता देखाएन । जहाँ हामी बलियो छौ त्यहाँ काँग्रेसले एमाले लगायत अरु पार्टीसँग गठबन्धन गरेको पाइयो । काँग्रेस बलियो भएको ठाउँमा आफ्नो उम्मेदवारलाई विजयी गरायो ।’

माओवादी र काँग्रेस बराबरी भएको क्षेत्रमा मात्रै तालमेल सफल भएको पुनले बताए । माओवादीको सोमबार बस्ने केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनका विषयमा छलफल हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप