बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

११ वर्षमा मनसुनजन्य विपद्ले २६ सय ६२ जनाको मृत्यु, ८८० बेपत्ता र १९ अर्बभन्दा बढी आर्थिक क्षति

आइतबार, १९ असार २०७९, १७ : ३०
आइतबार, १९ असार २०७९

मनसुनजन्य विपद्का घटनाले बितेको ११ वर्षमा नेपालमा ठूलो जनधनको क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७८ चैत मसान्तसम्म ११ वर्षको अवधिमा नेपालमा मनसुनजन्य विपद्का घटनाका कारण २ हजार ६६२ जनाको मृत्यु भएको छ । 

सोही समयमा रेकर्ड भएका ५ हजार ८२५ वटा मनसुनजन्य विपद्का घटनामा ८८० जना व्यक्ति बेपत्ता भएका छन् । विपद्का घटनाले ११ वर्षमा १९ अर्ब ८ करोड ३७ लाख ९७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ । 

‘नेपालको भौगर्भिक, भौगोलिक तथा जलवायुको अवस्था, वर्षातको प्रकृति एवं प्रवृत्ति, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहन, जथाभावी हुने विकासका कार्यहरु र प्रकृतिमा मानवको अतिक्रमणका कारण बाढी, पहिरो, हिमताल विस्फोट, हिमपहिरो जस्ता जलवायु तथा मनसुनजन्य प्रकोपका घटना हुने र ठूलो जनसंख्यालाई प्रभावित गर्नेक्रम बढिरहेको छ,’ प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ मा उल्लेख छ । 

नेपालमा मनसुनजन्य विपद्मध्ये बाढी, डुबान, कटान, पहिरो र भारी वर्षाले सबैभन्दा ठूलो जनधनको क्षति गर्ने गरेको छ । मनसुनजन्य विपद्ले पछिल्लो ११ वर्षमा १६ हजार ३९ घरमा पूर्ण क्षति र ४५ हजार ३९३ घरामा आंशिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । प्राधिकरणका अनुसार बितेको ११ वर्षको अवधिमा नेपालमा १ हजार ७५६ वटा बाढीका घटना रेकर्ड भएका छन् । ती घटनामा ८७५ जनाको मृत्यु र ५४८ जना बेपत्ता भएका छन् । बाढीका घटनाले १६ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी गरेको जानकारी प्राधिकरणले दिएको छ । 

‘नेपालको तराई र भित्री मधेशमा पर्ने तेइस जिल्लाहरू बाढीको उच्च जोखिममा छन् । काठमाडौं उपत्यकामा अवस्थित सहरहरु (काठमाडौ, भक्तपुर, ललितपुर), हेटौडा, चितवन, तुलसीपुर, घोराही एवं वीरेन्द्रनगर सहरी बाढीको दृष्टिबाट उच्च प्रकोपयुक्त मानिन्छन्,’ कार्ययोजनामा उल्लेख छ ।  विगत ११ वर्षमा मनसुनजन्य विपद्का  घटनामध्ये सबैभन्दा बढी पहिरोका घटना भएका छन् । मानवीय क्षति पनि पहिरोबाट धेरै भएको छ । यस अवधिमा २ हजार ४६५ वटा पहिरोका घटना रेकर्ड भएको छन् । ती घटनामा परी १ हजार ३८७ जनाको ज्यान गएको छ भने ३३० जना बेपत्ता भएका छन् । 

पहिरोले पछिल्लो ११ वर्षमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ । ‘२०२६ देखि २०७५ सालसम्म गएका पहिरोहरूको तथ्याङ्कलाई विश्लेषण गर्दा नेपालको महाभारत श्रृङ्खलादेखि उच्च हिमाली क्षेत्रबीचको भू–खण्डमा बढी मात्रामा पहिरो गएको पाइन्छ । पहिरोको घनत्वको हिसाबले बागमती तथा गण्डकी प्रदेश उच्च जोखिममा रहेको पाइन्छ । त्यसैगरी लुम्बिनी तथा मधेश प्रदेश भने सापेक्षित रूपमा पहिरोको कम जोखिममा रहेको पाइन्छ,’ कार्ययोजनामा भनिएको छ ।  

नेपालमा मनसुनमा हुने भारी वर्षाका कारण पनि ठूलो जनधनको क्षति हुने गरेको छ । विगत ११ वर्षमा नेपालमा १ हजार ६०४ वटा भारी वर्षाका घटना भएका छन् । यसबाट १ हजार ९८४ घरमा क्षति पुगेको छ भने ५ हजार ४७७ परिवार प्रभावित भएका छन् । भारी वर्षाका कारण उक्त अवधिमा नेपालमा ११८ जनाको मृत्यु भएको छ । भारी वर्षाले ५२ करोडभन्दा बढी आर्थिक क्षति गरेको छ । ‘भौगोलिक रूपमा मध्य पहाडी क्षेत्रका जिल्लाहरूमा भारी वर्षाका धेरै घटना र क्षति हुने गरेको देखिन्छ,’ कार्ययोजनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप