ad
x
अन्तरवार्ता

विरोध खतिवडाको प्रस्ताव : ६५ सिटमा तालमेल, बाँकीमा मैत्रीपूर्ण प्रतिस्पर्धा गरौँ !

‘घमण्डको पारो यथावत् छ, एमालेसँग सहकार्य सम्भव छैन’

person explore access_timeअसार १९, २०७९ chat_bubble_outline0

नेकपा एकीकृत समाजवादीका तर्फबाट पहिलो खेपमा मन्त्री भएकाहरूलाई फिर्ता बोलाएर नयाँ टिम पठाउने विषयमा पार्टीले गरेको निर्णय कार्यान्वयनमा ढिलाइ भएपछि अनेक किसिमका टीकाटिप्पणी र अड्कलबाजीहरू भए । मन्त्री हेरफेरको विषय पेचिलो बन्दै जाँदा गठबन्धन टुट्नेदेखि एकीकृत समाजवादी नै फुट्नेसम्मका आङ्कलन भए । विवाद र असन्तुष्टिका बीच पनि अन्ततः पार्टीले गरेको निर्णय कार्यान्वयन भयो ।


तर के मन्त्रीहरू फिर्ता हुने बित्तिकै सबै असन्तुष्टि शान्त भएका हुन् ? अब नेकपा एकीकृत समाजवादीभित्रको लफडा मिलेको हो ? राजीनामा दिनु नै थियो भने किन मन्त्रीहरूले राजीनामा गर्न ढिलाइ भयो ? के मन्त्री हेरफेरले पार्टीमा कुनै समस्या बल्झिँदै छ ? यसका साथै आगामी निर्वाचनमा हुने चुनावी तालमेल त्यसको मोडालिटी र गठबन्धनको भविष्यका विषयमा पार्टीका स्थायी कमिटी सदस्य तथा निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग कुरा गरेका छौँ । प्रस्तुत छ खतिवडासँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश : 



मन्त्री भएपछि कुर्सी छाड्न सबैलाई निकै सकस हुने रहेछ, होइन ?

बाहिर हल्लखल्ल हुनु बेग्लै कुरा हो तर, त्यस्तो भएन । हाम्रो शरीर त स्थायी होइन भने यो बीचमा प्राप्त हुने जिम्मेवारी, पद जस्ता विषयमा त्यस्तो हुने कुरै भएन । अझ पाँच–पाँच वर्षमा चुनाव हुने प्रावधान भएको हाम्रो मुलुकमा यी सबै कुरा ‘रोटेसन’ हो भनेर बुझ्नु पर्छ । त्यसैले यति सामान्य कुरा पनि पूर्व जानकारी भएन भने सामाजिक, राजनीतिक र व्यवहारिक काम कसरी गर्न सकिन्छ र ?

खास गाह्रो विषय केहि पनि थिएन । यो विषयलाई हाम्रै पार्टीका केहि मान्छेले गाह्रो बनाउने प्रयत्न गरेपछि मिडियाका साथीहरूले पनि यसलाई गाह्रो बनाउनु ठूलो कुरा भएन । हाम्रो नेपाली उखान पनि छ नि, ‘तिललाई पहाड बनाउने’ हो त्यस्तै मात्र हो ।

नेकपा समाजवादीका नेताहरूले मन्त्री पद छोड्ने बेलामा देखाएका क्रियाकलापले त्यस्तै पुष्टि हुन्छ नि !

मेरो हकमा भन्नुहुन्छ भने मन्त्री हुँदा र नहुँदाको जीवनमा कुनै फरक भएन । मैले सबैलाई भन्ने गरेको छु कि मान्छेको भावनामा खेल्नु हुँदैन । मान्छेको आफ्नै स्वभावजन्य विषयमा पनि हुन्छन् । इथियोपिया युद्ध र गरिबी देख्दा टेलिभिजन हेरेरै मान्छे रोएको पनि देखिएको छ, अन्य बाढी र पहिरोका बेलमा मान्छे रोएको देखेको छु । कतिपय साहित्य र चलचित्र नक्कली हो भन्ने जानेर पनि मान्छे रोएकै हुन्छ । त्यसैले यदि रामकुमारी झाँक्रीजीलाई लक्षित गरेर यो प्रश्न गर्दै हुनुहुन्छ भने प्रेम आले, किसान श्रेष्ठ र विरोध खतिवडा त रोएनन् ।

त्यसकारण यो एक जना व्यक्तिको स्वभाव र भावनाको कुरामा हो । उनी अलि कमलो मनकी रहिछन् भनेर बुझौँ । अथवा, मन्त्रालयमा भए गरेका काम, सँगै रहेको टिम, साथ दिइरहेको स्वकीय र सुरक्षा निकायहरू लगायतको परिवारसँगको बिछोडले पनि त्यो भाव हुन आएको हुनसक्छ । त्यसैले यस्तो विषयलाई सबैसँग जोडेर हेर्न म उपयुक्त ठान्दिनँ ।

त्यसो भए विवादको खास चुरो कुरो के थियो ?

खास गाह्रो विषय केहि पनि थिएन । यो विषयलाई हाम्रै पार्टीका केहि मान्छेले गाह्रो बनाउने प्रयत्न गरेपछि मिडियाका साथीहरूले पनि यसलाई गाह्रो बनाउनु ठूलो कुरा भएन । हाम्रो नेपाली उखान पनि छ नि, ‘तिललाई पहाड बनाउने’ हो त्यस्तै मात्र हो ।

हामीलाई मन्त्री भएपछि हट्नु पनि पर्छ, पुनर्गठन पनि हुन्छ भन्ने पूर्व जानकारी थियो नै । हामीले मन्त्रीबाट हट्नु अगाडी केही दिनको समय चाहिन्छ भन्ने मेरो लिखित माग त पढ्नु नै भएको होला । मन्त्री पदबाट हटेको कुरा चाँहि हिँड्दाहिँड्दै, टिभीमा समाचार सुनेर, अनलाइन हेरेर चाँहि सुन्न नपरोस् भनेर हामीले गएको चैतमा नै पार्टी अध्यक्षलाई भनेका थियौँ । तर, व्यवहारिक रूपमा त्यो भएन । त्यो विषयमा हामीले गुनासो गरेकै हो । र, अर्को विषय चाँहि मन्त्री पदबाट हटाउने समय नमिलेकै हो । बजेट पेस गरेर प्रतिनिधि सभामा जवाफ दिएर राष्ट्रिय सभामा जवाफ दिन बाँकी नै थियो ।

एउटा मन्त्रीले आफ्नो मन्त्रालयमा पुराना नयाँ कार्यक्रम किन राखिएको हो, वा माननीयहरूले राखेका नयाँ कार्यक्रम किन नराखेको यस्ता विषयमा मन्त्रीले जवाफ दिनु पर्ने दायित्व हुन्छ । त्यसैले अविश्वासको प्रस्ताव, नैतिक पतन हुने घटनाहरू वा भ्रष्टाचारका सम्बन्धमा आइलागेको केसहरूमा बाहेक बजेट सेसन चलिरहेका बेलामा अन्तर्राष्ट्रिय अभ्यासमा पनि मन्त्री परिवर्तन गर्ने अभ्यास छैन । किनकि आफूले प्रस्तुत गरेको बजेट आफूले डिफेन्स गरेर संसद्बाट पारित गराउनुपर्छ । त्यस्तो वातावरण नबन्दा यो विषय अलि गाह्रो बन्न पुग्यो ।

पुर्ख्यौली सम्पत्ति बाँडेजस्तो गरेर भाग पुर्‍याएर राज्य सञ्चालन गर्ने विषय होइन । पार्टीमा पनि पोर्टफोलियो वा योग्यता पुगेका मान्छेले ठीक जिम्मेवारी पाउनुपर्छ । अस्थायी संरचनाबाहेक खुसी पार्नकै लागि उपाध्यक्ष, महासचिव बनाउने नसुहाउँदो विषय हो ।

पार्टीभित्र यो अवस्था चाँहि किन आयो ?

अलिकति जानकारीको कमीले वा त्यो निर्णय गर्ने ठाउँमा बसेका साथीहरूको त्रुटीका कारणले भएको हो । त्यसमा हामीले आवाज उठाएकै हौँ ।

६ महिनामा नै तपाईंहरूले मन्त्री छोड्नु पर्ने पहिले नै सहमति भएको होइन र ?

बाहिर आए जस्तो ६ महिना, ९ महिना वा यति नै महिना भन्ने थिएन तर, सामान्यतया हामी नयाँ बन्दै गरेको पार्टीमा नयाँ माननीयहरूलाई पनि काम गर्ने अवसर दिनुपर्छ र त्यस बीचमा मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ भन्ने कुरा भएको हो ।

यसरी पार्टीका सबै नेता र सांसदका लागि भागबन्डा गर्दै मन्त्रीको पालो पुर्‍याउँदा देश चाँहि र कहिले र कसरी बन्छ ?

पुर्ख्यौली सम्पत्ति बाँडेजस्तो गरेर भाग पुर्‍याएर राज्य सञ्चालन गर्ने विषय होइन । पार्टीमा पनि पोर्टफोलियो वा योग्यता पुगेका मान्छेले ठीक जिम्मेवारी पाउनुपर्छ । अस्थायी संरचनाबाहेक खुसी पार्नकै लागि उपाध्यक्ष, महासचिव बनाउने नसुहाउँदो विषय हो । काम गर्नका लागि क्षमता राख्ने मान्छे नै ल्याउनुपर्छ भने सरकारमा पनि प्रधानमन्त्री मन्त्री बनाउँदा पनि उसको काम गर्ने रुचि र क्षमता राख्ने मान्छेलाई जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता हो । यो भागबण्डा गर्ने, पालो फेर्ने, चित्त बुझाउने विषय सैद्धान्तिक रूपमा ठीक होइन । यद्यपि यो गठबन्धन सरकार छ, हामी विभिन्न पार्टीहरू सामेल छौँ भने हामी समाजवादी पार्टी निर्माणकै क्रममा छौँ । त्यसैले यो व्यवहारिक रूपमा लागु हुन सक्दैन ।

मन्त्री फेर्ने पार्टीको निर्णयलाई निवर्तमान मन्त्रीहरूले सहजै नस्वीकारेर खुमलटार र बालुवाटार धाए, कुकुरले पुच्छर हल्लाउनुको साटो पुच्छरले कुकुर हल्लायो भन्ने टिप्पणी पनि भए नि ?

यदि नेता तहले यस्तो टिप्पणी गरेको हो भने उसलाई म अल्पज्ञानी भन्छु । यदि कुनै नागरिक तहबाट भएको हो भने पनि यो विषयमा उहाँको अध्ययन पुगेन भन्छु । र, सञ्चार क्षेत्रका साथीहरू पनि यसमा कन्भिन्स भएर यो प्रश्न गर्नु भएको हो भने तपाईंहरूले पनि यो संसदीय अभ्यासलाई अझ गहिरिएर बुझ्न आग्रह गर्छु ।

हामीलाई मन्त्री बनाउन मेरो पार्टीको लेटरप्याडमा हामी पाँच जनाको नाम दिइएको हो । त्यहाँ मेरो व्यक्तिगत निवेदन पर्नुपरेन । पार्टीले निवेदन दियो शेरबहादुर देउवाजीले गठन गर्नुभयो । त्यसैगरी मेरो पार्टीले हामीलाई परिवर्तन गर्ने निर्णय गर्‍यो । लिष्ट प्रधानमन्त्रीका पुग्यो र सोही अनुसार प्रधानमन्त्रीले गर्नुभयो । बीचमा हाम्रो भूमिका केही रहँदैन । तर, यहाँ फलानाले राजीनामा दियो फलानाले दिएन भन्ने जस्ता प्रोपोगाण्डा पनि चलाइयो । यो गलत हो, यदि राजीनामा नै नलेखी कसरी मन्त्रीमण्डल पुनर्गठन भयो भन्ने विषयमा ध्यान कसैको गएन ।

तर, मन्त्रीहरूबाट आफ्नो पद जोगाउन कहिले बालुवाटार त कहिले खुमलटार धाउने काम त भएको हो नि ?

गठबन्धनमा पार्टीको एक व्यक्ति एक्लै दौडेर सफल हुन्छ होला र ! त्यसले मैले राजीनामा दिइनँ अथवा अर्कोले दिएन भने पनि मन्त्रिमण्डल पुनर्गठन हुन्छ, भयो । त्यसैले पार्टीले नै पठाउने हो, पार्टीले नै झिक्ने हो । त्यो बीचमा राजीनामा, कायलनामा, धन्यवादनामा केही पनि हाल्न पाइँदैन । त्यसैले यस विषयमा पनि अलिकति हावा दिने काम, मनोरञ्जन लिने काम भयो । यो बेलामा उसलाई खुइल्याउन पाइयो भने आफ्नो उचाइ अलिकति बढ्थ्यो कि भनेर पार्टी भित्रैबाट पनि केहि कुरा भने भएको हो ।

मन्त्री हेरफेरको निर्णयको विरोध गर्दै तपाई लगायत केही मन्त्री र सांसदले संसदीय दलको बैठक बोलाउन पत्र नै दर्ता गर्नुभएको थियो ?

मौखिक कुरा भन्दा लिखितम सबैभन्दा सत्य बोल्छ । हामीले दिएको तपाईंले आठौँ बुँदामात्र पढ्नुभयो । तर, आठौँ बुँदालाई तीन बुँदामा हेर्न सकिन्छ । जसमा एउटा कुरा सूचना गरिएन, प्राविधिक रुपले त्यसमा त्रुटी भयो । त्रुटी हुँदाहुँदै पनि पार्टी निर्णय मान्नुपर्छ त्यसमा कुनै शंका रहेन । अर्को बजेट ५/७ दिनमा सकिँदै छ, त्यसैले राष्ट्रिय सभामा जवाफ दिएपछि पुनर्गठन गरौँ भनेका हौँ । त्यहाँ केहि साथीहरूले १५ मिनेटमै २० मिनेटमै हुनुपर्छ भन्नु भयो तर अन्तिममा प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठले राष्ट्रियसभामा जवाफ दिनुभयो । मेरो एउटा बाँकी रह्यो । १३ गते उहाँहरूले जवाफ दिनु भयो १४ गते पालो मेरो थियो तर, १३ गते राति नै पुनर्गठन गरियो ।

अब बाँकी रह्यो बालुवाटार र खुमलटार धाएको विषय त्यो नियमित प्रक्रिया नै हो । बरु प्रधानमन्त्रीकहाँ मन्त्री किन गएन भन्ने चाँही प्रश्न उठ्न सक्छ, उहाँकहाँ जाँदा प्रश्न उठ्नु स्वभाविक होइन । र, मन्त्रीबाट हट्दै गर्दा हाम्रा जिम्मेवारी र कार्यसम्पादनका कुराहरूको जानकारी गराउनदेखि भावी योजनासम्मका कुरा बारेमा बताउन पनि हाम्रो नियमित आवतजावत स्वभाविक प्रक्रिया थिए ।

म नेकपा एसलाई बलियो बनाउन हिँडेको मान्छे हुँ, बलियो बनाउन हिँड्छु । त्यसैले हाम्रा विषयमा म जानकार छु। त्यसैले मुसाले जस्तो कोतरी कोतरी प्वाल पार्नु जरुरी म देख्दिनँ ।

अघिल्लो प्रश्नमै जोडौँ, संसदीय दलको बैठक बोलाउन दर्ता गरिएको निर्णय पछि एक मन्त्रीसहित ६ सांसदले फिर्ता लिनुभयो तर, तपाइँले त लिएको देखिएन नि किन ?

सहमति गर्ने बेलामा चाँहि मेरो क्वार्टरमा १० जना १० घण्टा हाँसीखुसी सहमतिमा सही गरेर जानु भएको हो । त्यसको भोलिपल्ट ६ जनाले चाँहि फिर्ता लिनु भयो भन्ने सुनेँ । त्यसैले उहाँहरूले किन फिर्तालिनु भयो त्यो चाँहि मेरो कन्सर्नको विषय भएन । उहाँहरूले म सँग नसोधी फिर्ता लिएको कुरा मैले भन्ने कुरा पनि भएन ।

आफ्नै दौतरिहरू नै अन्तर्घाती निस्किए ?

शब्दमा यसलाई जे पनि भन्न सकिन्छ । एकैछिनमा निर्णयबाट पछि हट्नेलाई नेपाली शब्द कोषमा के भनिन्छ त्यो राख्दा नि भयो अथवा, तपाईंले भनेकै शब्द पनि प्रयोग गर्न सकिएला तर, म चाँहि केहि भन्दिनँ । के किन भनेर खोज्दै जाँदा पर्दा पछाडि थुप्रै विषय पनि भेटिएलान् ।

एक पटक वामदेव कमरेडले पार्टी फुटाउनु भएको थियो र उहाँ शून्य हुनु भएको थियो । तर, हामी पार्टी बनाएको ८/१० महिनामा नै सन्तोषजनक नतिजा प्राप्त गरेका छौँ । त्यसकारण हाम्रो जरा हल्लिने होइन झन्झन् जरा गाड्दै जान्छ र आउँदो संघ र प्रदेशको निर्वाचनमा हाम्रो स्थिति, आकार र उपस्थिति अझ बलियो हुन्छ ।

यो असन्तुष्टिपछि निवर्तमान मन्त्रीहरू पार्टी नै छोड्ने समेत मनस्थितिमा पुगेका छन् भन्ने पनि सुनिन्छ, के तयारी त्यस्तै हो ?

निवर्तमान मन्त्री पनि मै हो । अनि हामी ४ जना मन्त्रीहरूको मनस्थितिलाई व्याख्या गर्दिने को ? एकदमै पीडित आत्मा भएर बसेका छन् भनेर बाहिरबाट कसले व्याख्या गरिरहेको छ ? त्यो पनि म जान्दिनँ । पाटीमा द्वन्द्व भएर एकदमै मारामार भइरहेको छ भनेर कसले भन्छ त्यो पनि म जान्दिनँ । के–के हुँदा मारामार र द्वन्द्व हुने हो त्यो पनि जान्दिनँ । त्यसैले यो तासको घर खडा गर्ने पक्षमा म छैन ।

म नेकपा एसलाई बलियो बनाउन हिँडेको मान्छे हुँ, बलियो बनाउन हिँड्छु । त्यसैले हाम्रा विषयमा म जानकार छु। त्यसैले मुसाले जस्तो कोतरी कोतरी प्वाल पार्नु जरुरी म देख्दिनँ ।

तर, हावा नचली पात त्यसै हल्लिएको होइन होला ?

कहिलेकाहीँ जरा समाएर हल्लायो भने पनि हल्लिन्छ नि ।  हावा पनि लागेन पात पनि हल्लिएन भनेर रुखै झ्याप्प रुखै समाएर जोड जुलुम गर्‍यो भने त जरैबाट पनि हल्लिन्छ । अहिले यो विद्रोह हुने, मन्त्री रुने, चित्त दुखाएर बसेका लगायतका कुरा पनि त्यसरी नै झ्याप्प रुखै हल्लाउँदा हल्ली पो हाल्छ कि भन्ने कुरा मात्र हुन् । वास्तविकता त्यस्तो होइन ।

तपाईंहरूलाई यसरी जरैदेखि हल्लाउने शक्ति चाँहि को रहेछ ?

त्यस्तो कोही पनि छैन । बरु हामी जरैदेखि पार्टीलाई बलियो बनाउनेमा चाँहि लागिरहेका छौँ । हामी हाम्रो पार्टीलाई जरैबाट बलियो बनाउन बिरुवा रोपेका छौँ । बिरुवा सर्ने नसर्ने पनि डर हुन्थ्यो तर, बिरुवा सरिसक्यो, जरा हालिसक्यो । कारण, हामीले राष्ट्रियसभाको चुनाव र स्थानीय तहको चुनावको सामना गरिसक्यौँ र हामीले उपयुक्त नतिजा पनि ल्यायौँ ।

एक पटक वामदेव कमरेडले पार्टी फुटाउनु भएको थियो र उहाँ शून्य हुनु भएको थियो । तर, हामी पार्टी बनाएको ८/१० महिनामा नै सन्तोषजनक नतिजा प्राप्त गरेका छौँ । त्यसकारण हाम्रो जरा हल्लिने होइन झन्झन् जरा गाड्दै जान्छ र आउँदो संघ र प्रदेशको निर्वाचनमा हाम्रो स्थिति, आकार र उपस्थिति अझ बलियो हुन्छ ।

ज्येष्ठ नागरिकको मनोविज्ञान बुझ्ने गरिको अस्पताल ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने गरि मन्त्री परिषद्बाट निर्णय गराएँ र त्यो काममा पनि हामी अघि बढ्छौँ । यस्ता धेरै काम छन् जसलाई यहाँ भनेर सकिँदैन ।

अब, राजनीतिक जीवनको उत्तरार्धमा मन्त्री बन्नुभयो । आठ महिना २० दिन मन्त्रीको पदमा रहनुभयो ? त्यो अवधिमा जनताको पक्षमा केके काम गरे भन्ने लागेको छ ?

आफ्नो कार्यकालको समीक्षा धेरै लामो हुन्छ । छोटोमा भन्दा एउटा मन्त्री वा प्रधानमन्त्री पदमा जाँदा सिङ्गो राष्ट्र नै उथलपुथल हुने होइन । नियमित कामहरू भइनै रहन्छन् । जसरी राणाकाल, पञ्चायतकालदेखि आजसम्म सडक र पुलहरू बनिरहेका छन् त्यसरी नै हरेक क्षेत्रका काम भइरहेका हुन्छन् ।

फरक यति हो कि, त्यहाँ भ्रष्टाचार हुन्छ कि हुँदैन, हिजो भइरहेका कामको मात्रा कति बढ्यो वा घट्यो, गुणस्तर कति घट्यो बढ्यो भन्ने विषय चाँहि मूल्याङ्कनको पाटो हो । त्यसैले मैले सम्हालेको मन्त्रालयमा पनि हिजो हुने नियमित कामहरू भइनैरहे । त्यसैले मैले मेरो कार्यकालमा मुख्य गरेर अलपत्र अवस्थामा रहेको गेटा मेडिकल कलेजलाई १ अर्ब बजेट छुट्याएर अस्पताल प्रमुख खटाएर ३ सय बेडसहितको अस्पताल साउनबाट सञ्चालनमा आउने गरिको व्यवस्था गरेँ । थारु समुदायमा रहेको सिकलसेल रोगका लागि स्वास्थ्य केन्द्र भनौँ या अस्पताल निर्माण गरेर उनीहरूको उपचारका लागि बजेट नीतिमै व्यवस्था गरेको छु । यस्तै काठमाडौँमा बाहेक मुटु र  मिर्गौला प्रत्यारोपण हुँदैन थियो तर मैले त्यसलाई सातै प्रदेशमा लाने प्रयत्न मात्र नभएर पोखर र सुर्खेतमा मिर्गौला प्रत्यारोपण गराउने सम्झौता नै गरेँ ।

र, मलाई लाग्छ आउँदो आर्थिक वर्षबाट पोखरमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ । त्यस्तै मुटुको लागि पनि पोखराले जमिन उपलब्ध गराइसकेको छ र सातै प्रदेशमा यो कार्यक्रम सुरु गरिसकेको छु । र यस्ता प्राण घातक रोगको उपचार गराउन नसक्नेका लागि सिड मनीबाट १० करोड रकम छुट्ट्याएर कार्यक्रमको सुरुवात गरेको छु । यसअघि ७०/७२ थरिका औषधीहरू मात्र निःशुल्क थिए मैले ९८ थरिका औषधी निःशुल्क पाउने व्यवस्था गरेँ ।

ज्येष्ठ नागरिकको मनोविज्ञान बुझ्ने गरिको अस्पताल ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने गरि मन्त्री परिषद्बाट निर्णय गराएँ र त्यो काममा पनि हामी अघि बढ्छौँ । यस्ता धेरै काम छन् जसलाई यहाँ भनेर सकिँदैन ।

यद्यपि, जुन बेला म मन्त्रालय सम्हाल्न पुगेको थिएँ त्यो समय कोरोना महामारीको विकराल अवस्था थियो र भ्याक्सिनको अत्यन्तै आवश्यकता चुलिएको थियो । तर हामीले युद्धस्तरमा खोप अभाव हुन दिएनौँ र आज आएर बुस्टार डोजदेखि लिएर ५ देखि ११ वर्षका बालबालिकाहरूलाई समेत खोपको व्यवस्था गरेका छौँ ।

सत्ताको कुर्सीमा बस्दा र बाहिर बस्दा कति भिन्नता पाउनुभयो ?

ठ्याक्कै सैद्धान्तिक र व्यवहारिक रूपबाट ‘पोइन्ट वान पर्सेन्ट’ पनि भिन्नता छैन । तर, कामको हिसाबले त्यहाँ अलिकति चाप हुन्थ्यो नै । कयौँ नीतिगत कुराहरूको चाप हुन्थ्यो । यस अर्थमा पदीय जिम्मेवारीमा हुँदा विभिन्न खाले कामले व्यस्त भइन्थ्यो ।

अब, मन्त्रीबाट हटिसकेपछि पार्टीका विभिन्न कामको जिम्मेवारीको चाप हुन्छ । त्यसैले मन्त्री हुँदा एकदमै सिङ जुरो उम्रेर श्रीपेच लगाए जस्तो हुने र मन्त्री नभएपछि चाँहि केहि पनि नहुने चाँहि केहि पनि छैन । मलाई मन्त्री हुँदा पनि उस्तै हो नहुँदा पनि उस्तै नै छ ।

यद्यपि अलिकति ज्ञान चाँहि बढ्यो है । हिजो मैले जसरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुझेको थिएँ, हेरेको थिए, केहि समय त्यही बसेर काम गर्दा त्यो दृष्टिकोणमा परिवर्तन आएको छ । त्यसका समस्याहरू, ती समस्या समाधान हुन सक्ने र हुन नसक्ने कारणहरूबारे जानकार भएको छु । त्यहाँ आँट्दा हुने काम, के आँटेर पनि नहुने काम के जस्ता विषयमा केहि जानकार हुन पाएको छु ।

अघिल्लो पटक आफू सरकारमा हुँदा कति खाएको थियो त्यही सोचेर आरोप लगाइएको होला । जस्तो अघिल्लो पटक स्वास्थ्य सामाग्री खरिद गर्दालगायत विषयमा ओम्नी काण्डजस्ता काण्डहरू मच्चिए । नक्कली स्क्याण्डल खडा गरेर विरोधको विरोध मात्र गरिएको हो ।

पहिला स्वास्थ्य मन्त्रालयमा ठुलठुला भ्रष्टाचार भए भनेर तपाईंहरु आफै भन्ने गर्नुहुन्थ्यो, त्यहाँ कसरी भ्रष्टाचार हुने रहेछ र आफूले कति सुधारका काम गर्नुभयो ?

माफिया जहाँ पनि हुन्छन् । जहाँ व्यापार र पैसासँग गाँसिएका कुरा आउँछन् त्यहाँ माफिया आउँछन् र चलखेलका प्रयास हुन्छन् । तर, मेरो नाम नै पहाड जस्तो भएर हो कि संसद्मा चर्का कुरा गरेको देखेर हो कि अथवा विभिन्न सभा गोष्ठीमा बोलेका हिसाबमा हो कि अथवा विभिन्न ५ तारे होटेलमा बसेर ट्वाक्क चुस्की र ह्विस्की खाने नगरेर हो कि म सँग भ्रष्टाचारका लागि ढोकासम्म आएर ढ्याक ढ्याक गर्नै डराए ।

ती भ्रष्टाचारका प्वालहरू म सम्म आइपुगेनन् । म सँग आइपुग्न भ्याउँदै भ्याएनन् र केही त्यस्तो सेटिङका गर्न चाहना राख्ने मान्छेहरू रिसाए, परपरै भागे । अथवा, कोही झुक्किएर आइहालेका थिए भने पनि यो बाट काम हुँदैन भने परपरै भागे । त्यसकारण मैले आफ्नो कार्यकालमा भ्रष्टाचारसम्बन्धी विषयमा सामना नै गर्नुपरेन ।

तर, प्रतिपक्षीले कोभिड विरुद्धको खोपमाथि नै भ्रष्टाचार गरेको आरोप लगायो नि ?

अघिल्लो पटक आफू सरकारमा हुँदा कति खाएको थियो त्यही सोचेर आरोप लगाइएको होला । जस्तो अघिल्लो पटक स्वास्थ्य सामाग्री खरिद गर्दालगायत विषयमा ओम्नी काण्डजस्ता काण्डहरू मच्चिए । नक्कली स्क्याण्डल खडा गरेर विरोधको विरोध मात्र गरिएको हो ।

म सँग आएको खोप कुन नामको खोप, कुन देशबाट आएको कति डोज कुन मितिमा आयो भनेर पूर्ण तथ्यांक छ । सँगै कुन प्रदेशमा कुन मितिमा कुन डोज वितरण गरियो भन्ने पनि तथ्यांक छँदैछ ।  त्यसैले मैले एक रुपैयाँ पनि हिनामिना गरेको छैन र निःशुल्क वितरण गरिएको खोप तलमाथि गरियो भन्नुको कुनै अर्थ पनि छैन ।

तपाईंले आफ्नो कार्यकालको अवधिमा यस्तो गर्न पाए हुन्थ्यो तर गर्न सकिएन, पाइएन भन्ने कुनै गुनासो रह्यो?

काम गर्न नपाएको भन्ने सन्दर्भमा चाँहि अन्य मुलुकमा चाँहि कर तिर्ने समय भएपछि कर तिर्न मान्छे खोज्दै जान्छन् तर यहाँ कमाएपछि भाग्ने चलन छ । हामीकहाँ लोकप्रिय कार्यक्रम भनेकै निःशुल्क सेवा सुविधा र ढुकुटी बाँड्ने विषय पर्ने गरेको छ । यो पार्टलाई छाडेर मुटु, मिर्गौला लगायतका गम्भीर रोगहरूको उपचार निःशुल्क गर्न पाए हुन्थ्यो भन्ने इच्छा थियो र छ पनि ।

सय, हजार रुपैयाँले निको हुने रोगहरू जनताले जसो त्यो पैसा जुटाउँछन् तर, मिर्गौला, मुटु, क्यान्सरजस्ता रोगको उपचार गर्न नसकेर मान्छे ज्यान नै गुमाउने अवस्थामा छन् । त्यसैले यसलाई निःशुल्क गर्न सके हुन्थ्यो भन्ने चाहना हो । तर, देशको बजेटको सीमा, मन्त्रालयको बजेटको सीमाका कारण सबैतिर सन्तुलन मिलाउनु पर्ने रहेछ ।

संगठन बिना चुनाव लड्ने, जित्ने अथवा धरै मत लिन भन्ने नै हुँदैन । त्यसकारण पहिलो काम संगठन बनाउने र पार्टी निर्माण गर्ने हो । संगठन नबने नतिजा आउँदैन । त्यसैले चुनावका लागि आगामी २–३ महिनाभित्र संगठन चुस्त दुरुस्त बनाउँछौँ र वडावडामा हाम्रो संगठन लिएर हिँड्ने कमिटी र मान्छे हुन्छन् ।

अब, समयावधिको कुरामा चाँहि मैले मङ्सिरसम्म बसेर पनि गर्ने यस्तै नै थियो। यदि राम्रो परिणाममुखी काम गर्न चाँहि ५ वर्षे स्थायी सरकार नै चाहिन्छ ।  ५ वर्षसम्म एउटै मन्त्रीले काम गर्न पाउने हो भने, कुनै पनि योजनाको शिलान्यासदेखि उद्घाटनसम्म उसैले गर्नसक्छ नत्र गर्ने भनेको मैले जस्तै हो ।

अब, थोरै आगामी निर्वाचन केन्द्रित प्रश्न । आगामी चुनावका लागि पार्टीले के कस्तो तयारी गर्दैछ ?

अरू पार्टीले जस्तो गरिरहेका छन् हाम्रो तयारी पनि त्यस्तै नै हो । तर, अरूको भन्दा हाम्रो नयाँ कुरा भनेको हामी पार्टी निर्माणका क्रममा छौँ । अहिलेसम्म कूल ५५ प्रतिशत वडामा मात्र हाम्रो कमिटी बनेको छ । त्यसलाई विस्तार गर्नुछ । गाउँ कमिटी नबनेको ठाउँमा गाउँ कमिटी बनाउनु पर्‍यो ।

स्थानीय तह निर्वाचनमा हामीले २७ प्रतिशत मात्र उम्मेदवारी दिएका थियौँ । अब, त्यसलाई पूर्णता दिनतर्फ लाग्नुपर्‍यो । त्यसैले हाम्रो मुख्य काम भनेको संगठन निर्माण नै हो ।

नेकपा एकीकृत समाजवादीको प्राथमिकता संगठन निर्माण नै हो ?

१, २, ३ हाम्रो पहिलो प्राथमिकता नै संगठन निर्माण हो ।  संगठन बिना चुनाव लड्ने, जित्ने अथवा धरै मत लिन भन्ने नै हुँदैन । त्यसकारण पहिलो काम संगठन बनाउने र पार्टी निर्माण गर्ने हो । संगठन नबने नतिजा आउँदैन । त्यसैले चुनावका लागि आगामी २–३ महिनाभित्र संगठन चुस्त दुरुस्त बनाउँछौँ र वडावडामा हाम्रो संगठन लिएर हिँड्ने कमिटी र मान्छे हुन्छन् ।

स्थानीय तह निर्वाचनमा गठबन्धनप्रति तपाईंहरुको ठूलो गुनासो देखियो । प्रदेश र संघको चुनावमा पनि यही गठबन्धनलाई निरन्तरता दिने सोच्नुभएको छ कि विकल्पबारे पनि सोच्नुभएको छ ?

बोल्दा कसले कसरी बोले थाहा छैन । अगाडी र पछाडिको शब्द मिलाउने भएका छन् । तर कयौँ असमझदारी र असन्तुष्टिका बाबजुद पनि स्थानीय तह निर्वाचनमा जुन नतिजा आयो त्यसबाट हामी सन्तुष्ट छौँ र गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने हो ।

तीन जना मिल्ने साथीहरू छन् भने हरेकले अरूभन्दा मैले बढी योगदान गरिरहेको छु भन्ने सोच्दो रहेछ, गठबन्धनमा पनि त्यस्तै भएको हो । रेस्टुराँको पैसा मैले तिरे, अर्कोले मैले मासुको पैसा तिरे, भाडा मैले माझेँ, त्यसले केही गरेन भन्छ, फेरि अर्कोले यातायातको मैले तिरे उसले केही गरेन भन्ने हुँदो रहेछ भनेपछि माओवादी र काँग्रेस समाजवादीले धोका दियो भन्ने, हामी माओवादी र काँग्रेसले धोका दियो भन्ने भइरहेको छ । हामी सानो थियौँ, धोका दिएको भए पनि सानै अङ्कमा धोका भयो । काँग्रेस ठुलो पार्टी थियो, उसले धोका दिएको भए उसले ठुलो भएकाले ५० वटा पालिकामा धोका दियो । हामीले धोका दिएको भए ५ वटामा दियौँ ।

चुनाव हारेपछि अथवा थोरै र जमानत जफत भएपछि हार्ने जतिको प्रतिक्रिया अन्तर्घात या धोका । त्यो पनि नभए पानी परेर खोलो तर्न नसेक पछि मान्छे आएन त्यसकारण हारेँ भन्छ । जित्ने मान्छेको चाहिँ पानी पर्दा पनि खोलो तरेर आएर भोट हाल्ने र जित्ने तर हार्नेको चाहिँ तर्न नसकेर नआउने र हार्ने वा त्यही दिन मलामी जानुपर्ने सामान्यतया यसो भन्ने गरिन्छ । म अयोग्य भएर र भोट नपाएर मैले हारेँ भन्दो रहनेछ । दोष अन्त्य नै दिने ।

आगामी संघ र प्रदेशमा हुने निर्वाचनमा यही गठबन्धन रहन्छ कि ?

अहिलेसम्म शतप्रतिशत यहीँ गठबन्धन जाने कुरा छ । किनभने बिना गठबन्धन सरकार बन्ने स्थिति नै छैन । हाम्रो संविधानको संरचनाअनुसार १६५ मा ११० सिट समानुपातिक छ । यो संख्याअनुसार कसैले बहुमत ल्याउन कठिन छ । ०६४ सालमा माओवादीको आँधीहुरी आएको थियो । तैपनि उसलाई बहुमत ल्याउन यो समानुपातिकले दिएन प्रत्यक्षमा बहुमत ल्याए पनि । जस्तो २०७४ को चुनावमा काँग्रेसले २३ सिट जित्यो, एमालेले ८० सिट जित्यो । ८० र २३ को ग्याप हेर्नुस् त ? तर समानुपातिक काँग्रेस ४०, एमाले ४१ ल्यायो । यसरी हेर्दा समानुपातिकले एकैचोटी २३ लाई ६३ मा पुर्‍यायो । त्यसकारण यो समानुपातिक हुँदासम्म बहुमतका लागि कुनै न कुनै रूपले गठबन्धन हुन्छ नै । फेरि हाम्रो मात्रै गठबन्धन होइन, हामीसँग प्रतिस्पर्धामा उत्रनेले पनि राप्रपासँग सम्झौता गरिसक्यो । सिके राउतसँग, महन्थ ठाकुरसँग गर्‍यो । चितवनमा देखिहाल्नुभयो उपप्रमुख नै राप्रपाको । त्यसकारण गठबन्धनको कुरा हामीतिर मात्रै नफर्काउनुस्, अरुतिर पनि गठबन्धन भएको छ । तर फरक के छन भने उतातिर पीडित आत्माहरूको गठबन्धन छ यता हेर्न लायक र सुहाउँदो छ ।

पार्टीको प्रस्ताव होइन मेरो प्रस्ताव भन्नुहुन्छ भने १६५ सिटमध्ये ६५ मा गठबन्धन गरौँ । त्यहाँ एकअर्काका विरुद्ध उम्मेदवार नउठाऔँ ।

यही गठबन्धन रहने हो भने संघ र प्रदेशको चुनावमा ५ दलबीचको चुनावी तालमेल र सिट बाँडफाँडको मोडालिटी कस्तो हुनसक्छ ?

मोडालिटी वार्ताबाट हुने हो । कुनै पनि पार्टीले राष्ट्रव्यापी भोट पाउनु पनि पर्यो, भोट पाउन सोही अनुसार उम्मेदवार पनि हुनुपर्‍यो । एक छिनलाई मानौँ कुनै पार्टीले ३० सिट पायो रे । १६५ मा ३० मा उठेर १३५ सिट रुख, हँसिया हथौडा या कलम वा छाता चिन्ह नै नहुने ? त्यो भयो भने त पार्टी राष्ट्रव्यापी हुँदैन । त्यो पार्टी त खुम्चँदै खुम्चँदै गएर भुरे टाकुरे स्थितिमा पुग्छ । त्यसैले हामीलाई राष्ट्रव्यापी पार्टी बन्नु भने हामीले त्यसको उचित फर्मुला बनाउनुपर्छ ।

दोस्रो गठबन्धनसँग गाँसिएका केही प्रमुख मान्छेहरू उम्मेदवारीबाट जित्नु वा आउनु भन्नका लागि पनि सोही अनुसारको व्यवस्था गर्नुपर्छ ।

१६५ मा तपाईंहरुको दाबीचाहिँ कति सिटमा रहन्छ ?

पार्टीको प्रस्ताव होइन मेरो प्रस्ताव भन्नुहुन्छ भने १६५ सिटमध्ये ६५ मा गठबन्धन गरौँ । त्यहाँ एकअर्काका विरुद्ध उम्मेदवार नउठाऔँ । त्यो ६५ मध्ये काँग्रेसले २०,२५ कति राख्ने हो राखोस् । माओवादीले १५,२० कति राख्ने हो राखोस्, समाजवादीले १०,१५ कति राख्ने हो राखोस्, जसपाले पनि राखोस् । तर त्यो ६५ आसपास मात्र होस् । यो भित्र सुरक्षित गरौँ त्यसो गर्दा सबै उम्मेदवार जित्छन् । बाँकी सय सिटमा खुला प्रतिस्पर्धामा छोडौँ । सय सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धा गरौँ । यो ६५ मा जहाँ एक छिनलाई म उठेँ र काँग्रेसको परेन भने प्रदेश पनि सँगसँगै हुन्छ त्यहाँ रुखलाई जिरो त बनाउनुभएन, त्यो हिसाबले सन्तुलन मिलाउनुपर्छ ।

तपाईंको प्रस्ताव र पार्टीको प्रस्ताव मिल्ने सम्भावना कति छ ?

यो पक्षबाट अहिलेसम्म छलफल भैसकेको छैन । पार्टीमा प्रस्ताव आएपछि यसबारे छलफल हुन्छ । 

तीनवटा मोर्चा बन्नु राम्रो हुन्छ भन्ने हिसाबले छलफल सुरु भएको छ । एउटाको लीड काँग्रेसले गरिरहेको छ, अर्को संशोधनवादी धारको लीड एमालेले गरिरहेको छ र अर्को बाँकी रहेको माओवादी केन्द्र हामी, जसपा र जनमोर्चा लगायतका तेस्रो ध्रुव । यो तीनवटा राजनीतिक ध्रुवको वा पोलको सिनारियो नेपालमा देखिन्छ ।

अघि समानुपातिक प्रणालीको प्रसङ्ग उठाउनुभयो, के समानुपातिक प्रणालीप्रति तपाईंको वितृष्णा हो ?

होइन । हामीले जुन सिस्टम अँगालेका छौ त्यसले एउटै पार्टीलाई बहुमत दिँदैन भनेको हो ।

के यो संशोधन हुन आवश्यक छ ?

छैन, म अहिले त्यो आवश्यक ठान्दिनँ । तर यसलाई क्रमशः घटाउँदै लैजानुपर्छ । लोकतन्त्रमा प्रत्यक्ष चुनाव र प्रत्यक्ष निर्वाचित प्रतिनिधि हुनुपर्छ । राष्ट्रिय सभा हेर्दा चुनाव हो तर शान्त स्वभावमा भन्ने हो भने मनोनीत नै हो । पहिले नै यति भोट आउँछ र यसले जित्छ भन्ने थाहा हुन्छ । समानुपातिक अहिले हेर्दा चुनाव नै हो, तर पार्टीको हकमा मनोनीत नै हो । तपाईं १ देखि १२ नम्बरमा पर्नुहुन्छ, निर्वाचित हुनुहुन्छ । २२, २५ वा २८ तिर पर्नुहुन्छ भने निर्वाचित हुनुहुन्न ।

पछिल्लो समय पाँच दलीय गठबन्धनभित्रै समाजवादी केन्द्र बनाएर बाम गठबन्धनको चर्चा पनि चलेको छ । त्यसबारे पार्टीमा कुनै छलफल भएका छन् ?

यो प्रारम्भिक कुरा हो । तीनवटा मोर्चा बन्नु राम्रो हुन्छ भन्ने हिसाबले छलफल सुरु भएको छ । एउटाको लीड काँग्रेसले गरिरहेको छ, अर्को संशोधनवादी धारको लीड एमालेले गरिरहेको छ र अर्को बाँकी रहेको माओवादी केन्द्र हामी, जसपा र जनमोर्चा लगायतका तेस्रो ध्रुव । यो तीनवटा राजनीतिक ध्रुवको वा पोलको सिनारियो नेपालमा देखिन्छ । यो तीनवटा पोलमा दुईवटा एकातिर हुनपनि सक्छ नहुन पनि सक्छ । नभए आ–आफ्नो हिसाबले पार्टीहरू हिँड्छन् । त्यसका लागि प्रारम्भिक छलफलमात्रै भएकाले नतिजा के हुन्छ थाहा छैन ।

तपाईंहरु र नेकपा एमालेबीचको सहकार्य कति सम्भव छ ?

अहिले त्यो सम्भावना छैन । जिरो छ अहिलेसम्मको अवस्थामा । जुन विन्दु, विषय र मुद्दाबाट हामी अलग भएका हौँ, त्यो  विषय यथावत् र जिउँदो छ । त्यसमा एमाले र त्यसको नेतृत्वबाट सरी भनेको छैन । संसद् विघटन, पार्टी एकलौटी चलाएको र एकीकृत नेकपा सञ्चालन पद्धति गलत भएर फुट आएको भन्नेमा स्वीकार र आत्मालोचना भएको छैन । त्यसैले घमण्डको पारो यथावत रहेसम्म त्यो सम्भावना रहँदैन ।

एकैछिन व्यक्तिलाई बिर्सने र एमाले सम्झने हो भने एमालेको माया लाग्दैन ?

माया त सबैलाई लाग्छ । सबैको प्रजातन्त्र वा आन्दोलनका लागि आ–आफ्नो अभियान थियो । मेरो पुस्ताले राजा, पञ्चायतविरुद्ध लड्दै आएका हौँ । झन् म आफैले निर्माण गरेको पार्टीको मलाई सम्झना नहुने भन्दा सुन्नेले पनि पत्याउँदैनन् । तर, अहिले फर्कने सम्भावना छैन । हामी दास बन्न राजनीति गरेको होइन । त्यहाँ दास बनेर बस्नुपर्ने भएकाले स्वीकार्य छैन भन्ने मान्छेहरू यहाँ जम्मा भएका हौँ ।

अन्त्यमा विरोध खतिवडा र गाँजाको विषय जोडिन पुग्छ । यसमा तपाईंले आवाज पनि उठाउँदै आउनुभएको छ, मन्त्री पनि हुनुभयो, गाँजालाई वैधानिकता दिने प्रक्रिया कहाँ पुगेको छ ?

मलाई परिस्थितिले साथ दिएको वा घटनाक्रम मिल्न गएको भनौँ– कुनै कुनै चिज मेरो मिहिनेत बिना प्राप्त भएको छ । संयुक्त राष्ट्र संघले गाँजालाई लागु औषधमा राखेको थियो । मैले अभियान थालेपछि यसलाई लागु औषधबाट संयुक्त राष्ट्र संघले पनि हटायो र औषधीजन्य विरुवा भनेर स्वीकार गर्‍यो । त्यो मलाई त्यसै प्राप्त भएको हो । उसले प्रतिबन्ध लगाएको थियो हामीले फलो गरेका थियौँ, उसैले हटाइदियो । भारत र चीनले पनि आधाउधी गाँजालाई वैधानिकता दिएको छ भन्ने भैसकेपछि हाम्रोजस्तो बिचरो मुलुक जहाँ गाँजा उत्पादन हुन्छ, गरिब जनता धेरै छन् । अरू देशले यसलाई नगदे बालीमा परिणत गरेर पैसा कमाइरहेका छन् भने हामीले गर्न लजाउन पर्ने, घुम्टो हालेर बस्नुपर्ने कारण के ? त्यसकारण यो गर्न हुन्न भनेर चालेको अभियानमा म सफल हुँदै गएँ ।

मैले नै उठाएको हुनाले र अघिल्लो नेकपा या एमाले पार्टीको सरकार हुँदा वास्ता गरिएन । किनभने म त्यहाँ प्रतिपक्ष थिएँ । विरोध खतिवडाले उठाएको मुद्दा अगाडि बढाएर यसलाई हिरो बनाउनु छ र ? आफ्नै छोराहरूले उठाएको भए अगाडि बढाउँदा छोराहरू हिरो हुन्थे, यो त छोराभन्दा बाहिरको मान्छेले गरेको हो भनेर साढे तीन वर्ष मेरो माग जाम गरेर राखियो । जब हामी सरकारमा आयौँ, विधेयक ड्राफ्ट गर्‍यौँ । त्यो विधेयक तयार भएपछि अर्थ मन्त्रालय पठायौँ । आर्थिक दायित्व आउँछ भने अर्थले हरेक विधेयक स्वीकृत गर्नुपर्छ । अर्थले पनि स्वीकृत गरिसक्यो । र, अक्षर, भाषा, दण्ड सजाय लटरपटर, ह्रस्व दीर्घ वा दुई अर्थ लागेका छन् भने सुधार भनेर कानुन मन्त्रालयमा गएको छ । कानुनले फिर्ता गर्ने बित्तिकै संसद्‍मा यो विधेयक पेस हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।