बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘घरेलु मैदानमा महिला साफको उपाधि जित्न आजैबाट तयारीमा जुट्नुपर्छ’

आइतबार, १९ असार २०७९, १६ : १६
आइतबार, १९ असार २०७९

नेपालले दोस्रो पटक महिला च्याम्पियनसिप आयोजना गर्ने मौका पाएको छ । पहिलो पटक सन् २०१९ मा महिला साफ च्याम्पियनसिपको सफल आयोजना गरेको नेपालले दोस्रो पटक साफ प्रतियोगिताको आयोजना गर्ने भएको हो । 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले काठमाडौंमा महिला साफ प्रतियोगिता गर्ने मौका दिएको हो । नेपालले घरेलु मैदानमा दोस्रो पटक साफ फुटबल आयोजना गर्ने मौका पाउँदा पहिलो उपाधिको लक्ष्य पनि हुनेछ । विराटनगरमा भएको साफमा पनि नेपालले उपाधि उचाल्ने योजना बनाएको थियो । तर, फाइनल खेलमा कमजोर प्रदर्शन गर्दा नेपालको उक्त सपना पूरा हुन सकेन । यस पटक नेपाललाई उक्त सपना साकार गर्ने मौका आएको छ । तर, नेपालका लागि समय धेरै छैन । भदौ १३ देखि २५ सम्म हुने साफका लागि नेपाललाई मात्र दुई महिना बाँकी छ । 

एसियन गेम्सका लागि नेपालले तयारी थालेको दुई साता हुन लाग्यो । तर, यसअघि साफ च्याम्पियनसिपका लागि भनेर कुनै तयारी भएको थिएन । कमजोर तयारीले नेपाललाई साफको उपाधि दिलाउन नसकिने राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक बाल गोपाल महर्जन बताउँछन् । साफमा नै सहभागिता जनाउने राष्ट्रहरुले युरोपियन तथा अमेरिकन राष्ट्रसँग खेलिरहेको समयमा नेपालले साफका लागि तयारी नै नगर्ने हो भने उपाधिका लागि नेपाल कमजोर ठानिने बताए ।

‘साफमा नै बलियो मानिएको राष्ट्र भारतले युरोपेली र अमेरिकन राष्ट्रसँग खेल्दैछन् । बंगलादेशको तयारी पनि धेरै छ । तर, साफका लागि नै भनेर हामीले अहिलेसम्म तयारी थालनी गरेका छैनौं । १९औं एसियन गेम्सका लागि दुई साताअघि तयारी थालनी भएको छ,’ महर्जनले रातोपाटीसँगको कुराकानीमा भने । नेपाल घरेलु मैदानमा नै भएको अघिल्लो संस्करणको फाइनल खेलमा भारतसँग पराजित भएको थियो । समूह र सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल फाइनल खेलमा भने भारतसँग कमजोर बन्यो । 

अन्तिम समयमा गरिने तयारीले राम्रो नतिजा ल्याउन नसकिने महर्जन बताउँछन् । नयाँ कार्यसमिति आएको समयमा खेलाडीका लागि राम्रो तयारी गरिदिने व्यवस्था मिलान सक्ने अवस्था भएको महर्जनले बताए । उनले आजैदेखि साफको तयारीमा लाग्दा उपलब्धि पनि धेरै हुने बताए । नेपालले दुई महिनाको समयमा भएकाले तयारी गर्ने वातावरण अहिले देखि मिलाउनु पर्ने बताए । नेपाली टोलीमा कम तयारीमा राम्रो नतिजा खोज्ने प्रचलन भएकाले तयारी पनि त्यसै अनुसार चाहिने बताए । 

‘अन्तिम समयमा गरिने तयारीले राम्रो नतिजा ल्याउँदैन । दुई महिनाको समय हामीसँग छ । सकेसम्म राम्रो तयारी गरेर देश उपाधि दिलाउन लागौं । नेपालको महिला र पुरुष टोलीको लक्ष्य नै साफ उपाधि जित्न भएकाले यसलाई आजैबाट प्रथामिकता दिन आवश्यक छ,’ महर्जनले भने । नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले १९औं एसियन गेम्सको तयारीमा छ । राष्ट्रिय टोलीले तयारी थालेको दुई साता धेरै भयो । तर, नेपालले यसअघि कुनै प्रतियोगिता खेलेको छैन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप