बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पैसा तिरेर न्याय किन्न सकिँदैन : न्यायाधीश आचार्य

आइतबार, १९ असार २०७९, १३ : ००
आइतबार, १९ असार २०७९

जाजरकोट जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले पैसा तिरेर न्याय किन्न नसकिने भन्दै कसैको भ्रममा नपर्न आग्रह गरेका छन् । शनिवार कारागार कार्यालय जाजरकोटमा कैदीबन्दीसँग अन्तरक्रिया गर्दै न्यायाधीश आचार्यले पैसा तिरेर न्याय किन्न नसकिने बताएका हुन् । 

‘न्यायमा सबैको पहुँच’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायाधीश आचार्यले कसैले पैसामा किनेर न्याय दिन्छु भनेमा भ्रममा नपर्न आग्रह गरेका हुन् । कैदीबन्दीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायाधीश आचार्यले भने, ‘अहिले मैले कतै कतैबाट सुनेको छु कि केही व्यक्ति वा समूह पैसा तिरेर जेलबाट छुट्न सकिने वा सफाइ पाउन सकिने भन्दै तपाईंहरुसँग पनि पैसाको बार्गेनिङ गरिरहेका छन् रे । केही निजी कानुन व्यवसायी पनि त्यस्तो धन्दामा लागिरहेका छन् भन्ने मैले सुनेको छु । तर ढुक्क हुनुहोस्, पैसा तिरेर न्याय किन्न सकिँदैन । तपाईं निर्दोष हुनुहुन्छ भने न्याय पाउनुहुनेछ, तपाई दोषी हुनुहुन्छ भने जति पैसा तिरे पनि आउने भनेको यहीँ नै हो । त्यसैले पैसा तिरेर न्याय पाइन्छ भन्ने भ्रममा नपर्नुहोस् । तथ्य र मिसिलका आधारमा अदालतले फैसला गर्छ ।’

जिल्ला अदालतको नियमित कार्यक्रम अन्तरगत कारागार कार्यालय जाजरकोटमा रहेका कैदीबन्दीसँग अन्तरक्रिया गर्न पुगेका न्यायाधीश आचार्यले कैदीबन्दीका गुनासा सुनेका थिए । न्यायमा सबैलाई पहुँच पुराउने सम्बन्धमा सरकारले दिएको सुविधा, पुनरावेदनको सुविधा र वैतनिक वकिलको विषय पनि न्यायाधीश आचार्यले कैदीबन्दीलाई सुनाएका थिए । 

न्यायाधीश आचार्यले न्यायाधीश आफैमा भगवान् नहुने भन्दै सबै फैसला शतप्रतिशत सही छन् भन्न नसकिने पनि बताए । उनले भने, ‘मैले सकेसम्म न्याय हुने गरी नै फैसला गरेको छु जस्तो लाग्छ । तर म पनि भगवान् होइन, सबै फैसला सबैलाई चित्त नबुझ्न पनि सक्छ । चित्त नबुझेमा उच्च अदालतमा पुनरावेदन गर्न सकिन्छ । पुनरावेदन गर्ने खर्च नभएमा वैतनिक वकिलमार्फत् सित्तैमा पुनरावेदन गर्न सकिन्छ, त्यसका लागि पनि पहल गर्नुहोस् । उच्च अदालतमा जाँदा पहिलेको भन्दा बढी सजाय हुन्छ कि भन्ने चिन्ता पनि नगर्नुहोस् । मलाई विश्वास छ, उच्च अदालतले पुनरावेदन गर्दा कि जिल्ला अदालतको फैसला सुरु सदर गर्छ, कि केही घटाउँछ । त्यसकारण तपाईंहरु पुनरावेदनमा जानुहोस् ।’

अन्तरक्रियाका क्रममा दीर्घ बहादुर नेपालीले कर्तव्य ज्यानका दोषी दल बहादुर लुहारले अदालतबाट फैसला भएको ६० दिनभित्रै जिल्ला अदालतमा उपस्थित भई कैद भुक्तान गर्न गएपनि कानुन अनुसारको २० प्रतिशत सजाय छुटको सुविधा नपाएको गुनासो गरेका थिए । त्यसैगरी निजी कानुन व्यवसायीहरूले विभिन्न मुद्दामा कैदीबन्दीसँग पैसा लेनदेनको बार्गेनिङ गर्ने गरेको बताउँदै यसका लागि सूक्ष्म ढङ्गले अनुसन्धान गर्न न्यायाधीश आचार्यलाई आग्रह गरेका थिए । जवाफमा न्यायाधीश आचार्यले कानुन व्यवसायीको सम्बन्धमा आएको गुनासो सम्बोधन गर्ने गरी काम गर्ने र त्यस सम्बन्धमा अनुसन्धान गर्ने बताए ।

अन्तरक्रियाका क्रममा कैदीबन्दीले आफूहरू जीर्ण भवन र कमजोर सेवा सुविधाका कारण मर्कामा परेको बताएका थिए । १० जना पुरुष र ५ जना महिला कैदीबन्दकिो षमता रहेको कारागार कार्यालय जाजरकोटमा हाल ५४ जना कैदीबन्दी रहेको भन्दै त्यसले समस्या पारेको गुनासो गरेका थिए । साथै कैदीबन्दीलाई दिइने दैनिक ६० रुपैयाँको सिदाले दैनिकी चल्न नसकेको गुनासो गरे । आफूहरूको आयआर्जनका लागि सीपमूलक तालिम र रोजगारीको व्यवस्थाका लागि पहल गरिदिन समेत कैदीबन्दीले आग्रह गरेका थिए । 

जवाफमा न्यायाधीश आचार्यले कैदीबन्दी पनि दाजुभाइहरू नै रहेको भन्दै कारागारको बसाइँलाई व्यक्तित्व र जीवन सुधारको समयका रूपमा बुझ्न आग्रह गरेका थिए । उनले भने, ‘तपाइहरु अहिले जो जो कारागारमा हुनुहुन्छ, यो अवस्थालाई जीवनको अन्तिम अवस्थाका रूपमा नबुझ्न म आग्रह गर्छु । कानुनको नजरमा तपाइँहरु दोषी देखिएर निश्चित समयका लागि कारागारमा बस्नुपर्ने भएपनि यो अवस्थालाई जीवन सुधारको समयका रूपमा बुझ्नुपर्छ ।’

मानव जीवनको लागि यो धर्ती पनि निश्चित समयको लागि हुने बताउँदै आफू पनि जागिर खाने कामका लागि जाजरकोट आइपुगेको भन्दै कुनै परिबन्धले निश्चित समयको लागि कारागार भित्र रहनुलाई जीवन सुधारको समयका रूपमा बुझ्न उनले आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप