बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किन अल्मलिन्छन् शिक्षकहरू ?

आइतबार, १९ असार २०७९, १२ : ४९
आइतबार, १९ असार २०७९

शैक्षिक सत्रको सुरुवातमा प्रायजसो विषयगत शिक्षकसँग उक्त विषयको पुस्तक उपलब्ध हुँदैन । केही दिनसम्म नयाँ भर्नासमेत चलिरहने हुँदा एकातर्फ विषयगत पाठहरू अगाडि बढाउने अवस्था  रहँदैन  भने अर्कोतर्फ समयमा कोर्स नसकिएला कि भन्ने पिरलो प्रत्येक शिक्षकलाई हुन्छ । यस्तै उहापोहमा शैक्षिक सत्रको सुरुवाती अमूल्य समयको सही सदुपयोग गर्नमा प्राय शिक्षकहरू अल्मलिएका भेटिन्छन् । विशेष गरी बहुसङ्ख्यक सामुदायिक विद्यालय, स्रोतसाधन अपुग, भौगोलिक विकट स्थानमा रहेका विद्यालयमा यो समस्या बढी भेटिन्छ ।

तर वास्तवमा पुस्तक हातमा नपर्दैमा सिकाई रोकिनुपर्ने अवस्था छ कि छैन,  यो विषय गम्भीर छ । यसमा गहन अध्ययन अनुसन्धान हुन सकेको देखिन्न । तर, उपलब्ध परिस्थितिको आधारमा हेर्ने हो भने अहिलेको वर्तमान परिप्रेक्ष्य जहाँ विभिन्न विज्ञान प्रविधिको उपलब्धताले गर्दा एउटा प्रश्न टड्कारो रूपमा तेर्सिन्छ, त्यो हो विगतका पछिल्ला दशकहरूमा झैँ विद्यालय शिक्षाको लागि विषयगत  पुस्तक एक मात्रै विकल्प हो ? अथवा ज्ञान वितरणका अन्य माध्यमहरू पनि उपयोगी हुन सक्ने सम्भावना छ ? सरकारले विकास गरेको पाठ्यक्रमलाई आधार बनाउँदै सम्बन्धित सामग्रीको सङ्कलन विषयगत शिक्षकले गर्न सक्ने सम्भावना कत्तिको रहन्छ ? 

सम्बन्धित विद्यालयमा शैक्षिक नेतृत्वमा रहेका प्राचार्य, अभिभावक र व्यवस्थापन पक्षको भूमिका कति महत्त्वपूर्ण छ ? यी प्रश्नलाई गहिरिएर सामाजिक संरचनाको  पृष्ठभूमिमा टेकेर हेर्ने हो भने वर्तमान अवस्थामा जहाँ विकासका कारण हरेक क्षेत्रका स्थापित परम्परागत कार्यशैलीमा विभिन्न परिवर्तन देखिन्छ, जसले गर्दा परिणाम पनि परिवर्तित छन् । जस्तो कि कृषिमा हलो जोत्ने भन्दा ट्याक्टरको प्रयोग, धान रोप्ने, घाँस गोड्ने, धान  काट्ने र चुट्नेमा  कृषि औजारहरूको प्रयोग बढ्दो छ । त्यसै गरी चिकित्सामा समेत अत्याधुनिक प्रविधिको विकासले शरीरको अङ्ग नचिरी अप्रेसन गर्न सकिने अवस्था छ । 

यस्तोमा वर्षौँदेखि पढाउँदै आएका विषयगत शिक्षकलाई हातमा पुस्तक नपर्दा विद्यालय तहका विद्यार्थीहरूलाई विषयगत ज्ञान दिनै नसकिने हो त ? कि पुस्तकमा भएका अभ्यास गराउन नसक्दाको खल्लोपनको अनुभूति मात्रै हो ? अथवा अभिभावकलाई ज्ञान वितरणको रनभुल्लबाट निकाल्न नसकेको सकसले सिर्जित अवस्थाको अभिव्यक्ति हो ? कि  साँच्चै त्यति नै असर परेको हो, जति देखाइन्छ । 

माथिका प्रश्नको जवाफ खोज्दा केही सम्भावना यस्ता देखिन्छन् । शैक्षिक सत्रको सुरुवाती दिनहरूमा गत वर्ष पढेका र पढाइएका विषयवस्तुलाई विद्यार्थीहरूलाई समूहमा विभाजित गर्दै  छोटो सारांशको रूपमा दिनको तीन चार पाठलाई प्रस्तुत गर्न सकिन्छ । रमाइलो गर्दै प्रस्तुति क्षमताको विकास, तिनको आत्मविश्वास पनि बढ्ने र केही नबुझेका विषयवस्तु छोटो समयमा सिक्न सक्ने साथै नयाँ कक्षाको लागि पूर्ण रूपमा तयार पनि  पार्न सकिने सम्भावना रहन्छ । 

त्यति मात्रै होइन, त्यो अवधिमा विद्यार्थीहरूले एक अर्कालाई बुझ्ने, तिनको बीचको सम्बन्ध, सहकार्य र समझदारी समेत बढ्ने देखिन्छ । यसका अलावा ती विषयवस्तुको बारेमा अझै जान्ने जिज्ञासा जगाउँदै त्यसलाई खोज्ने सीप पनि विकास गराउन सकिन्छ । यी सीप भनेको जीवनोपयोगी हुन् । त्यसै गरी  सम्बन्धित विषयको पाठ्यक्रम तथा सम्बन्धित अन्य विषयवस्तु समेत राज्यको सम्बन्धित निकायको अनलाइन पोर्टलमा सहजै उपलब्ध हुने गरी राखिएको हुन्छ । जसलाई सम्बन्धित विद्यालयले भरपुर उपयोग गर्न सक्छन् । यसले विषयगत शिक्षकमा समेत ज्ञानको विविध थप श्रोत साधन  खोज्ने अभ्यासमा रुचि बढ्ने सम्भावना बढ्छ । यसका लागि निम्न लिखित केहि अवस्थाको भूमिका महत्त्वपूर्ण रहन्छ:

–विद्यालयको शैक्षिक गतिविधिमा प्रमुख भूमिका खेल्ने व्यक्तिको रूपमा रहने प्राचार्यको नेतृत्व क्षमता र प्राविधिक ज्ञान ।

–प्राचार्यको नियुक्ति प्रक्रिया, कार्यशैली र मूल्याङ्कन विधिको साथै  विषयगत ज्ञानमा दक्खल ।

–आवश्यक श्रोत साधनको उपलब्धताको प्रक्रिया र अवस्था ।

–समुदाय, शिक्षक र अभिभावक वर्गमा विद्यालय शिक्षा प्रतिको बुझाई र अपेक्षा ।

यसको साथै विभिन्न चुनौती हुँदा हुँदै पनि कसरी विद्यालय तहका बालबालिकाहरूलाई सहज र मनोरञ्जनात्मक सिकाइको वातावरण निर्माण गर्ने हो भन्नेतर्फ सोच्ने हो भने सर्वप्रथम त हरेक विद्यालयको आफ्नो श्रोत साधन र अवस्थाको आधारमा राष्ट्रिय शिक्षाको उद्देश्य पूर्ति हुने किसिमले आफ्नो आन्तरिक रणनीति हरेक नयाँ शैक्षिक सत्र सुरु हुनु पूर्व नै बनाई सक्नुपर्ने हुन्छ । जसको लागि प्राचार्यको सक्रिय सहभागिता र नेतृत्वमा विषयगत शिक्षक सहितको समूहगत सहकार्य आवश्यक पर्छ । कक्षागत  निर्धारित राष्ट्रिय पाठ्यक्रम, सामाजिक परिवेश र विद्यालयको अवस्थाको सम्मिश्रणमा हरेक कक्षाको लागि आआफ्नो विषयगत वृहत् पाठ्ययोजना बनाइनुपर्ने हुन्छ । जसको आधारमा वार्षिक शैक्षिक योजनाको खाका कोर्न सकिन्छ । ताकि त्यहाँबाट शैक्षिक लक्ष्य प्राप्त गर्न दिशा र आवश्यक स्रोतसाधनको चित्र स्पष्ट देखियोस् ।  

त्यस्तै शैक्षिक सत्रको सुरुवातमै सम्पूर्ण विषयगत शिक्षकहरूको समूहले आआफ्नो बृहत् पाठ्ययोजना समूहमै प्रस्तुति गर्नु पर्छ, ताकि हरेक विषयले अर्को विषयसँग कहाँ कहाँ जोड्ने सम्भावना रहन्छ, त्यो स्पष्ट हुन्छ । साथै उक्त प्रस्तुतिपछि शिक्षकहरू पूर्ण रूपले आफ्नो वार्षिक शैक्षिक नक्साप्रति स्पष्ट हुन सक्छन् । यसले तिनलाई सम्बन्धित विषयगत सामग्री सङ्कलन र विद्यार्थीमाझ वितरण गर्न सहज भई दिन्छ । त्यसको साथै नयाँ नयाँ विविध सिकाइको प्रविधि पनि जन्मिँदै जान्छ, यसले विद्यार्थीमा समेत नयाँ जिज्ञासा र खोजी प्रतिको रुचि बढ्ने सम्भावना बढ्छ ।

त्यसैले अहिलेको प्रविधियुक्त समयमा यदि सम्पूर्ण सम्बन्धित पक्षहरू मिलेर स्पष्ट शैक्षिक लक्ष्य निर्धारित गर्ने हो भने विषयगत पुस्तक ज्ञान उपयोगको एउटा साधन  मात्रै हो । जसरी कि कक्षा कोठामा प्रयोग गरिने बोर्ड, मार्कर र बेन्च डेस्क हुन् भन्ने बुझाई विद्यार्थीदेखि लिएर समुदायसम्म स्पष्ट पार्न सकिन्छ । तर, यो सहज भने पक्कै छैन । 

यसमा ठुलो चुनौती भनेको विद्यालय शिक्षामा विद्यमान राजनीतिक हस्तक्षेप र त्यसले उत्पन्न परिस्थिति, जहाँ एउटा प्राचार्य विद्यालयभित्र बसी शैक्षिक स्तरोन्नतिमा लाग्नुको सट्टा विद्यालय बाहिर नै बढी समय व्यतीत गर्छ । शिक्षकहरू आफ्नो राजनीतिक आस्था र आबद्धताको प्रभावमा आफ्नो पेसागत इमानदारिता  जोगाउन नसक्ने र तिनै परिस्थितिको उपजको रूपमा विद्यार्थीहरूले सिक्ने चाहनाप्रति विश्वस्त हुन नसक्ने जस्ता अवस्था व्याप्त छन् । तथापि भुल्न नहुने विषय भनेको के हो भने विद्यालय  समाजको अभिन्न अङ्ग र अमूल्य सम्पत्ति हो, जहाँ पुस्ता तयार पारिन्छ । जसको काँधले सिंगो मुलुकको भविष्य निर्भर रहन्छ । त्यसैले विद्यालयका विषयगत शिक्षक अलमलिनु पर्ने अवस्थाको अन्तको लागि सम्बन्धित सम्पूर्ण व्यक्ति र निकायको साझा पहल आवश्यक देखिन्छ ।

लेखक समाजशास्त्री हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीणा झा
वीणा झा
लेखकबाट थप