बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरू ठगिने क्रम बढ्यो, दूतावासले गर्‍यो यस्तो आग्रह

आइतबार, १९ असार २०७९, ११ : ५९
आइतबार, १९ असार २०७९

वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरू ठगिने क्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरूलाई यहाँको हावापानी, तापक्रम, भूगोल, भिसा तथा रोजगार (कफला) पद्धति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भिसा प्रक्रियामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुँदा विभिन्न समस्याहरू झेल्नुपरेका धेरै घटनाहरू छन्,’ साउदी अरब स्थित नेपाली दूतावासका सूचना अधिकारी ऋषिराज आचार्यले भने । 

विशेष गरी कामदार साउदी अरब आउनासाथ काम र अन्य कुराहरूमा समायोजन हुन नसक्दा अविलम्ब घर फर्कन चाहने, काम छाडेर सडकमा विक्षिप्त अवस्थामा हिँड्ने, ज्यानै समेत जोखिममा परेका घटनाहरू हुने गरेको उनले सुनाए । 

साउदी जान चाहनेले सबैभन्दा पहिला त्यहाँको हावापानी र रहनसहन बुझ्न जरुरी छ । साउदी एक इस्लामिक देश हो र यहाँ इस्लामिक कानुन लागू हुन्छ । साउदी हावापानीका दृष्टिले निकै गर्मी देश हो । यहाँ गर्मीमा ५० डिग्रीसम्म तापक्रम पुग्छ । त्यसैले गर्मीमा खुला ठाउँमा काम गर्दा ज्यान समेत जान सक्छ । 

साउदी जानेले बुझ्नु पर्ने दोस्रो विषय हो– कफला पद्धति । साउदीको भिसा कफला पद्धतिमा आधारित छ । कफला पद्धति भनेको रोजगारदाताको अनुमति बेगर देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यवसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति हो । 

‘कफिल भनेका मालिक हुन् । कफिलले भिसा उपलब्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसाबमा साउदी अरब प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन । कफिलको अनुमति बेगर तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिँदैन,’ सूचना अधिकारी आचार्यले भने । 

कफिलमा निहित अन्य अधिकारहरूमा कामदारलाई भगौडा जनाउने र विभिन्न मुद्दा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज लगाउन सक्ने आदि रहेका छन् । यस प्रकारका घटनाहरूमा महिनौँसम्म अदालतमा  मुद्दा चल्ने र अदालतबाट निरूपण भइ वा कफिलसँग समझदारी बनाएर तिर्ने बुझाउने रकम नबुझाएसम्म जुनसुकै बेला पक्राउ पर्ने र जेल जानुपर्ने हुन सक्दछ । 

‘कफिलको मृत्यु भएमा वा स्पोन्सर कम्पनी कानुनी समस्यामा परेमा कामदार पनि समस्यामा पर्ने हुन्छ । उसको अर्को कानुनी हक हस्तान्तरण भएर कफला नभएसम्म सबै सेवाहरू र काम ठप्प हुन सक्दछन । यसबाट वर्षौसम्म पनि कुनै नेपाली साउदी अरबमा नै बस्न बाध्य हुनुपर्ने अवस्था हुन्छ । यस किसिमका जटिल समस्याबाट धेरै नेपालीहरू पीडित रहेको पाइएको छ,’ उनले भने । 

कफिलले ३ महिना सम्म सेवा सुविधा वा अकामा नदिएमा वा नवीकरण नगरेमा वा कम्पनी रेडमा अवस्था भएमा श्रम कार्यालयको स्वीकृतिमा कफला स्थानान्तरण गर्न सकिन्छ । तर प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइँदैन ।

साउदी अरब पुगेका महिला कामदारले धेरै समस्या भोग्नु परेपछि अहिले महिला कामदार साउदी लान बन्द गरिएको छ । अस्पतालहरूले आफ्नै भिसामा नर्स तथा सफाइ कामदारमा महिला ल्याउन चाहेमा राजदूतावासले सम्पूर्ण सेवा सुविधाका बारेमा निरीक्षण र अस्पतालसँग बैठक गरेपछि मात्र उपयुक्तताको आधारमा प्रक्रिया अगाडि बढ्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप