बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैतडीमा भारतीय व्यापारीको अवैध कारोबार, ५० लाख ठगेर वेपत्ता

आइतबार, १९ असार २०७९, ११ : ४१
आइतबार, १९ असार २०७९

नेपालका कतिपय व्यक्ति भारतमा गएर व्यवसाय गर्छन् भने भारतका व्यक्ति पनि नेपालमा आएर विभिन्न ठाउँमा व्यवसाय गरिरहेका छन् । व्यवसाय गरेर दैनिक जीवनयापन गर्नु राम्रो पक्ष हो । तर, कतिपय राम्रै व्यवसाय गरिरहेका देखिने व्यक्ति अवैध धन्दामा समेत संलग्न भएको पाइन्छ । उनीहरू मध्येका केही व्यक्ति आफ्नो देशमा आपराधिक कृयाकलाप गरेका भगौडाको सूचीमा समेत परेका छन् ।

बैतडीमा १५ वर्ष बसेर विभिन्न व्यवसाय गरेका एक भारतीय व्यापारी गुल्फाम ५० लाखभन्दा बढी रकम ठगेर एक वर्षदेखि फरार छन् । भारतमा रुई कम्पनी लिलाम भइरहेको र आफूले किन्ने भन्दै चार वर्षअघि बैतडीका व्यक्तिहरूबाट ५० लाख ऋण निकालेर लगेका उनले कसैलाई पैसा फिर्ता दिएका छैनन् । 

गुल्फामले बैतडीमा सैलुन, श्रृंगार, खेलौना, सिरक र मोबाइल पसल सञ्चालन गरेका थिए । गुल्फामले एकै जनाबाट १९ लाख रकमसम्म लिएका छन् । आफ्नो पाँच लाख रकम ठगेको युनिक सिलाई सेन्टर गोठलापानीका सञ्चालक दिनेश सिनालले बताए । पाँच लाखको आफूले बैंकलाई करिब चार लाख व्याज मात्र तिरिसकेको, तर आफ्नो पैसा उठ्ने अत्तोपत्तो नभएको सिनाल बताउँछन् । 

बैतडीमा रहँदासमेत गुल्फामले जुवा तास खेल्ने र खेलाउने गरेका थिए । उनले बैतडीकै युवतीसँग विवाह गरे । अहिले दुवैजना फरार छन् । यस विषयमा प्रहरीमा भने मौखिक जानकारी मात्र आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए । 

हालै दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारस्थित राम मन्दिरको प्रतिक्षालयमा भारतको पिलिभितका सगीर अहमतले कपडा पसल थापेका छन् । गत हप्ता थापिएको उक्त पसल कतै पनि दर्ता गरिएको छैन भने दर्ताको प्रक्रियामा पनि छैन । तर, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिश चन्दलाई सोधेर पसल थापेको व्यापारी बताउँछन् । 

केही दिनअघि कैलालीको गोदावरीमा गाडीमा लिफ्ट मागेका भारतीयहरूले चालकलाई नै बाँधेर भिरबाट फालेको घटना सार्वजनिक भएको थियो । भारतीयले बैतडीका व्यवसायीहरूको ५० लाख रकम ठगेर फरार हुनु सामान्य घटना नभएको स्थानीय व्यापारी खिमानन्द भट्टले बताए । भारतीय व्यापारीहरू प्रतिबन्धित ड्रग्सको कारोबारमा समेत संलग्न हुने गरेका पाटनका स्थानीय चमन भण्डारीले बताए । 

आफ्नो नगरपालिका भित्र व्यवसाय सञ्चालन गरेकाहरूलाई करको दायरामा ल्याइने पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहराले बताए । जिल्लाको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले पनि आफ्नो पालिकाभित्र कारोबार गर्ने भारतीय व्यापारीहरूका विषयमा उचित निर्णय गर्ने बताए ।  भारतीय व्यापारीहरू सिरकको रुई भित्र लुकाएर ड्रग्सको सप्लाई गर्ने गरेको स्थानियवासी बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप