शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु, यस्ता हुन्छन् लक्षण

आइतबार, १९ असार २०७९, १० : ५८
आइतबार, १९ असार २०७९

समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

 भरतपुर आँखा अस्पतालका जलविन्दु विशेषज्ञ डा रञ्जितकुमार साहले प्रायः ४० वर्ष काटेकालाई वंशाणुगत रूपमा जलविन्दु देखिने गरेको जानकारी दिए । उनले जलविन्दु आमाको गर्भदेखि नै हुनसक्ने भन्दै प्रायः धेरैजसो ४० वर्ष उमेर काटेकालाई देखिने बताए ।

 उनले भने, “जलविन्दुको सुरुआती चरणमा लक्षणहरू देखिँदैन । बिस्तारै आँखाको दृष्टि खुम्चिँदै गएर सिधा अगाडिको मात्रै देखिने अवस्था आउँछ ।” जलविन्दु रोगको पहिचान गर्न बर्सेनि आँखा परीक्षण गर्न र आँखाको प्रेसर, देख्ने क्षमता (दृष्टि परिधि), कोर्नियाको मोटाइलगायतको परीक्षणबाट जलविन्दु पत्ता लगाउन सकिने उनको भनाइ छ ।

उनले परिवारमा कसैलाई जलविन्दु भएमा, मधुमेहका बिरामी, ४० वर्षभन्दा बढी उमेर भएका, लामो समयसम्म ‘स्टेरोयडस’को प्रयोग गरेकालाई र आँखामा भौतिक चोट लागेको मानिसलाई जलविन्दुको बढी जोखिम हुने बताए । 

जलविन्दु पहिचान भएपछि लेजर प्रविधिबाट उपचार हुने जनाउँदै उनले भने, “लेजर प्रविधिले भएन भने औषधि र औषधिले पनि काम गरेन भने शल्यक्रिया गर्नुपर्छ ।” शल्यक्रिया अन्तिम विकल्प रहेको उनले जानकारी दिए । शल्यक्रिया गर्नुपर्ने अवस्थामा जुन आँखामा जलविन्दुको असर कम छ, त्यो आँखाको पहिला शल्यक्रिया गरिने उनले बताए ।

जलविन्दुलाई कतिपयले आँसु आइरहने रोग भनेर भ्रममा पर्दा समयमा उपचार नहुने गरेको जनाइएको छ  । 

 अस्पतालका डा सिर्जना पराजुलीले जलविन्दु भइसकेपछि आँखाको प्रेसर, बिरामी उमेर र अरू रोगको अवस्था हेरेर औषधि दिनुपर्ने बताए । आँखामा औषधि हाल्नुअघि सफासँग साबुन पानीले मिची मिची हात धुन सल्लाह दिँदै उनले जलविन्दुको औषधि आँखाभन्दा बाहिर पार्न नहुने बताए । उनले आँखा बाहिर छालामा परेमा असर गर्ने भन्दै तत्काल सफा गर्न सुझाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप